स्थानीय सरकार गाउँपालिका तथा नगरपालिकाहरूले पछिल्ला वर्षहरूमा महिलाको आर्थिक, सामाजिक, र शैक्षिक सशक्तीकरणमा विशेष जोड दिइरहेका छन् । त्यसअन्तर्गत सीपमूलक तालिमहरू सञ्चालन गरेर महिलाहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रमहरू समेत प्रभावकारी बन्दै गएका छन् । खासगरी स्थानीय तहले महिलाहरूलाई सामाजिक र आर्थिक रूपमा बलियो बनाउनका लागी सिलाइकटाइ तालिम, ब्युटीपार्लर तालिम, अगरबत्ती, साबुन बनाउने तालिम, कृषि तथा पशुपालनसम्बन्धी तालिम (जस्तैः बाख्रापालन, तरकारी खेती) डिजिटल साक्षरता तालिम (बेसिक कम्प्युटर,मोबाइल चलाउने सीप) लगायत हस्तकला र हस्तनिर्मित बस्तु उत्पादन जस्ता तालिमहरू प्रदान गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउदै आएको छ ।
उर्मिला यादव । नवलपरासी ।
महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै व्यवसायमा पनि सक्षम छन् भन्ने उदाहरण बनेकी छिन् सुनवल नगरपालिका–९ की पुनम कुँवर । चार वर्ष पहिले सुनवल नगरपालिका वडा नम्बर ९ ले आयोजना गरेको बेसिक सिलाइकटाइ तालिम लिएपछि अहिले भने उनको दैनिकी फेरिएको छ । ३५ वर्षीया पुनम सिलाइकटाइ पसलबाट घरमै बसेर मासिक २५ हजारभन्दा बढी आम्दानी गर्दै आएकी छिन् । सामान्य परिवारकी पुनम कक्षा–७ सम्म मात्र अध्ययन गरेकी छिन् । उनको एक १७ वर्षकी छोरी समेत छिन् ।
२३ वर्षको उमेरमा नै श्रीमान गुमाएकी पुनमलाई वडाले सिलाइकटाइको तालिम त दियो तर, मेसिन खरिद गर्न उनलाई हम्मेहम्मे प¥यो । सिलाइकटाइ पसल खोल्नका लागी उनले २५ हजार रूपैयाँँ ऋण समेत निकालेको थिइन् । त्यसमा थपेर उनले ५० हजार रूपैयाँँ लगानी गरेर आफ्नै पसल समेत खोलिन् । आर्थिक अवस्था कमजोर हुँदा आफूले केही गरेर आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच उनले सानैदेखि राखेकी थिइन् ।
पसल खोलेसँगै पुनमको आर्थिक अवस्था समेत सुधार हुँदै गएको उनको भनाइ छ । उनले तीन वर्ष पहिला पुनः सुनवल नगरपालिकाले आयोजना गरेको ४० दिने एड्भान्स सिलाइकटाइ तालिममा सहभागी हुने अवसर पाइन् ।
जसले गर्दा उनको सिलाइ क्षमतामा थप सुढृट हुँदै गएको उनी बताउँछिन् । जसका कारण विगत १८ वर्षदेखि भाडामा बस्दै आएकी पुनम घरभाडा, कक्षा–१२ मा अध्ययनरत छोरीको पढाइ खर्च आफ्नै कमाइले पु¥याउँछिन् । ‘मैले टेलरिङ पेशाबाट मासिक २५ देखि ३० हजारसम्म आम्दानी गर्दै आएकी छु । श्रीमान गुमाएपछि अलपत्र अवस्थामा थिएँ । केही सीप थिएन । घरखर्च धान्न समेत धौ धौ थियो,’ उनले भनिन्, ‘अहिले वडा र नगरबाट पाएको तालिमले मेरो आर्थिक अवस्था दिनप्रतिदिन राम्रो हुँदै गएको छ ।’ व्यवसाय सुरु गरेसँगै सुरुसुरुमा गाउँघरका नजिकका दिदीबहिनीहरूको कपडा सिलाउने गरेको उनी बताउँछिन् ।
