उनी निर्वाचित भइसकेपछि यो अवधिमा वडाका बैठकमा नियमित अर्थपूर्ण सहभागिता जनाउने गरेकी छिन् भने बजेट तर्जुुमाका बेला महिलाको क्षमता विकास र स्वरोजगारमूलक कार्यक्रमका लागि बजेट विनियोजन गर्न वडाध्यक्षलाई दबाब दिँदै आएकी छिन् ।
नन्दराम जैशी । सुर्खेत ।
हरेक घरमा गृहिणीले बिहान उठेदेखि राति सुुत्ने बेलासम्म जे–जे काम गर्नुुपर्छ दिपालाई पनि त्यसरी नै सबै घरायासी काम गर्नुुपर्ने बाध्यता छ । जनप्रतिनिधि चुनिएपछि घरको काम गर्दागर्दै तत्काल बैठक, कार्यक्रम तथा समाजसेवामा खटिनुुपर्ने फोनहरू बढी आउँछन् । अनि घरको काम त्यत्तिकै छाडेर बाइक स्टार्ट गरेर हुुइँकिन्छिन् दिपा । दिपा पौडेल (गौतम), जो वीरेन्द्रनगर–१३ को वडा सदस्य हुन् । घरको कामभन्दा राजनीति र समाजसेवा उनको पहिलो प्राथमिकतामा पर्छ ।
दिपालाई राजनीति र समाजसेवामा लागि रहन उनका श्रीमान तिलकप्रसाद गौतमले आँट र हौसला दिने गर्छन् । ‘अरुका श्रीमानहरूले साथ नदिएको कुरा सुन्छु, तर मेरो श्रीमानले मलाई राजनीतिमा लाग्न पूर्णसाथ दिनु भएको छ । मेरो राजनीतिक जीवनमा श्रीमानको निरन्तर सहयोग र प्रोत्साहनप्रति आभार प्रकट गर्छुु,’ उनले भनिन्, ‘म राजनैतिक कार्यक्रम तथा समाजसेवाका लागि कतै गएको बेला घरको सबै काम श्रीमानले आफैँ गर्नुुहुन्छ । कहिलेकाहीँ अल्छी लागेर जान्नभन्दा पनि जाउ भनेर हौसला दिनुुहुन्छ । त्यसैले त मेरो पनि आँट र हिक्मत बढेको छ ।’
श्रीमानको सहयोग र विश्वासले सामाजिक तथा राजनीतिक अभियानहरूमा दिपाको सक्रियता राम्रो छ । आगामी दिनमा पनि जनसेवा, पारदर्शिता र इमान्दारितासहित आफ्नो राजनीतिक यात्रा अघि बढाउनेमा उनी प्रतिबद्ध छिन् । कहिलेकाहीँ कार्यक्रमबाट फर्किँदा ढिला भयो भनेपनि श्रीमानले आफ्नो लागि खाना प्याक गरेर राखिदिने गरेको उनले सुुनाइन् । तर समाजमा जतिसुकै विद्वानहरू भएपनि महिला राजनीतिकर्मीप्रति हेर्ने दृष्टिकोण र सोच नकारात्मक रहेको दिपाको अनुुभूति छ ।
‘राजनीति र समाजसेवाका कार्यक्रम नै त्यस्तै हुुन्छन् । सबैसँग हिँड्नुुपर्छ, बोल्नुपर्छ, भेट्नुुपर्छ, सकेजति सेवा गर्नुुपर्छ । यसमा मेरो भगवानरुपी श्रीमान विश्वस्त हुनुुहुुन्छ,’ उनले थपिन्, ‘तर समाजमा महिला राजनीतिकर्मीलाई प्रोत्साहन गर्नुको सट्टा कोसँग हिँडको ? कसको बाइक चढेको ? यो त बिग्री भन्ने जस्ता नकारात्मक सोच र धारणा बनाएर मनोबल गिराउने काम गरिन्छ ।’
वडा सदस्यका रूपमा दिपाले टोल तथा बस्तीस्तरबाट माग भएअनुसार योजना तथा कार्यक्रमका लागि वडामा पर्याप्त बजेट नहुँदा समस्या हुुने गरेको अनुभूति गरेकी छिन् । वडाको डेढ करोड बजेटमध्ये ३०–३५ लाख मात्रै विकास बजेट हुदाँ यसबाट खासै काम गर्न नसकिने अवस्था रहेको उनले बताइन् । ‘सबै बस्ती तथा टोलमा एम्बुलेन्स जाने बाटो छैन । कतै नाला नै बनेका छैनन् भने कतै भत्किएका छन्,’ उनले भनिन्, ‘योजना तर्जुमा गर्दा टोलटोलमा पुुगेर योजना टिपेर त ल्याउँछौँ तर बजेट नहुँदा पर्दैनन् । फेरी जनतासँग फेश गर्न गाह्रो हुन्छ ।’
