मुकेशको ठेला लाग्ने खास समय साँझको पाँच बजेपछि हो । तर, मुकेश प्रायः साँझ चार बजेपछि नै आफ्नो ठाउँमा आएर परिकार बनाउने सुरसार सुरु गर्छन् । अनि राति अन्तिम ग्राहकको पनि भोक मेटाएर ठेला खाली भएपछि केही मिटर दूरीमा रहेको उनले ठेलाबाटै गरेको कमाइबाट बनाएको घरतिर लाग्छन् ।

वीरेन्द्र जैसी ।
नेपालगन्जको त्रिभुवन चोक भन्नेबित्तिकै एउटा चित्र झलक्क आउँछ । जुन चित्रमा ठेलाहरूमा पाइने विभिन्न स्वादका परिकारहरू हाबी हुन्छन्। यो चोक नेपालगन्जको भोक मेटाउने चोक हो । बिहान मानिसहरूभन्दा पहिले बिउँझने र राति मानिसहरू निदाइसकेपछि शान्त हुने चोक हो यो । यस चोकलाई चलायमान बनाउने मुख्य पक्ष खानाका परिकार नै हुन् । यहाँका ठेलाहरूमा एकाबिहानै चिया, दही, जिलेबी, समोसा, पकौडा, चना, घमन्जा खान पाइन्छ भने दिउँसो र साँझको समयमा अनेकथरीका चाट, पानीपुरी, दहीबडा, राबडी, समोसा र मासुका विभिन्न परिकारका ठेला तथा पसलहरूमा मानिसहरू झुम्मिइरहेका हुन्छन् ।
यही त्रिभुवन चोकको खानाको इन्द्रेणी रमझमबीच एउटा ठेलामा अरुभन्दा फरक परिकार पाक्छन् । उक्त ठेलामा पाक्ने परिकारका पारखीहरू ती परिकारको प्रशंसा गरेर थाक्दैनन् । उनीहरू उक्त ठेला लगाउन नसकिएको दिन फोन गरेर ठेला सञ्चालकलाई हैरान पार्छन् । ती परिकारका पारखीमध्ये एक पारखी भन्छन्, ‘यहाँ नेपालगन्जका ठेलाहरूमा कहीँ नपाइने परिकारहरू पाइन्छन् । अनि क्वालिटी पनि एकदम राम्रो छ ।’ यसरी खानाको रंगमञ्चजस्तो चोकमा अलग्गै पहिचान बोकी बसेको ठेला हो, नेपालगन्ज वडा नम्बर ११ घर भएका ३२ वर्षीय मुकेश साहुको ‘शुद्ध साकाहारी साहु मःमः सेन्टर’ ।
मुकेशले ठेलाको नाममा मःमः सेन्टर भनेर जोडेपनि उनले बनाउने परिकारका पारखीहरूले भने मःमःसँग जोडेर उनको ठेलालाई चिन्दैनन् । उनको ठेलाको वास्तविक पहिचान हुन्, मुकेशले ‘आफ्नै दिमाग लगाएर मोडिफाइ गरेका’ परिकारहरू । मुकेशले प्रायः मासुबाट तयार हुने कबाबलाई भेज भर्जन बनाएर खुवाउँछन् । उनले चनाबाट बनाउने उक्त भेज कबाबका पारखीहरूलाई उक्त परिकार खान नेपालगन्जमा अर्काे विकल्प नै छैन । मुकेशले केही दिन पहिलेको घटना सम्झँदै भने, ‘उता त्रिभुवन चोक पूर्वलाइनमा रैथाने खानाको महोत्सव भनेर लगाइएको थियो । समयमा खबर नपाएपनि मैले पनि ठेला लिएर उतै लाइनमा लगाएँ ।
तर, मेरा ग्राहकहरू यहाँ (सधैँ ठेला लगाउने ठाउँ) आएर मलाई कल गरेको ग¥यै गरे । कतिलाई फोनबाट बोलाइसक्नु भनेर फेरि ठेला ल्याएर फेरि यहीँ लगाएँ ।’ कहिलेकाहीँ विशेष कारणवश पनि ठेला लगाउन पाइएन भने मुकेशलाई ग्राहकहरूको फोनको उत्तर दिन नै फुर्सद हुँदैन ।