अहिले टाढा टाढाबाट पनि कपडा सिलाउन मान्छेहरू आफ्नो टेलरमा आउने गरेको उनले बताइन् । लेडिज र जेन्स सबैखाले कपडा सिलाउन पोख्त रहेकाले अहिले उनको व्यवसाय निकै फस्टाउँदै गएको समेत छ । ‘व्यवसाय सञ्चालन गरेरै परिवारको आवश्यकता पूरा गर्न सक्षम भएकी छु,’ उनले भनिन्, ‘बुटिक सिक्न एकदमै मन थियो । वडा र नगरपालिकाले अवसर दिएपछि दैनिकी बदलिएको छ ।’
यस्तै रामग्राम–५ की गौरी बिरकट्टा मगरको जीवन पनि अहिले फेरिएको छ । रामग्राम नगरपालिका वडा नम्बर ८ बाट साढे २ वर्ष पहिला ब्युटीपार्लर तालिम लिएपछि मगरले सिकेको कुरा व्यवहारमै उतारेकी हुन् । घरको भान्सामा सीमित रहने उनी आजभोली पार्लरसम्बन्धी तालिम सिकाउन र आफ्नै पार्लरमा समेत काम गर्न व्यस्त हुने गरेकी छिन् ।
कुनै समय आफ्नो खुट्टामा आफैँ उभिने सोच भएपनि कुनै अवसर नपाउँदा उनलाई घरमै थन्किएर बस्नुपर्ने बाध्यता थियो । रामग्राम नगरपालिका वडा न ८ मा सञ्चालित १० दिने बेसिक ब्युटीपार्लरको तालिममा सहभागी भएपछि उनको दिनचर्या अहिले परिवर्तन भएको हो । २५ वर्षीया गौरीले २०७९ सालको माघमा आफ्नै लगानीमा परासीको घण्टाघर चोकमा लेडी ब्युटी जोन नामक ब्युटीपार्लर नै सञ्चालन गरिन् । बेसिक तालिम वडाबाट लिए पनि एड्भान्स र डिप्लोमा भने उनले आफ्नै लगानीमा सिकेको बताउँछिन् । सुरुवाती दिनहरूमा पार्लर सिकेकी उनलाई पार्लर खोल्न परिवारले कुनै साथ र सहयोग गरेनन् । माइती पक्षबाट आफ्नै आमाको सहयोग र एक लाख ऋण निकालेर तीन लाख रूपैयाँँ लगानी गरेर उनले ब्युटीपार्लर खोलेकी हुन् । एक लाख रूपैयाँँ ऋण र माइतीको सहयोगमा ब्युटीपार्लर सञ्चालन गरेकी उनले आफ्नो ऋण समेत चुक्ता गरिसकेको बताइन् । उनी अहिले मासिक २० देखि २५ हजारभन्दा धेरै नै कमाउने गर्छिन् ।
गौरीले कक्षा–८ सम्म मात्र अध्ययन गरेकी छन् । तर, उनी आफ्नो पार्लरमात्र हेर्दिनन् । नगर र वडाले सञ्चालन गरेका ब्युटीपार्लरसम्बन्धी तालिम समेत सिकाउँदै आएकी छिन् । परिवारको साथ र सहयोग नपाएकी गौरी माइतीकै शरणमा रही सक्षम महिला बन्न पुगेकी छन् । यस्तै सरावल गाउँपालिका वडा नम्बर १ की पार्वती चौधरीको जीवन पनि अहिले फेरिएको छ । सरावल गाउँपालिका वडा नम्बर १ बाट २०७७ सालमा १५ दिने दुनाटपरी बनाउने तालिम लिएपछि चौधरीले सिकेको कुरा व्यवहारमै उतारेकी छन् । तालिम लिएका महिलाहरूलाई गाउँपालिकाले समूहमा आबद्ध गराएपछि धेरैको दिनचर्या फेरिएको छ ।
