विश्व राजनीतिमा भारत : सबैको मित्र, तर कसको साँचो मित्र ?



अमेरिका तथा चीनको दबाब र प्रभावपछि भारत पाकिस्तानबीच युद्धबिराम भएको छ । अहिले भारतमाथि अनेकन गम्भीर प्रश्नहरू उठेका छन । भारत मौन छ । उसले बाध्य भएर दिएका जवाफहरू चित्त बुझ्दा छैनन् । भारतमाथि प्रश्न उठिरहेका छन् । के साँच्चै भारत विश्वगुरु बन्न सक्षम छ त ? भारतले विश्वमा आफ्नो कूटनीतिक प्रभाव बढाउन के गर्दैछ ? विश्व गुरु उसको विश्वमञ्चमा आत्ममुग्ध हुने रहर मात्रै हो कि वास्तवमै भारत विश्व शक्ति बन्ने दिशामा छ त ?

सागर गैरे ।

भारत आजको विश्व राजनीतिमा एक उदाउँदो शक्ति हो । उसको प्रभाव बहुआयामिक छ । भूगोलदेखि प्रविधि, जनसङ्ख्यादेखि सामरिक रणनीतिसम्म उ एउटा बलियो शक्तिको रूपमा देखिएको छ । दक्षिण एशियाको विशाल भूभाग ओगटेको भारत विश्वकै सबैभन्दा ठूलो जनसङ्ख्या भएको मुलुक बनेको छ, जसले उपभोक्ताको बजार, श्रमशक्ति र नवप्रवर्तनको अपार सम्भावना बोकेको छ । आर्थिक रूपमा भारतले लगातार उच्च दरमा वृद्धिदर कायम राखेको छ । उ छिट्टै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान छ । सूचना प्रविधि, अन्तरिक्ष अनुसन्धान, औद्योगिक उत्पादन, स्टार्टअप र डिजिटल पूर्वाधारमा भारतको उन्नति उल्लेखनीय छ ।

त्यसैगरी, ‘एक्ट इष्ट’, ‘नेबरहुड फस्र्ट’, ‘ग्लोबल साउथ’ र क्वाड जस्ता कूटनीतिक रणनीतिहरूले भारतलाई विश्व राजनीतिमा एक सन्तुलित र निर्णायक शक्तिका रूपमा उभ्याएको छ । रक्षा नीतिमा आत्मनिर्भर भारत परमाणु शक्ति तथा समुन्द्री सुरक्षा रणनीतिले उसको सामरिक प्रभाव बलियो बनाइरहेको छ । विश्वका सबै महाशक्तिसँग संवाद र साझेदारी कायम राख्न सकेको भारत बहुध्रुवीय विश्व प्रणालीमा एक निर्णायक पंक्ति बनाउने दिशामा अघि बढिरहेको छ । यिनै आधारहरूमा भारतको उदय आजको विश्वमा ‘ब्यालेन्सर’ र भोलिको ‘लीडर’ बन्ने सम्भावनाका रूपमा प्रष्ट देखिन्छ ।

विश्व गुरुको यात्रामा खोसिँदो विश्वास

सन् २०२० को दशक विश्व राजनीतिक रुपान्तरणको काल हो । शक्तिशाली राष्ट्रहरू पुराना गठबन्धनबाट टाढा सरिरहेका छन् । नयाँ आर्थिक मोर्चाहरू बन्दैछन् । यही समय हो भारतले आफूलाई विश्वगुरुको यात्रामा अघि सारेको छ । भारतको काश्मिर प्रशासित पहलगाममा केही पहिले घुम्न गएका पर्यटकमाथि आतंकवादीहरूले क्रुर आक्रमण गरेपछि रन्थनिएको भारतले पाकिस्तानमाथि घटनाको आरोप लगाउँदै दुई देशबीचको युद्ध तिक्त हुँदै युद्धको संघारमा पुगेको थियो ।

अमेरिका तथा चीनको दबाब र प्रभावपछि भारत पाकिस्तानबीच युद्धबिराम भएको छ । अहिले भारतमाथि अनेकन गम्भीर प्रश्नहरू उठेका छन । भारत मौन छ । उसले बाध्य भएर दिएका जवाफहरू चित्त बुझ्दा छैनन् । भारतमाथि प्रश्न उठिरहेका छन् ।

के साँच्चै भारत विश्वगुरु बन्न सक्षम छ त ? भारतले विश्वमा आफ्नो कूटनीतिक प्रभाव बढाउन के गर्दैछ ? विश्व गुरु उसको विश्वमञ्चमा आत्ममुग्ध हुने रहर मात्रै हो कि वास्तवमै भारत विश्व शक्ति बन्ने दिशामा छ त ? हामी यस विषयमा सरसरती छलफल गर्नेछौँ ।

१. बोल्छ एकथरी व्यवहार अर्काेथरी ?