मुकेशले खुवाउने भेज कबाबसँगै उनीसँग अर्काे विशेष परिकार छ, ‘पनिर समोसा’ । प्रायः आलुको समोसा हुने गरेकोमा मुकेशको ठेलामा पनिर भरिएको समोसा पाइन्छ । आकारमा अन्य समोसाभन्दा सानो हुने भएपनि उक्त समोसाका पारखीहरू पनि उत्तिकै छन् । उनले पनिर समोसालाई पनि ‘पनिर समोसा सिमला गाजर मिक्स’ र ‘पनिर आलु समोसा’को रूपमा दुईवटा भेराइटी दिएका छन् ।
जसलाई ग्राहको मागअनुसार मुकेशको परिवार मिलेर तयार गरेको विशेष चटनीसँग पस्किइन्छ । यसैगरी मुकेशले पनिरको पकौडा पनि ठेलामै खुवाउँछन् । अनि उनले चाउचाउलाई पनि ग्राहकको रोजाइअनुसार विभिन्न परिकारसँग मिसाएर फरक फरक स्वादमा खुवाउँछन् । उनले चाउचाउलाई पनिर चाउचाउ, पास्ता चाउचाउ, पनिर पास्ता चाउचाउ, सुप चाउचाउ गरी विविध भेराइटी सूची ठेलामा टाँसेका छन् । मुकेशको ठेलामा पाइने अन्य परिकारहरूमा स्प्रिङ रोल, पनिर रोल, पास्ता फ्राई, पनिर चिल्ली, पनिर फ्राई राइस, फ्राई राइस, पनिर रोल चिल्ली, भेज ललिपप, रोल चिली मम, मम फ्राई, मम चिल्ली लगायत रहेका छन् ।
यी सबै परिकारमध्ये उनको मुख्य परिकार भेज कबाब नै हो । उनको भेज कबाबको लोकप्रियता देखेर अरुले पनि त्यस्तै कबाब बनाएर बेच्ने र प्रतिस्पर्धा गर्ने प्रयास नगरेका होइनन् । तर उनको ठेला आसपास कोही टिक्न सकेनन् । अरु ठेलामा चाख्न पुगेकाहरू पनि ‘मुकेशकै कबाब ठिक’ भन्दै फर्किएर उनकै ठेलामा आइपुगे । प्रतिस्पर्धीहरू केही दिनभन्दा बढी टिक्न सकेनन् । ‘केही राम्रो भयो भने त्यसमा अरुले पनि ट्राइ गर्ने त भइहाल्छ । मेरो आसपासमा पनि केहीले कम्पिटिसन गर्न खोजेका थिए । तर सबैले मेरै ठेलाको कबाब रुचाएपछि आफैँ साइड लागे,’ मुकेशले भने ।
मुकेशले यसरी फरक स्वादका परिकार बनाउने प्रेरणा आफ्ना बुवाबाट पाएको बताए । उनका बुवा पनि ठेलामै विभिन्न परिकार बनाएर बेच्ने गर्थे । उनैले भेज कबाब बनाएर बेच्न थालेका थिए । तर, सुरुमा धेरैले उक्त कबाब मन पराएनन् । बुवाले त्यसपछि उक्त कबाब बनाउन छोडिदिए । त्यतिबेला मुकेश सानै थिए । पछि उनले जब आफैँले ठेला चलाउन थाले त्यसपछि बुवाको त्यही भेज कबाबलाई निरन्तरता दिए । प्रायः घमन्जा, चाट, पानीपुरी, दहिबडाका ठेलाहरू लाग्ने ठाउँमा उनको ठेलामा पाक्ने उक्त परिकारले सबैको ध्यान तान्यो । त्यसपछि उनले चाल पाए मानिसहरूलाई एकै खालको भन्दा फ्युजन गरिएको स्वाद मन पर्ने रहेछ । अनि उनले सबै परिकारमा फ्युजन गरिदिन थाले ।
