विपना थापासँग फेरि सहकार्य गर्दै नीता ढुंगाना



काठमाडौँ ।

अभिनेत्री विपना थापा फिल्म ‘सुख दुःख’ मा अनुबन्धित भएकी छन् । अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना अधिकारीको निर्देशनमा बन्न यो फिल्मको टिमले विपनालाई बुधबार अनुबन्ध गरेको हो । यसअघि विपना र नीताको फिल्म ‘ह्रस्वदीर्घ’ मा सहकार्य गरेका थिए । उक्त फिल्मबाट विपनाले वर्षौपछि कमब्याक गरेकी थिइन् । विपनाले फिल्म ‘सुख दुःख’ मा आफू पनि जोडिन पाउँदा एकदमै खुसी लागेको बताइन् ।

उनले फिल्मको कथाले आफूलाई छोएको र नीताको निर्देशनमा काम गर्न उत्साहित रहेको समेत बताइन् । नीताले पनि आफ्नो फिल्ममा विपनालाई अनुबन्ध गर्न पाउँदा असाध्यै खुसी भएको बताइन् । उनका अनुसार यो फिल्ममा विपना महत्वपूर्ण भूमिकामा देखिनेछन् । फिल्म ‘सुख दुःख’ मा यसअघि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा अनुबन्ध भइसकेका छन् ।

अन्य कलाकार र प्राविधिक पक्षको बारेमा विस्तारै जानकारी दिँदै जाने नीताको भनाइ छ । आगामी फागुनबाट छायांकनमा जाने फिल्म चर्चित भारतीय छायांकार कवीरलाल र शाहिदलालले छायांकन गर्ने जनाइएको छ । ‘नीता फिल्म्स’ को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैँ फूलपातीबाट प्रदर्शनमा ल्याइने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २४ गते शनिबार