भारतसँग आत्मविश्वासको कमी होइन् उसको सबैभन्दा ठूलो कमजोरी उसले आफ्नो नीति तेस्रो मुलुकका देशहरूलाई बुझाउन सकिरहेको छैन । भारतले अलिक बढ्तै आफूलाई एक्सपोज गर्न खोजेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको दौडधुप कूटनीति र भाषण एस जयशंकरको कडा भाषा र विश्व गुरु बन्ने आकांक्षा यी सबै कुराले भारतभित्रको आत्मविश्वास नझल्काएको होइन ।

तर प्रश्न के हो भने अरु देशले पनि भारतको महत्व र औचित्यलाई भारत आफूले सोचेजस्तै प्राथमिकता दिइरहेका छन त ? भारतको विश्वगुरुको डंकालाई कैयौँ देशले भारतको अहंकारको रूपमा हेरेका हुन्छन् । भारत आफूसँग जुन आत्मविश्वास छ भनेर देखाउन खोजिरहेको छ तर वास्तविकतामा त्यसो हुँदैन ।

भारतसँग विश्वमा आफू कसरी प्रस्तुत हुने भन्ने रणनीतिक नीतिको कमी छ । भारतको विदेशनीति अहिलेसम्म कुनैपनि देशमा फलदायी नतिजा दिन सफल देखिँदैन् । भारत रुससँग पनि सम्बन्ध राख्न चाहन्छ । अमेरिका र फ्रान्ससँग पनि सम्बन्ध राख्न चाहन्छ । इरानसँग पनि सम्बन्ध राख्न चाहन्छ इजरायलसँग पनि कुटनीति बचाउन चाहन्छ ।

भारतको सम्बन्ध सतहमा हेर्दा सबैसँग राम्रो देखिन्छ तर कसैसँग पनि उसको सम्बन्ध गहिरो देखिँदैन । भारतको विदेशनीति सिधा अर्थमा भन्नुपर्दा घुमाउरो हुन्छ । वास्तवमा विदेशनीति जति घुमाउरो हुन्छ सम्बन्धहरू पनि त्यही हदमा अस्थायी र कमजोर हुँदा रैछन् । भारतीय विदेशमन्त्री एस जयशंकर भन्दै हिँडेका छन् ।

भारत अब अरुले परिभाषित गर्ने देश होइन । तर व्यवहारमा भारत अझै पनि स्पष्ट विदेशनीति निर्माण गर्न संघर्षरत देखिन्छ । इजरायल हमास युद्धमा होस् कि रुस युक्रेन युद्धमा होस, चीनको प्रभावमाथि होस् कि ? वा अमेरिकी गठबन्धनबारे भारत सधैँ सन्तुलन खोज्ने नाममा अस्पष्ट देखिन्छ । भारतको यही अस्पष्टतानै उसको लागि विश्वासको संकट बनिरहेको छ ।

२. छिमेकसँगको सम्बन्ध सधैँ तनावपूर्ण

भारतको ऐतिहासिक परिपाटी यही देखिँदै आएको छ । खासगरी उसका छिमेकीहरूको सम्बन्धमा । भारत आफूलाई जहिलेपनि धुरीमा राखेर छिमेकी देशलाई सधैँ सानालाई ठूलाले नेतृत्व गर्छन् भन्ने भाष्य बोकेको देखिन्छ । उ जहिलेपनि साना देशलाई निर्देशन दिने शैलीमा काम गरेको हुन्छ । सिंगापुर, भुटान, नेपाल, मादिभ्स, मलेसियाजस्ता अनेक देशसँगको भारतको व्यवहार हेर्दा उसले आफूलाई संरक्षकको शैलीमा हेरेको देखिन्छ । धेरै देशले भारत आफ्नो अहंकारले उम्लिएको आरोप लगाउँछन् । भारत ठूलासँग मौन र साना देशसँग कडा व्यवहार अपनाएको आरोप लाग्दछ ।