उचाउमा कसैले कबाब मिसाएर बनाइदे भन्छ भने उनले त्यसलाई पनि मिसाइदिन थाले । उनको यही रणनीतिले १७ वर्षदेखि त्रिभुवन चोकको छेउमा एउटा सानो गल्ली पस्ने बाटोको आडैमा उनको ठेलाले साँझपख स्वादका पारखीहरूलाई लोभ्याइरहेको छ । उनका परिकारका एक नियमित ग्राहक एवं व्यापारी राधेश्याम सिंह मुकेशका पस्किने परिकार त्रिभुवन चोकमा पाइने परिकारमध्ये अलग परिकार रहेका बताउँछन् । उनी आफू पनि प्रायः उनको ठेलामा आइरहने बताउँदै कहिलेकाहीँ पालो कुनुपर्ने गरेको बताउँछन् । मुकेशका अनुसार एकपटक स्वाद चाखेका नेपालगन्जबाहिरका मानिसहरू पनि नेपालगन्ज आएका बखत उनको ठेलामा पुग्ने गरेका छन् । ‘काठमाडौँका केही मान्छेहरू यहाँ आएको बेला मेरो ठेलामा पुगेकै हुन्छन्,’ उनले भने ।
त्रिभुवन चोकका लाग्ने खानाका परिकारका ठेलाहरूको अर्काे विशेषता भनेको ती ठेलाहरू दिनभरी नै चोकमा बस्दैनन् । तिनको परिकारअनुसारको ‘टाइम’ छ । कोही बिहान लाग्ने ठेला दिउँसो हुँदैनन् । दिउँसो लाग्ने ठेला राती हुँदैनन् । त्यसैगरी मुकेशको ठेला लाग्ने खास समय साँझको पाँच बजेपछि हो । वडा कार्यालयले उनलाई साँझ पाँच बजेपछि ठेला लगाउन अनुमति दिएको छ । तर, मुकेश प्रायः साँझ चार बजेपछि नै आफ्नो ठाउँमा आएर परिकार बनाउने सुरसार सुरु गर्छन् । अनि राति अन्तिम ग्राहकको पनि भोक मेटाएर ठेला खाली भएपछि केही मिटर दूरीमा रहेको उनले ठेलाबाटै गरेको कमाइबाट बनाएको घरतिर लाग्छन् ।
मुकेशको ठेला पसललाई चलाउने काममा अग्रभागमा देखिने मात्रै उनी हुन् । उनको छेउमै उभिएर सघाइरहेका हुन्छन् उनका १९ वर्षीय भाइ शिव । अनि घरमा सघाउँछन् उनकी श्रीमती र आमाले । बिहानको खाना खाइसकेपछि सुरु हुन्छ, उनीहरूको ठेलापसलका लागि तारतम्य मिलाउने काम । प्याज, टमाटर, खुर्सानी काटेर तयार गर्ने, परिकारका लागि सरसामानहरू खरिद गर्ने, तिनलाई आवश्यक मात्रामा मिलाउने र उनीहरूका परिकारलाई विशेष स्वाद दिने मसला तयार गर्ने काम उनकी आमा र श्रीमतीले साथ दिन्छन् ।
अनि ठेलामा परिकारहरू पकाउने र ग्राहकलाई सेवा गर्ने काममा भाइ शिवले सहयोग गर्छन् । शिवले होटल म्यानेजमेन्टमा ‘प्लस टु’सम्म अध्ययन गरेका छन् । अगाडि पनि होटल म्यानेजमेन्ट नै अध्ययन गर्ने सोच बनाएको उनी बताउँछन् । मुकेशले कक्षा १० सम्म पढेका छन् । उनले जति पढे, त्यो पनि त्यतिबेलाको परिवारको अवस्था हेर्दा धेरै भएको बुझाइ मुकेशको छ । उनले पढेरभन्दा पनि परेर सिक्दै ३२ वर्षको उमेरमा सोही ठेलाबाटै भएको कमाइले पुख्र्यौली सानो घर भएको ठाउँमा दुई तलाको घर ठड्याएका छन् । तर, त्यस कमाइमा उनको १७ वर्षको मात्रै मिहिनेत होइन करिब २५ वर्षदेखिको मिहिनेत परेको उनी बताउँछन् ।

