काठमाडौँ ।
सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एमेच्योर खेलाडी राहुल विश्वकर्माले एकल अग्रता बनाएका छन् । समग्रमा १६–अन्डर २ सयको स्कोरमा राहुलले साविक विजेता तथा भारतीय गल्फ टुर खेलिरहेका सुबाश तामाङलाई एक स्ट्रोकले पछि पारे । राहुलले बुधबार ६–अन्डर ६६ स्कोर गरे ।
पहिलो दिनका संयुक्त लिडर सुबाशले बुधबार बोगी रहित ५–अन्डर ६७ को स्कोर जोडे । समग्रमा उनले १५–अन्डर २ सय १ स्कोर बनाएका छन् । एमेच्योर सदभाव आचार्यले बुधबार ५–अन्डर ६७ को नतिजा निकाले । समग्रमा १३–अन्डर २ सय ३ स्कोरका साथ उनी तेस्रो स्थानमा छन् । समग्रमा ११–अन्डर २ सय ५ को स्कोरमा निरज तामाङ र भुवन नगरकोटी संयुक्तरुपमा चौथो स्थानमा रहे ।
भुवनले बुधबार दिनकै उत्कृष्ट ८–अन्डर ६४ को स्कोर दर्ज गरे । निरजले ४–अन्डर ६८ मा खेल पुरा गरे । भुटानका निम दोर्जी तामाङ समग्रमा ८–अन्डर २ सय ८ सहित छैटौँ स्थानमा छन् । उनले आज २–अन्डर ७० खेले । उनी एमेच्योरतर्फ भने तेस्रो स्थानमा छन् । समग्रमा ७–अन्डर २ सय ९ सहित दिनेश प्रजापति सातौँ स्थानमा रहने क्रममा बुधबार ४–अन्डर ६८ को नतिजा निकाले । समग्रमा ३–अन्डर २ सय १३ सहित शुक्रबहादुर राई, सञ्जय लामा र रबि खड्का आठौँ स्थानमा रहे ।
बुधबार शुक्रले ३–अन्डर ६९, सञ्जयले २–अन्डर ७० र रबिले १–अन्डर ७१ को स्कोर बनाए । लिडर राहुलले बुधबार फ्रन्ट नाईनमा बोगी रहित ५–अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे । उनले पहिलोदेखि तेस्रो तथा छैटौँ र सातौँ होलमा गरी कूल ५ बर्डी प्रहार गरे । यसपछि ११औँ होलमा १ सट खेर फाल्दा १५औँ र १८औँ होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा सकाए ।
सुबाशले फ्रन्ट नाइनमा ३–अन्डर ३३ र ब्याक नाइनमा २–अन्डर ३४ खेले । यो क्रममा उनले तेस्रो, चौथो, नवौँ, बाह्रौँ र तेह्रौँ होलमा बर्डीको सफलता प्राप्त गरे । सदभावले दोस्रो, तेस्रो, सातौँ र नवौँ होलको बर्डीले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए । यसपछि ११औँ होलमा डबल बोगी खेपे । तर लगत्तै १२औँ होलमा इगलको सफलता प्राप्त गरे भने १८औँ होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा सकाए ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चार दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशि रहेको छ । विजेताले उपाधिसहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौँ हुनेले ९२ हजार रूपैयाँ हात पार्नेछन् । शीर्ष २१ भित्र रहने सबै प्रोफेसनल खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् ।
चार दिने प्रतियोगितापछि शनिबार प्रो–एम प्रतियोगिता हुनेछ । जहाँ २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।









प्रतिक्रिया दिनुहोस्