भारतको नीति हस्तक्षेप गर्ने हैसियतमा छैन् तर उसको व्यवहार हस्तक्षेपकारी छ । भारतले छिमेक नीतिलाई प्राथमिकतामा राखेको छु त भन्छ । तर उ साना देशहरूलाई कसरी निमोठ्न सकिन्छ भन्ने सोच्छ । दक्षिण एशियाका हरेक देशले भारतले आफूहरूसँग ठूल्दाई जस्तो मायालु र सहयोगी नातो होइन कि रिस र आरिस गर्ने पराइजस्तो व्यवहार गर्ने आक्षेप लगाउने गर्दछन् । भारत आफूलाई दक्षिण एशियाको पावर हाउस मान्दछ । उ छिमेकी देशलाई जतिसुकै समान आँखाले हेर्ने बताएपनि उसले आफूलाई जहिलेपनि ठूल्दाईको कोणबाट हेर्ने गरेको छ ।

भारतको नेपालसँग सीमा विवाद छ । मादिभ्ससँग भारतको कटुता बढ्दो छ । बंगलादेशसँगको सम्बन्ध संकटमा छ । श्रीलंकामा चीन हाबी भएको छ । पाकिस्तानसँग त युद्धको मोर्चामा नै छ । भुटान भारतको संरक्षित देश हो र पनि उ भारतसँगको सम्बन्धबाट स्वतन्त्र महसुस गर्न सकिरहेको छैन् । भारत साना देशलाई दबाउने रुस अमेरिकाजस्ता देशको सम्बन्धमा भने मौन हुँदै आएको कुरा घाम जत्तिकै छर्लङ्ग छ ।

भारतको दक्षिण एशिया नीति सैद्धान्तिक रूपमा सहकार्य र शान्तिपूर्ण छिमेकी सम्बन्धमा आधारित छ । तर व्यवहारमा शक्ति असन्तुलन, रणनीतिक स्वार्थ तथा आन्तरिक राजनीतिका कारण छिमेकी मुलुकहरूसँग सम्बन्ध धेरैजसो निरस र बोझिलो हुने गर्दछ । भारतले छिमेकी देशसँग सन्तुलित र समानताको आधारमा सम्बन्ध निर्माण गर्न सकेमा मात्र भारतको छिमेकीलाई पहिलो प्राथमिकता भन्ने नीति सफल हुनसक्छ ।

भनिन्छ बाहिर मान सम्मान पाउन पहिले घरभित्रै र छिमेकबाट मान र आदर पाउनु पर्छ । आफूलाई विश्वको उदाउँदो शक्तिको रूपमा कल्पना गरिरहँदा भारतले आफ्ना छिमेकीसँगको सम्बन्धलाई अब नयाँ आयामबाट सोच्न जरुरी छ ।

३. विश्व रंगमञ्चमा भाग खोज्नु तर हैसियत पुग्दैन

भारत आफूलाई विश्व गुरु मान्दछ । भारत जनसङ्ख्यामा विश्वको सबैभन्दा ठूलो देश भएको छ । अमेरिका, चीन, जापान र बेलायतपछि भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भएको देश हो । निकट भविष्यमै भारतले जापान र बेलायतलाई उछिनेर विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको छ । यस हिसाबले पनि भारतले आफूलाई विश्वको महत्वपूर्ण शक्तिको रूपमा आकलन गर्नु अस्वभाविक नठहर्ला ।

विश्व शक्ति बन्ने आकांक्षा पाल्नु त उसको अधिकारको कुरा हो तर त्यो स्तरको न सैन्य, न आर्थिक, न कुटनैतिक पहुँच निर्माण भैइसकेको छ भारतको । चीनले बीआरआईजस्ता महत्वाकांक्षी परियोजनाबाट विश्ववयापी पूर्वाधारहरूमा आर्थिक लगानी गरेर विश्वभरी आफ्नो उपस्थिति बलियो बनाइरहेको छ । जबकी यस मामलामा भारत निकै पछाडि छ । युरोपमा अमेरिकाको जति प्रभुत्व र दबाब छ भारतको प्रभाव त्यसको एक कुनो पनि छैन् भन्दा फरक पर्दैन । मध्यपूर्वमा पनि भारतको दीर्घकालीन साझेदार कोही छैन ।

भारत आफू बोल्न त धेरै कुरा बोल्छ तर उसका कुराहरू अन्तर्राष्ट्रिय मचमा गम्भीरतापूर्वक सुनिँदैनन् । भारतले विश्व रंगमञ्चमा विश्वास दिलाउन निकै मिहीनेत गर्नुपर्ने हुन्छ । यद्यपि भारत प्रविधिको क्षेत्रमा अगाडि छ । उसँग जनसांख्यिक लाभ छ । कृषिमा आत्मनिर्भर छ । यावत कारणले गर्दा उ भविष्यमा कसैले चाहेर नचाहेर पनि छलाङ हान्न सक्नेछ ।

४. सांस्कृतिक कमजोरी हो कि ?