तालिममा सिकेको कुरालाई व्यवसायिक रूपमा अगाडी बढाउन ८ जना महिलाहरू मिलेर समूह बनाइएको थियो ।२०७७ सालमा श्री हंसनी भवानी महिला लघु उद्यमी समूहको दर्ता गरिएको थियो । चौधरीका अनुसार, प्रत्येक व्यक्ति एक हजार रूपैयाँँको दरले लगानी गरेपछि दुनाटपरीबाट थाल, कचौरा, दुना लगायतका सामानहरू बनाउँदै व्यवसाय सुरु गरिएको हो । अहिले समूहमा १३ जना महिलाहरू रहेका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०८१ सालमा सम्पन्न मेला र महोत्सवबाट २० हजारभन्दा बढी आम्दानी गर्न सफल भएको चौधरीले बताइन् । ‘तालिम लिनुभन्दा पहिला काम नपाएर घरमै बसेर मोबाइल हेरेर समय बिताइन्थ्यो,’ उनले भनिन्, ‘तर, अहिले त्यस्तो छैन् । सीपको सदुपयोग गरिरहेकी छु ।’ आफ्नो कामप्रति गौरवान्तित हुँदै उनले सुनाइन् । अहिले उनी महिनाको ५ देखि ६ हजारसम्म आम्दानी गर्दै आएको बताउँछिन्।
चौधरीका अनुसार समूहमा भएका महिलाहरू दुनाटपरी बनाउँदै आएका छन् । भुमही, बर्दघाट, परासी लगायतका पसलहरूमा आफूहरूले बनाएका दुनाटपरी बिक्री हुँदै आएको समेत उनले बताइन् । गाउँपालिकाले अनुदानमा २ वटा मेसिन समेत प्रदान गरेको छ । जसमा समूहबाट सबैले २५ प्रतिशत लगानी गरेको उनले बताइन् । बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म समूहमा भएका महिलाहरू दुनाटपरी बनाउँदै आएको उनको भनाइ छ । तर, भनेजस्तो व्यापार भने हुन नसेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । कहिलेकाहीँ हुने मेला महोत्सव लगायतका ठाउँमा बढी बिक्री हुने गरेको बताइन् । विहे ब्रतवन्ध लगायतका सिजनमा दुनाटपरीको माग बढ्ने गरेको उनले बताइन् ।
त्यस्तै बर्दघाट नगरपालिका वडा नम्बर ३ लगुनहामा प्रत्येक दिन कपडा सिलाइरहेको अवस्थामा भेटिन्छिन्, ३४ वर्षीया बालकुमारी चौधरी । उनको दैनिकी पनि कपडा सिलाउने गरेर बित्ने गर्छ । बर्दघाट नगरपालिका वडा नम्बर ३ ले २०८१ जेठ २८ गतेदेखि सुरु गरेको तीन महिने सिलाइकटाइ तालिममा सहभागी भएदेखि उनी पनि कपडा सिलाउनमै व्यस्त छिन् । उनलाई वडाले तीनमहिने तालिम मात्र दिएन सिलाइ मेसिन समेत दिएकाले धेरै सहज भएको बताउँछिन् । अहिले उनले सुट, सुरुवाल, ब्लाउज, पेटीकोट लगायतका कपडाहरू सिलाउन सिकेकी छिन् । आफ्नै लगानीमा एड्भान्स तालिम समेत लिइरहेको उनी बताउँछिन् ।
१२ कक्षासम्म अध्ययन गरेकी चौधरी पहिला अरुले सिलाएको कपडा लगाउने गर्थिन् । तर, अहिले आफ्नो कपडा आफैँ सिलाएर लगाउन सक्ने भएकी छिन् । अहिले आफ्नो मात्र नभइ घरपरिवार सबैको कपडा आफैँले सिलाउने गरेको समेत उनले बताइन् । नगरपालिकाबाट नै झोला बनाउने तालिम लिएकी चौधरी झोला बनाएर मनग्य आम्दानी गर्थिन् । तर, अहिले उनलाई सिलाइको काम नै एकदम राम्रो लाग्ने गरेको बताउँछिन् । उनले सिलाइको काम अझैँ सिक्दै गरेकोले धेरै आम्दानी गर्न नसके पनि आफू आत्मनिर्भर बनेको बताइन् । जसका कारण उनलाई अहिले अचेल श्रीमानसँग पैसा माग्नुपर्ने बाध्यता हटेको छ ।
