शनिबार राति भारतको नोएडामा भएको खेलमा म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा नेपालका एमएमए फाइटर रवीन्द्र ढाँट बान्टमवेट च्याम्पियन बने । उनले डिफेन्डिङ च्याम्पियन भारतका चोंगरेंग कोरेनलाई हराए । बझाङी बाघको उपनामले परिचित रवीन्द्र र ‘दि इन्डियन राइनो’ उपनामले परिचित कोरेनबीच निकै रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । शक्तिशाली रेसलिङ र आक्रामक पावरका लागि चर्चित कोरेन रवीन्द्रको शान्त संयोजन र कुशल रणनीतिसँग मात्रै पराजित भएनन् तेस्रो राउण्डमै आउट हुन पुगे । एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका रवीन्द्रलाई नेपालका प्रधानमन्त्री ओलीदेखि सर्वसाधारणले बधाई दिएका छन् ।

कोहलपुर ।
जब नेपाली झण्डा विदेशी भूमिमा फहरिन्छ, त्यो क्षण शब्दले होइन् रगतले लेखिन्छ, पसिनाले लेखिन्छ । शनिबार राति भारतीय भूमिमा एउटा कथा लेखियो, रचियो, अभूतपूर्व इतिहास । उक्त इतिहास रच्ने व्यक्तिको नाम हो, ‘बझाङी बाघ’ अर्थात् रवीन्द्र ढाँट । जोे शनिबार राति भारतको नोएडामा भएको खेलमा म्याट्रिक्स फाइट नाइट ‐एमएफएन) १७ मा बान्टमवेट च्याम्पियन बने । उनले भारतका चोंगरेंग कोरेनलाई हराए । कोरेन एमएफएनका डिफेन्डिङ च्याम्पियन हुन् ।
नेपाली एमएमए फाइटर ढाँटले कोरेनलाई तेस्रो राउन्डमा पराजित गरिदिए । कोरेन शक्तिशाली रेसलिङ र आक्रामक पावरका लागि चर्चित छन् । उनी भारतमा ‘दि इन्डियन राइनो’ उपनामले परिचित छन् । खेलमा कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरेका थिए । रवीन्द्रको शान्त संयोजन र कुशल रणनीतिसँग कोरेन सफल हुन सकेनन् । पहिलो राउण्डमा रवीन्द्रले तुलनात्मक रूपमा राम्रो खेले । दोस्रो राउण्डमा कोरेनले खेल आफ्नो पक्षमा ल्याउने प्रयास गरेका थिए । तेस्रो राउण्डमा खेलको मोड बदलियो । रवीन्द्रले तीव्र गतिमा प्रहार गरे ।
रवीन्द्रको प्रहारसँगै कोरेन रक्षात्मक बन्दै गए । जसले उनलाई गम्भीर संकटमा पा¥यो । अन्ततः निर्णायक कम्बिनेसन प्रहारपछि रेफ्रीले फाइट रोके र रवीन्द्रलाई टीकेओद्वारा विजेता घोषित गरे । यो जितसँगै रवीन्द्रको प्रोफेशनल रेकर्ड ८–१ पुगेको छ । च्याम्पियन बनेका रवीन्द्रले कोरेनको पाँच खेलको जित यात्रामा बे्रक लगाइदिएका छन् । उनको विजयी क्षणमा दर्शकदीर्घा उत्साहले भरिएको थियो । पिजरमाथि नेपाली झण्डा गर्वका साथ फहराइएको थियो ।
जितपछि रवीन्द्रले भनेका थिए– ‘जय नेपाल, जय हनुमान’ । ढाँटको जितपछि नेपाल र भारतमा उनको चर्चा व्यापक छ । उनको जितमै सीमित छैन । उनको जित संघर्षको जित हो । एउटा सपना अनि एउटा त्यागको । त्यतिमात्रै होइन नेपाली आत्मविश्वासको जितको रूपमा व्याख्या गरिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कलाकार, सर्वसाधारण सबैले बधाई दिएका छन् ।
