गेटा (कैलाली) ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति फेरी आन्दोलनमा उत्रिएको छ । प्रतिनिधि सभाबाट ऐन पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गर्दै राजपत्रमा प्रकाशन भएको दुई महिनासम्म पनि विश्वविद्यालय सञ्चालनमा बेवास्ता भएको भन्दै संघर्ष समिति आन्दोलनमा उत्रिएको हो । समितिले बुधबार विश्वविद्यालयमा विरोध प्रदर्शन गरेको छ ।
संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले विश्वविद्यालय सञ्चालनका लागि ऐन बनाएर १० शय्याको आकस्मिक कक्ष उद्घाटन गर्न स्वास्थ्यमन्त्री प्रदिप पौडेले आउने जानकारी पाएपछि आन्दोलित हुनुपरेको बताए । ‘ऐन तयार छ, ऐनअनुसार तीन महिनाभित्र नियुक्तिका प्रक्रिया पूरा गर्नुपर्ने छ,’ संयोजक पाण्डेयले भने, ‘तीन सय शय्याको अस्पताल र चिकित्सा शिक्षा अध्यापनको सुरुवात गर्नुको सट्टा नाम मात्रको ५० शय्याको अस्पतालमा १० शय्याको आकस्मिक कक्ष उद्घाटनका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेल आउँदै हुनुहुन्छ । यसको विरोधमा हामी फेरी आन्दोलित भएका हौँ ।’
चिकित्सा शिक्षा र छ सय शय्याको अस्पताल सञ्चालनका लागि गेटामा झण्डै सात अर्बका संरच ना तयार गरिएको छ । त्यहाँ १ कात्तिक ०८० देखि स्वास्थ्य मन्त्रालयअन्तर्गत ५० शय्याको अस्पताल मात्रै सञ्चालनमा छ । मन्त्री पौडेलले सोही अस्पतालमा १० शय्याको आकस्मिक कक्ष उद्घाटन गर्ने कार्यक्रम रहेको गेटा अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए । तर, दिउँसो ३ बजे धनगढी विमानस्थल पुगेका मन्त्री पौडेल शहिद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यक्रम रद्द गरि धनगढी पुगेका थिए । उनको आज डडेल्धुरा र डोटीमा स्वास्थ्य संस्थाको निरीक्षण तथा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ ।









प्रतिक्रिया दिनुहोस्