६ वर्षको उमेरदेखि ठेला धकेल्न सुरु गरेका मुकेश
मुकेशका बुवा ठेलामा खानाका परिकार बेचेरै परिवार चलाइरहेका थिए । तर, ठेलाकै कमाइले घर चलाउन सकिने स्थिति थिएन । बिस्तारै बुवाले ठेला चलाउतिर ध्यान दिन छोडे । तर, परिवार चलाउन अर्काे विकल्प पनि थिएन । अनि बुवाले धकेल्ने ठेला करिब ६ वर्षको उमेरका मुकेशका कलिला हत्केलाले जिम्मा लिए । उनले ठेला धकेल्दै नेपालगन्ज चहार्न थाले । कतैपनि ठिक सडक नरहेको त्यसबेलाको नेपालगन्जमा मुकेशले ठेला धकेल्दै जिन्दगीको कटुसत्य बुझ्ने मौका पाए । स्कुलबाट बचेको समय उनले ठेला धकेल्दै बिताए । उनले ठेलामा बतासा, आलु, चाट, उमालेको मटर, चना बेचेर व्यापारको कला सिके । अनेक तरहका ग्राहकहरू झेले । ‘त्यतिबेला गुण्डाहरूको राज हुन्थ्यो । सानातिना टोले गुण्डाहरू आएर खान्थे । पैसा माग्यो भने आमा चकारेर गाली गर्थे ।
पिट्न खोज्थे,’ मुकेशले ती दिन सम्झिँदै भने । उनले अबोध बालकदेखि जवानी चढ्दासम्म ठाउँ डुल्दै बतासा–आलु–चाट–चना बेचे । त्यसैबाट परिवारको आर्थिक जीवन धिपधिप चल्यो । पछि उनले बुबाले बेच्ने गरेको कबाब फेरि बेच्न थाले । अनि ग्राहकले जब उनको परिकार खोजेर भएपनि खान्छन् भन्ने महसुस भयो, त्यसपछि उनले ठेला एक ठाउँमा अड्याएर बेच्न थाले । मानिसहरूले उनले ठेला राख्ने ठाउँमा उनीले तयार गर्ने परिकारहरूलाई कुरिबस्न थाले । १७ वर्ष भयो, एकाधपटक यतायता परेपनि उनको ठेला अहिलेसम्म त्रिभुवन चोकमा चलिरहेको छ ।
भाइ पनि हुर्किँदै गएपछि ठेलामा साथि बनाउन थाले । भाइलाई एसएससी पास गराए । एक निजी स्कुलमा ‘प्लस टु’सम्म पढाए ।
अहिले भाइले उनलाई सधैँ साथ दिइरहेका छन् । विषय पनि होटल म्यानेजमेन्टकै पढेका उनका भाइ शिव दाईले फ्युजन गरेर बनाएका परिकारले स्वादका पारखीहरूको मन जितेको देखेर खानाकै व्यापारमा सम्भावना नजर आइरहेको छ । उनले अनुकुल समय आएपछि ठेलालाई अझै व्यवस्थित गर्ने सोच बनाएको बताए । दाइले गरेको मिहिनेत र त्यसबाट परिवारमा आएको परिवर्तनबाट अझै थप केही गर्ने जाँगर आउने गरेको उनी बताउँछन् । ‘मलाई दाईले बनाएको सीपलाई प्रयोग गरेर अझ राम्रो गर्न सकिन्छ भन्ने लागेको छ । हेरौँ, के गर्न सकिन्छ,’ शिवले भने । मुकेश पनि आफूले थप्न सकिने धेरै आइटमको योजना बनाएपनि सानो ठेलामै सबै सम्भव नभएकोले गर्न नसकिएको बताए ।