स्थानीय सरकार सबलीकरण कार्यक्रमले प्रदान गरेका तालिम, गोष्ठीले भने सुुशासन, पारदर्शीता र विकास निर्माणमा खेल्नुपर्ने भूूमिकाबारे आफूहरूमा ज्ञान बढेको दिपाको भनाइ छ । उनका अनुसार अष्ट्रेलियन सरकार र द एसिया फाउन्डेसनको स्थानीय सरकार सबलीकरण कार्यक्रमको आर्थिक सहयोगमा दलित महिला केन्द्र नेपालको निरन्तर मेनटरसिप कार्यक्रमले थप परिवर्तन ल्याएको छ । यो कार्यक्रमबाट दलित महिला तथा महिला वडा सदस्यहरूको क्षमता विकास भएको उनले बताइन् ।
उनी निर्वाचित भइसकेपछि यो अवधिमा वडाका बैठकमा नियमित अर्थपूर्ण सहभागिता जनाउने गरेकी छिन् भने बजेट तर्जुुमाका बेला महिलाको क्षमता विकास र स्वरोजगारमूलक कार्यक्रमका लागि बजेट विनियोजन गर्न वडाध्यक्षलाई दबाब दिँदै आएकी छिन् । ‘बजेट तर्जुमा गर्दा वडालाई बजेट कम भएको भन्दै म हरेक वर्ष नगरपालिकामा धाएर मेयर तथा उपमेयरलाई भेटेर माग सुुनुुवाइका लागि समस्या व्यक्त गर्दै आएकी छु,’ उनले भनिन्, ‘तर कतिपय सानो सानो माग सम्बोधन भएपनि अधिकांश ठूलो माग सम्बोधन हुँदैनन् ।’
अधिकांश समय वडाको बैठक तथा नगरपालिकामा हुने विभिन्न तालिम, गोष्ठी लगायतका कार्यक्रममा सहभागी भएर बित्ने गरेको उनको भनाइ छ । साथै वडावासीलाई दुुःख, सुुख पर्दा सहभागी हुने गरेको उनले बताइन् । समाज सेवासँगै राजनीतिमा सक्रिय रहेकी उनको सोच नगरकार्यकालिका सदस्य बन्ने थियो । तर त्यो सम्भव नभएको उनी बताउँछिन् । भविष्यमा वडाअध्यक्ष पदका लागि दावी गर्ने उनको भनाइ छ ।
स्थानीय सरकार सबलीकरण कार्यक्रमका तालिम, गोष्ठीमा सहभागी भएर आफूमा हामी पनि पुुरुषसरह नेतृत्व गरेर काम गर्नसक्छौँ । पुुरुषले लडेको पदमा निर्वाचन लड्न सक्छौँ भन्ने हिक्मत बढेको उनी बताउँछिन् ।
बुवाको प्रेरणाले राजनीतिमा
बुवा शिवशंकर पौडेल र आमा तारादेवी पौडेलको कोखबाट जन्मिएकी उनले आफ्नो बाल्यकाल वीरेन्द्रनगर–१६ मेहेलीमा बिताइन् । हाल वीरेन्द्रनगर–१३ जामुुनडाँडामा उनको बसोवास छ । ‘तत्कालीन आदर्श मावि मेहेलीमा कार्यरत मेरो बाबा नेपाली काँग्रेस निकट शिक्षक संगठनको अध्यक्ष हुनुुहुुन्थ्यो । पूूर्णबहादुर खड्का लगायतका नेता घरमा आइरहुनुुहुन्थ्यो,’ उनले भनिन्, ‘त्यो बेला उहाँहरूले गरेको कुराकानी म सुुनिरहन्थेँ । बिस्तारै ममा पनि राजनीति गर्नुुपर्छ भन्ने सोच आयो । अनि बाबाको प्रेरणाले विद्यार्थी राजनीति सुुरु गरँे ।’
दिपाले आदर्श माविमा कक्षा–८ मा पढ्दै गर्दा पहिलो पटक नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनैतिक यात्रा सुुरु गरेकी हुुन् । आफ्नो बाबाले समाजका विपन्न बालबालिकालाई सहयोग गरेको देखेपछि आफूलाई पनि त्यतिबेलाबाटै समाज सेवा गर्ने प्रेरणा मिलेको बताउँछिन् । २०६८ सालमा पार्टी क्रियाशील सदस्य लिएकी उनी १३ र १४औँ पार्टीको महाधिवेशनका बेला क्षेत्रीय प्रतिनिधि बनेकी थिइन् । हाल पार्टीका विभिन्न कार्यक्रम तथा संगठन विस्तारमा सक्रिय भूूमिका खेल्दै आएकी छिन् ।
