प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप हुँदै



काठमाडौँ ।

काठमाडौँ महानगरपालिका–२२ को आयोजनामा ‘प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप २०८२’ यही असार ६ र ७ गते काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने भएको छ । ‘व्यायाम गरौँ, स्वस्थ रहौँ’ भन्ने नाराका साथ आयोजना हुने यो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक वडाले जानकारी दिएको छ ।

पहिलो दिन तौल नाप्ने कार्य हुनेछ भने दोस्रो दिन प्रि–जजिङ र फाइनल खेल हुनेछ । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको सहकार्यमा तथा काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगिता पुरुषतर्फ मात्र सञ्चालन हुनेछ । आगामी वर्षदेखि महिलातर्फ पनि प्रतियोगिता सुरु गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिता ६ तौल समूह ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिमा सञ्चालन हुनेछ । प्रत्येक समूहका शीर्ष ५ खेलाडीलाई नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिनेछ । विजेताले ७५ हजार, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार र पाँचौँले १० हजार रूपैयाँँ प्राप्त गर्नेछन् ।

प्रत्येक समूहका विजेता खेलाडीहरू ‘मिस्टर महानगर’ को टाइटलका लागि ओभरअल प्रतिस्पर्धामा उत्रिनेछन् । ओभरअल विजेताले नगद ५ लाख रूपैयाँँ, ट्रफी र ब्यानेट प्राप्त गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने यस प्रतियोगितामा शारीरिक सुगठन क्षेत्रमा योगदान दिने विशिष्ट व्यक्तित्वहरूलाई पनि सम्मान गरिनेछ ।

वडा नं. २२ ले सामाजिक, सांस्कृतिक र खेलकुद क्षेत्रका विभिन्न गतिविधि गर्दै आएको छ । यसअघि सहिद सुरज स्मृति अन्तरवडा बुद्धिचाल प्रतियोगिता आयोजना गरिनुका साथै विद्यार्थीहरूलाई पौडी तालिम पनि दिइएको थियो । प्रतियोगिताको उद्देश्य जनस्वास्थ्यमा सुधार ल्याउने, फिटनेसप्रति जनचेतना बढाउने र बडीबिल्डिङ खेलाडीहरूलाई राम्रो अवसर प्रदान गर्ने रहेको आयोजकको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ४ गते बुधबार