‘सानै उमेरमा जिम्मेवारी आइप¥यो । ठेला समातियो । समात्दा समात्दा बल्ल आइपुगेको छु, अलिक सन्तोष मिल्ने ठाउँमा,’ मुकेशले आफ्नो अतीत सम्झिँदै भने । अहिले उनकी एक छोरी छन् । भर्खर स्कुल जान थालेकी छन् । बुवा, आमा, श्रीमती, भाइ, छोरी र आफू गरी ६ जनाको परिवारलाई उनले एक बलियो छत दिएका छन् । घर बनाउँदाको सबै कमाइ आफूले जीवनभर ठेलामै व्यापार गरेर कमाएको कमाइ भएको मुकेशले बताए । ‘जे जति थियो सबै घरमै सकियो । बाँकी केही गर्न सकेको छैन,’ उनले भने ।
मुकेशका अनुसार अहिले दिनमा न्यूनतम पन्ध्र सय रूपैयाँ नाफा हुन्छ । त्यो कमाइ पूरै घरको कमाइ भएकोले धेरै नभएको उनको हिसाब छ । तैपनि आफ्नै व्यापारबाट घर चलेको, खान लाउन समस्या नरहेको र विदेसिनु नपरेकोलाई उनले सन्तोषजनक रूपमा लिएको बताए ।
‘एकदमै धेरै कमाइ हुन्छ त म भन्दिन । तर, ठेलामै अलि राम्ररी व्यापार गर्न सक्ने हो भने घर चलाउन विदेशै जानुपर्छ जस्तो मलाइ लाग्दैन,’ उनले भने । तर, सामान्य देखिएपनि आफ्नो जत्तिको व्यापारका लागि पनि धेरै मिहिनेत गर्नुपर्ने उनले बताए । ‘हामी घरको सबैजना लागेर यत्तिको भएको छ । मिहिनेत पनि गर्न सकिन्न भने त केही पनि हुँदैन,’ उनले भने, ‘कमाएर बचाउने सोच भएन भने पनि हुँदैन । कमाउने उडाउने, कमाउने उडाउने भयो भने जति कमाएपनि केही हुँदैन ।’
‘ठेला व्यवस्थापन गरिएमा धेरैको घर चल्थ्यो’
मुकेश आफूले सडकमा व्यापार गर्न नपाएको भए अहिले जुन अवस्थामा परिवारको आर्थिक अवस्था छ, त्यो पाउन नसक्ने बताउँछन् । ‘सटर लिएर, भाडा तिरेर पसल चलाउन हामीजस्तो मान्छेले सक्ने अवस्थै थिएन । सडकमा व्यापार गर्न पाएर अहिले कमसेकम टाउको लुकाउने छत त बनाउन सकियो,’ उनले भने । मुकेशलाई नेपालगन्जमा अहिले भइरहेको ठेलाको व्यापार व्यवस्थित गर्नुपर्ने आवश्यकता महसुस हुन्छ । तर, त्यो व्यवस्थापन कुनै मान्छे नै नजाने ठाउँमा लगेर ठेला राख्ने नभई अहिले ठेलाहरू चलिरहेको त्रिभुवन चोक क्षेत्रलाई खानाका परिकारको क्षेत्र बनाउनुपर्ने उनको बुझाइ छ ।
‘काठमाडौँबाट मान्छे आए भने पनि हामीलाई खोज्दै यहाँ त्रिभुवन चोकमै आउँछन् । धेरै मान्छे आउने ठाउँबाट हटाएर मान्छे नै नआउने ठाउँमा राखेर व्यापार चल्दैन । बरु पैसा लिने तर, व्यवस्थित तरिकाले ठेला चलाउन दिने भयो भने धेरै राम्रो हुन्थ्यो,’ उनले भने । अर्काेतिर ठेलामा पाइने परिकारहरू सस्तोमा पाइने भएकोले ठेला पसलहरू व्यवस्थित गरेर चल्न दिनुपर्ने उनको भनाइ छ । यसका साथै आफूजस्ता ठेला पसलेहरूले खानाको सरसफाइ र स्वच्छतामा सुधार गर्नुपर्ने आवश्यकता रहेको उनको बुझाइ छ ।









प्रतिक्रिया दिनुहोस्