श्रीमानलाई पढाउन आफैँले पढाइ छाडेँ
अहिले हेर्दा दिपा पौडेलको परिवारलाई सबै पुगेको र सजिलो छ जस्तो लाग्छ त्यसभित्र दिपाको ठूलोे संघर्ष, मेहनत र त्याग रहेको छ । २०५७ मा एसएलसी पास गरेकी दिपा पौडेलले श्रीमानलाई पढाउनका लागि आइएडपछि आफ्नो पढाइ नै छाडिन् । विवाहपछि दुुवै जनालाई पढाइ खर्च चलाउन नसक्ने अवस्था आएपछि उनले आफ्नो पढाइ छोडेर श्रीमानलाई पढाउने सोच बनाइन् ।
त्यही सोचअनुसार दिपाको जोडी २०६२ सालमा काठमाडौँ लाग्यो । त्यहाँ घरबाट पठाएको पैसाले पढ्न नपुुगेपछि दिपाले आयुुर्वेदिक औषधि बेच्न मार्केटिङको काम सुुरु गरिन् । उनका श्रीमान तिलक पनि बिहान बेलुका पढ्ने र दिउँसो काम गर्ने गर्थे । करिब तीन महिना मार्केटिङको काम गर्दा दिपाले राम्रो गरेपछि त्यसपछि कार्यालयमै बसेर काम गर्ने अवसर पाइन् ।
करिब ६ वर्षको काठमाडौँ बसाइँमा दिपाका श्रीमान तिलकले पनि डिग्री पास गरे । त्यसपछि दिपाको जोडी फेरी सुर्खेत फर्कियो । अनि दिपाका श्रीमान तिलकले पनि जागिर सुुरु गरे । त्यसपछि दिपाको परिवारमा खुुसीसँगै सुुखका दिनहरू भित्रिन सुुरु भयो । दुुई सन्तानकी आमा बनेकी दिपा घर व्यवहार सम्हाल्न व्यस्त भइन् भने तिलकले जागिरका लागि सरकारी सेवा प्रवेश गरे ।
हाल तिलक शिक्षा क्याम्पस सुर्खेतमा कार्यरत छन् । दिपा ढुुक्क र बलियो आत्मबलका साथ राजनीतिसँगै समाज सेवामा व्यस्त छिन् । ४४ वर्षीय दिपाले आठ वर्ष करेखोला कृषि तथा पशुुपालन बहुुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित डेरी उद्योगमा काम गरेकी थिइन् । सुर्खेत डेरी उद्योगमा पनि दुुई वर्ष काम गरेको अनुुभव छ । २०६०–६२ सम्म सरस्वती प्रावि गरगरेमा पढाइन् ।
सर्वसम्मत टिकट
२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन हँुदैथियो । निर्वाचनका लागि महिला वडा सदस्य बन्न भित्रभित्रै धेरैले अपेक्षा गरेका थिए । टिकट कसलाई दिने ? को व्यक्ति उपयुुक्त हुन्छ, छलफल हुँदैथियो । सोही बेला दिपाले वडा सदस्यमा चुनाव लड्ने सोच बनाइन् ।छलफलपछि सर्वसम्मतिका आधारमा दिपालाई नै टिकट दिइयो । चुनाव लडिन् र जितिन् पनि ।
सदस्यमा निर्वाचित भइसकेपछि दिपाले वडा कार्यालय र वडावासीलाई आफू आवश्यक परेको खण्डमा जतिबेला पनि उपस्थित हुने गर्दछिन् ।
‘नियमित वडामा जानुुपर्दैन । विशेष समयबाहेक सधैँ काम पनि हुुँदैन । तर आवश्यक पर्दा जतिबेला पनि उपस्थित हुने गरेकी छु,’ उनले भनिन्, ‘वडाध्यक्षदेखि अन्य जनप्रतिनिधि र कर्मचारीसँगको समन्वय सहकार्य राम्रो छ । विशेषगरी महिलाका लागि बजेट तथा कार्यक्रम बनाउन मैले दबाब दिने गरेकी छु ।’









प्रतिक्रिया दिनुहोस्