चौधरीलाई अझै विभिन्न डिजाइनका कपडाहरू सिलाउन मन रहेको बताउँछिन् । उनी यो पेशालाई निरन्तरता दिन चाहेकोले भविष्यमा आफ्नै पसल खोलेर सिलाइकाइ गर्ने योजना बनाएको सुनाइन् । यस्तै सुस्ता गाउँपालिका वडा नम्बर ५ महलबारीकी बसन्ती आले मगर राईलाई पनि चप्पल बनाउन भ्याइनभ्याइ छ । २७ वर्षीया मगर दशैँ तिहारको लागी सेन्डिल र चप्पल बनाउनमै व्यस्त छिन् । मगर एउटा छोरीको आमा मात्र नभई एक बुहारी पनि हुन् । संयुक्त परिवारमा बस्दैँ आएकी उनी बिहानै उठेर भान्साको काम सकेर छोरीलाई विद्यालय पठाएपछि मात्र घरको कामबाट फुर्सद पाउँछिन् ।
गत वर्ष २०८१ मा सुस्ता गाउँपालिका वडा नम्बर ५ ले आयोजना गरेको सेन्डिल बनाउने तालिम लिएकी थिइन्, बसन्तीले । २०८२ को वैशाखमा चप्पल बनाउने तालिम समेत लिएकी छिन् । उनी अहिले विभिन्न डिजाइनका चप्पल लगायत सेन्डिलहरू बनाउँदै आएकी छिन् । विगत तीन वर्षदेखि आफ्नै समीक्षा फेन्सी पसल सञ्चालन गर्दै सिलाइकटाइ र गुडिया बनाउन व्यस्त रहने बसन्तीलाई योे तालिमले थप हौसला प्रदान गरेको छ । उनी दश कक्षासम्म मात्र अध्ययन गरेकी छिन् । तर, बसन्ती सीप सिकेर महिनाको ३० देखि ४० हजार रूपैयाँँसम्म कमाउँदै आएको बताइन् ।
सीप सिकेर आत्मनिर्भर हुन पाउँदा उनी खुसी छिन् । घरमै बनाउने गरेपनि अर्डर पनि आउन थालेको बताउँछिन् । आम्दानी भएको रकम थप लगानी गर्ने उनको सोच रहेको छ । बजार व्यवस्थापनमा गाउँपालिकाले सहयोग गरिदिएको भए अझै सहज हुने बसन्तीको बुझाइ रहको छ । यस्तैगरी पाल्हिनन्दन ५ गेरमाकी ६८ वर्षीया कुस्मावती कोहार आफ्नो पुख्र्यौली पेशालाई निरन्तरता दिँदै विगत ३०÷४० वर्षदेखि माटोका भाँडा बनाउँदै आएकी छिन् । साढे २ वर्ष अगाडी पाल्हिनन्दन गाउँपालिकाले आयोजना गरेको नयाँ प्रविधिबाट माटोको भाँडा बनाउने तालिममा सहभागी भएपछि अहिले कुस्मावतीको परिवार नै यही पेशामा लागेका छन् । पाल्हिनन्दन गाउँपालिकाले तालिममा सहभागीहरूलाई ५० प्रतिशत अनुदानमा इलेक्टिक चकरी माटाका भाँडा बनाउने आधुनिक मेसिन समेत प्रदान गरेको छ ।
जसले गर्दा पनि माटाका भाँडा बनाउन धेरै सहज र समयको बचत भएको कुस्मावतीले बताइन् । कुस्मावतीको सात जनाको परिवार छ । घरमा भएका सबै सदस्यहरू मिलेर माटोका भाँडा बनाउँदै आएका छन् । उनको छोरा श्यामसुन्दर कोहारले माटोका भाँडा परासीमा शनिबार र बुधबार लाग्ने हाटबजारमा बेच्दै आएका छन् । उनी भन्छिन्, ‘पहिला जस्तो माटाको भाँडाको व्यापार त छैन । तर, घरखर्च धान्न जसोतसो पुगेको छ । ठूलो आवश्यकता यसले कहाँ पूरा गर्न सकिन्छ र ?’ उनले थपिन्, ‘अर्काे सीप छैन् । के गर्ने यो पनि नगरे पेट पाल्न पनि त सकिँदैन ।’ आफनो पुख्र्याैली पेशा संकटमा पर्छ कि भन्ने उनमा चिन्ता छ ।
