आजदेखि अन्तरप्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता



जनकपुरधाम ।

जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता हुने भएको छ । मधेश सरकारको खेलकुद तथा समाजकल्याण मन्त्रालयको आयोजनामा जनकपुरको मिथिला अवध धर्मशालामा हुने दुई दिवसीय खेलको मुख्यमन्त्री सतिशकुमार सिंहले उद्घाटन गर्नेछन् ।

मधेश खेलकुद परिषद् जनकपुरधाम तथा सहकार्य मधेश प्रदेश कबड्डी संघ समन्वयमा हुने प्रतियोगितामा सातवटै प्रदेशको कबड्डी टीमको सहभागीता रहने परिषद्का सदस्यसचिव शिवजीप्रसाद कानुले जानकारी दिए । कबड्डी तथा खेलकुदको विकासको उद्देश्यसहित आयोजन भएको अन्तरप्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको प्रथम पुरस्कार २५ हजार रहेको छ ।

त्यस्तै दोस्रो हुने टिमले १५ हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्ने सदस्यसचिव कानुले बताए । जबकि दुई दिवसीय खेलका लागि मन्त्रालयको ५० लाख रूपैयाँ बजेट छ । तर प्रथम पुरस्कार राशी भने २५ हजार रूपैयाँ छ । यसबारे सञ्चारकर्मीहरूले आयोजकप्रति प्रश्न उठाएका थिए ।

जवाफमा सदस्यसचिव कानुले मधेश सरकारको खेलकुद कार्यविधिअनुसार नै प्रथम पुरस्कार २५ हजार रूपैयाँ मात्र रहेकाले सोहीबमोजिम तय गरिएको जानकारी दिए । तर पुरस्कार राशी अत्यन्त न्यून राखिएको भन्दै प्रतियोगितामा सहभागी हुन आएका खेलाडीहरू निराश बनेका छन् । आयोजकले पुरस्कार राशीबारे पूर्वजानकारी नदिएको उनीहरूको भनाइ छ ।

आयोजकको यस्तो कार्यले खेलाडीको मनोबल कमजोर बनाउने काम भएको उनीहरूले गुनासो गरे । कबड्डी संघ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्ण पाण्डेले पुरस्कारअनुसार नै खेलाडीलाई खेल खेल्न मनोबल बढाउने काम गरेको बताउँदै यहाँ आइसकेका खेलाडी पुरस्कार राशी सुनेर निराश भएको गुनासो गरे ।

‘खेलमा पुरस्कारले धेरै अर्थ राख्छ । अन्तरप्रदेशीय खेल हुँदैछ । सबैथोक राम्रै होला सोचेर खेलाडी आएका हुन् । तर ५० लाख राशीको खेलमा अत्यन्त न्यून राशीको पुरस्कार राखेकोबारे अहिले थाहा पायौँ । यसले खेलाडीलाई निराश बनाएको छ,’ उनले गुनासो गरे । लुम्बिनी प्रदेशबाट खेलाडीको नेतृत्व गर्दै आइपुगेका विनयकुमार कोइरी पुरस्कार राशीले खेलाडीको उत्साह घटाएको गुनासो पोखे ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १२ गते बिहीबार