भारतको कूटनीति हिन्दु धर्म योग भाषा र ऐतिहासिक गौरवमा केन्द्रित छ । भारत पञ्चशीलको सिद्धान्तमा विश्वास गर्दछ । तर विश्व कूटनीति केबल संस्कृती मात्रै पनि होइन । कुटनीतिले जहिले पनि विश्वसनीय व्यवहार र रणनीतिक स्थिरता खोज्दछ । भारतको विदेशनीति कहिले आक्रमक हुन्छ कहिले मौन । भारत कुनैपनि देशसँग मित्र त बन्छ तर उ सँगको सहकार्यमा भारतको रणनीति प्रभावकारी सिद्ध हुँदैन ।

अन्तर्राष्ट्रिय राजनीतिमा भारतको विशाल भूगोल जनसङ्ख्या उत्पादन र लोकतन्त्रका कारण धेरै देशले सम्मान त गर्दछन् तर भारतलाई एउटा भरपर्दो मित्र राष्ट्रको रूपमा एकदम कम देशले विश्वास गर्दछन् ।

साना राष्ट्रहरूसँगको भारतको सम्बन्ध चिसिँदै गएको छ । जी ट्वान्टीजस्ता फोरममा भारतको उच्च सम्मान त हुन्छ तर संकटको घडीमा भारतको पक्षमा बोल्ने देश कमै हुन्छन् । भारत अन्तर्राष्ट्रिय राजनितिमा सबैको मित्र बन्न खोज्दा कसैको पनि भरपर्दो साथी बन्न सकेको छैन । भारतको कूटनीति अनिश्चयपूर्ण छ । भारतमा सत्तामा जो शक्तिशाली नेतृत्व हुन्छ उसैको मुख अनुसारको विदेशनीति बनेको छ । पछिल्लो पटक बढी हिन्दुवादी बन्न खोज्दा भारतको मुस्लिम देशहरूसँगको सम्बन्ध धरापमा पर्दै गएको देखिन्छ ।

५. उपसंहार

यसमा कुनै शंका छैन कि भारत अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो भूमिका खोजिरहेको छ । भारत अर्थतन्त्रमा तेस्रो ठूलो शक्ति बन्दै छ । तर उ संयुक्त राष्ट्र संघको भिटो पावर देश होइन । भारत चाहन्छ उसको हैसियत विश्वका शक्तिशाली देशहरूमा गणना होस् ।

तर भारतलाई विश्वले जुन महत्व र हैसियत दिनुपर्ने हो त्यो सम्मान नदिएको भारतको बुझाइ छ । भारत अझै पनि बेलायती उपनिवेशको आँखाबाट कैयौँ देशलाई हेर्दछ । भारतले तत्काल आफ्नो विदेशनीतिमा आमूल परिवर्तन ल्याउनु पर्दछ । सबैभन्दा पहिले त भारतको आफ्नो विदेशनीति स्पष्ट हुनुपर्छ ।

भारतले छिमेकी फस्र्ट भनेझैँ छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नु पर्दछ । भारतले जसरी आश्वासन दिन्छ व्यवहारमा पनि भरोसा दिलाउने खालको उसको स्वभाव हुनुपर्छ ।
विश्वगुरु बन्ने बाटोमा हिँडिरहेको दाबा गर्ने भारतले सबैभन्दा पहिले आत्म मुघ्दताबाट आफूलाई मुक्त गर्नुपर्छ । कुनैपनि देश चिनिनुका लागि दीर्घकालीन नीतिगत स्थिरताको जरुरत हुन्छ ।

भारतले के कुरा बुझ्नुपर्छ भने सबैको साथी बनेपनि कसैको पनि भरपर्दो साथी बन्न नसक्नुले अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो माने राख्छ । पछिल्ला अन्तर्राष्ट्रिय घटनाक्रमहरू नियाल्दै गर्दा भारतले अन्तर्राष्ट्रिय सम्बन्धमा खासै प्रगति गर्न नसकेको कुरामा उसकै छिमेकी देशहरू समेत स्पष्ट छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ ११ गते आइतबार