आफ्नो जीवन नै यही पेशामा समर्पित गरेकी कुस्मावती भन्छिन्, ‘हाम्रो प्रमुख समस्या नै माटो र दाउराको अभाव हो । जसमा वडा र गाउँपालिकाले कुनै सहयोग गरेको छैन् ।’ यसको व्यवस्थापन वडा र गाउँपालिकाले गरिदिए धेरै सहज हुने उनको विश्वास छ । स्थानीय तहबाट लक्षित वर्गको तालिम लिएर आत्मनिर्भर भएका पुनम, गौरी, पार्वती, बालकुमारी, बसन्ती र कुस्मावती उदाहरण पात्र मात्र हुन् । स्थानीय सरकारले महिलाहरूलाई आत्मनिर्भर बनाउन लक्षित वर्गअन्र्तगत विभिन्न रोजगारमूलक तालिमहरू दिँदै आएको छ । यस्तैगरी रामग्राम नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्र्तगत आव २०८०–०८१ मा ६ वटा महिला लक्षित कार्यक्रम सम्पन्न गरेको छ । जसमा ८६ जना महिलाहरूको सहभागिता रहेको थियो । नगरले नयाँ उद्यमी सिर्जनातर्फ ब्युटीपार्लर तालिम,अ चार बनाउने तालिमलगायत स्तरोन्नति तालिमतर्फ एड्भान्स सिलाइकटाइ तालिम, ब्युटीपार्लर लगायतका तालिमका लागि ६ लाख ५९ हजार ६ सय रूपैयाँँ बजेट छुट्याएर खर्च गरेको जनाएको छ ।
यस्तैगरी आव २०८१–०८२ मा समेत नगरले ६ वटा महिला लक्षित कार्यक्रम सम्पन्न गरेको छ । जसमा ९३ जना महिलाको सहभागिता रहेको थियो । सोही आवमा महिलाहरूका लागि अर्गानिक धुप बनाउने तालिम, गुडिया तथा कुसन बनाउने तालिम, डिप्लोमा ब्युटीपार्लर सीप विकास तालिम, बेसिक फेशन डिजाइन तालिम, एड्भान्स ब्युटीपार्लर तालिम, एड्भान्स सिलाइकटाइ तालिमका लागि ६ लाख ७७ हजार १ सय ८१ रूपैयाँँ लगानी गरेको रामग्राम नगरपालिकाका वरिष्ठ उद्यम विकास सहजकर्ता नर्बदा हरिजनले जानकारी दिइन् । यस्तैगरी सुस्ता गाउँपालिकाको सामाजिक विकास शाखाका अनुसार गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्र्तगत आर्थिक वर्ष २०८०–०८१ मा १७ वटा कार्यक्रमहरू सम्पन्न गरेको छ । जसमा आव २०८०–०८१ मा दुईवटा मात्रै महिला लक्षित तालिमहरू भएका छन् । महिलाहरूलाई चप्पल तथा सेन्डिल बनाउने १५ दिने सीपमूलक तालिममा १ देखि ५ वटै वडाका ३१ जना महिलाहरूको सहभागिता रहेको थियो भने सोही आवमा अपांगता भएका व्यक्तिहरूलाई साबुन सरफ, फिनेल तथा लिक्युड बनाउनेसम्बन्धी १० दिने तालिम प्रदान गरिएको थियो ।
जसमा १ देखि ५ वडा सम्मकै ‘ग’ र ‘घ’ वर्गका गरी ५२ जना अपांगता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । गत आवमा सुस्ता गाउँपालिकाले लक्षित वर्ग कार्यक्रमअन्तर्गत १३ वटा कार्यक्रम गरेको छ । जसमा तीनवटा महिला लक्षित कार्यक्रम रहेका छन् । जसमा बटारे धुप तथा फूल बत्ती बनाउने तालिममा १२० जना महिला, महिला सञ्जाल नेतृत्व विकास तथा उद्घोषण तालिममा ५० जना महिला र महिलाहरूलाई चप्पल तथा सेन्डिल बनाउने सातदिने एड्भान्स तालिममा १४ जना महिलाहरूको सहभागिता रहेको महिला तथा बालबालिका शाखा प्रमुख साबित्रा आलेले बताइन् ।