बझाङको डुम्रे गाउँदेखि म्याट्रिक्स फाइट नाइट च्याम्पियनसम्म
बझाङको वित्थरचिडको विकट डुम्रे गाउँमा जन्मिएका हुन्, रवीन्द्र ढाँट । कुनै समय उनी डुम्रे गाउँबाट रोजगारी खोज्दै भारत पुगेका थिए, रोजगारीका लागि । परिवारका लागि अनि आफ्नो सपनाका लागि । तर उनी बिस्तारै खेलतर्फ आकर्षित भए । उसो त ढाँटको बाल्यकाल डुम्रे गाउँमै बित्यो । उनले कक्षा–१० सम्म गाउँको स्कुलमा पढे । एसएलसी दिएपश्चात उनी काम गर्न भारतको उत्तरखण्डमा पुगेका थिए ।
विपन्न परिवारमा जन्मेका ढाँट पारिवारिक अवस्थाकै कारण राम्रोसँग पढ्न पाएनन् । परिवारको खराब स्थितिका कारण उत्तरखण्डमा ३ वर्ष काम गरेको उनी बताउँछन् । काम निकै गाह्रो भएपछि उनले काम छाडेर सहज कामको खोजीमा दिल्ली गएका थिए । काम गर्न जाँदा उनले जिम देखे । त्यसपश्चात उनी कराते सिक्नलाई जिममा जान थाले । उनी भन्छन्, ‘एकदिन काम गर्न जाँदै गर्दा बाटोमा जिम देखेँ । कराँते सिक्ने भनेर जोइन भएको एमएमए भइरहेको रहेछ । त्यो देखेपछि ल मैलेपनि केही गर्न पर्छ भनेर कराँते गर्दैै गर्दा ५ महिनापछि एमएमए टन भयो । एक वर्षपछि फाइटहरू खेल्न थालेँ । मिस्क मार्सल आर्ट ‐एमएमए)को यात्रा बल्ल सुरु भयो ।’
कामको खोजीमा गएका उनका लागि जिम भेटिनु नै आफ्नो जीवनको टर्निङ प्वाइन्ट बनेको उनी बताउँछन् । ‘जिम सिक्दै गर्दा कोचले इन्डियाको एमएमए खेल्न सुझाए । ‘एमएमए’ भनेको थाहा थिएन, तर कोचले राम्रो हुन्छ भनेपछि सिक्न थालेँ । छोटो समयमै राम्रो हुँदै गयो,’ उनी भन्छन् । त्यसपछि रवीन्द्र क्लबस्तरीय प्रतियोगिता खेल्न थाले । निरन्तर खेलेका उनले सन् २०१८ मा एमेच्योर एमएमएको राष्ट्रिय प्रतियोगिता जिते । उनले २०१९ मा पनि जितेपछि वल्र्ड च्याम्पियनसिपका लागि छनोट भए । उनले २०१९ मा पनि जितेपछि वल्र्ड च्याम्पियनसिपका लागि छनोट भए ।
तर, नेपाली भएका कारण भारतको प्रतिनिधित्व गरेर खेल्न नपाउने भए । नेपाली पासपोट र नेपाली नागरिकता उनका लागि बाधक बन्यो ।
त्यसपश्चात प्रोफेसनल खेल्न थालेको उनी बताउँछन् । दुई वटा प्रो खेलेपश्चात कोभिडका कारण लकडाउन भएपछि उनी नेपाल फर्किए । ‘आठ महिना घरमा बित्यो । परिवारको अवस्था त्यस्तै थियो,’ उनले भने, ‘परिवारले विदेश जान प्रेसर दिन थाले । विदेश जा काम गर कमाउनुपर्छ भन्थे । उमेरपनि जाँदैछ । गाउँमा लकडाउनमा पनि सक्दो ट्रेनिङ गर्थेँ । काठमाडौँ आएर काम गर्दै टे«निङ गर्दै विदेश जाने भिजा खोजेँ तर पाइएन् । आफ्नो पढाइ पनि राम्रो थिएन ।’ त्यसपश्चात काठमाडौँमा काम गर्दै ट्रेनिङ गरेको उनी बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्