पाल्हिनन्दन गाउँपालिकाको सामाजिक विकास शाखाका अनुसार गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८०–०८१ र २०८१–०८२ मा कुनै कार्यक्रमहरू नै भएका छैनन् । कर्मचारीका लागि तलब नै दिन नपुगेपछि सो कार्यक्रमहरूका लागी २ वर्षदेखि बजेट नै नछुट्याएको पाल्हिनन्दन गाउँपालिकाका उद्यम विकास सहजकर्ता राजेश बढइले बताए । स्थानीय सरकार गाउँपालिका तथा नगरपालिकाहरूले पछिल्ला वर्षहरूमा महिलाको आर्थिक, सामाजिक, र शैक्षिक सशक्तीकरणमा विशेष जोड दिइरहेका छन् । त्यसअन्तर्गत सीपमूलक तालिमहरू सञ्चालन गरेर महिलाहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रमहरू समेत प्रभावकारी बन्दै गएका छन् । खासगरी स्थानीय तहले महिलाहरूलाई सामाजिक र आर्थिक रूपमा बलियो बनाउनका लागी सिलाइकटाइ तालिम, ब्युटीपार्लर तालिम, अगरबत्ती, साबुन बनाउने तालिम, कृषि तथा पशुपालनसम्बन्धी तालिम (जस्तैः बाख्रापालन, तरकारी खेती) डिजिटल साक्षरता तालिम (बेसिक कम्प्युटर, मोबाइल चलाउने सीप) लगायत हस्तकला र हस्तनिर्मित बस्तु उत्पादन जस्ता तालिमहरू प्रदान गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउदै आएको छ ।
जसका लागी स्थानीय सरकारको वार्षिक योजनाअनुसार बजेट छुट्याउने गर्दछ भने महिलाको समूह बनाई उद्यमशिलता प्रवर्धन गर्ने गर्दछ । पछिल्लो समय स्थानीय तहले प्रदान गरेका तालिमहरूबाट धेरै महिलाहरू घरेलु उद्योग खोल्न सफल भएका छन् भने कतिपय महिलाहरूले आफ्नै उत्पादनको ब्रान्ड स्थापना गरेका छन् ।
समूह बनाएर सामूहिक व्यवसाय पनि सुरु गरेका छन् । महिलाहरू अब कुनै कुरामा अरूमा निर्भर हुन नपर्ने अवस्थामा समेत पुगेका छन् । जसले गर्दा पनि उनीहरूको आत्मविश्वासमा वृद्धि, समुदायमा सम्मान बढेको समेत देखिन्छ । स्थानीय तहले सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर त बनायो तर अझै पनि महिलाहरूले विभिन्न किसिमका चुनौतीहरूको समेत सामना गरिरहनु परेको छ । तालिम पछि स्थानीय सरकारले बजार व्यवस्थापनमा कुनै पहल गरेको पाइँदैन । जसले गर्दा पनि उत्पादित सामानहरू उचित मूल्य पाउन सकेका छैनन् भने उत्पादित सामानहरू कहाँ लगेर बेच्ने भन्ने समस्या ज्युँका त्युँ छ । यता सुस्ता गाउँपालिकाका उपाध्यक्ष गीता चौधरीले लक्षित वर्गका महिलाहरूले उत्पादन, निर्माण गरेको सामाग्री घरमै उपयोग भएको र छरछिमेकमा बेचेर पनि आर्थिक उपार्जन गरिरहेको बताइन् । आफूले उत्पादन गरेका सामानहरू अब बन्दै गरेको कोसेली घरमा ल्याएर समेत सजिलै बेच्न सकिने भएकोले आगामी दिनमा उद्यमी महिलाहरूले कोसेली घरमा ल्याएर सामान बेच्न आग्रह समेत गरेकी छिन् । सीपमूलक तालिममार्फत महिलाहरू आत्मनिर्भर बन्दै गएका छन् । यो लैंगिक समानता, गरिबी निवारण र स्थानीय विकासमा सहयोग पु¥याउने महत्वपूर्ण माध्यम हो । यसले महिलालाई घरभित्रको मात्र होइन, समाजमा नेतृत्व दिने क्षमता पनि विकास गरेको छ ।









प्रतिक्रिया दिनुहोस्