रैथाने मौरी संरक्षणमा समुदाय



परागसेचनमा महत्वपूर्ण मानिने स्थानीय मौरीहरू मानवीय गतिविधिले लोप हुने अवस्थामा छन् । पश्चिम नेपालको बाँकेमा पुत्का, भमरा (कालो र पहेँलो), तराई घर मौरी (एपिस सेरेना), कठ्यौरी, कुमालकोटी, भिर मौरी लगायतका स्थानीय जातका मौरीहरू संरक्षण गर्न व्यक्तिगत र संस्थागत पहल बढ्दै छ । यसले कृषि अध्ययन गर्नेहरूलाई सहज बनाएको छ भने व्यवसायिक मह उत्पादनको सम्भावना, पर्यटन र पर्यावरणमा सघाउदैँ छ ।

निशु जोशी । नेपालगन्ज ।

काठको चारकुने बन्द बक्सको दायाँबाया मसिनो पाइप । एउटा पाइप काठको मुढामा जोडिएको अर्कोबाट माखा जस्तै देखिने पुत्का मौरीहरू चरनका लागि बाहिर उडिरहेका थिए । बाँके कोहलपुरका मौरी संरक्षक किसान पुरमल बस्नेतले घरको छतमा पुत्का, भमरा, सेरेना, कुमालकोटी लगायतका रैथाने मौरीहरू बस्नका लागि उचित वासस्थान बनाइदिएका छन् ।

बस्नेतका अनुसार पुत्का जातका मौरीहरूले मुढाबाट बक्स आकारको आधुनिक घारमा बसाइँ सर्न झण्डै ३ वर्ष लगाएका थिए । परम्परागत रूपमा मानिसहरूले वनमा रहेका मुढा फोडेर मह निकाल्थे । त्यसो गर्दा मौरीको वासस्थान नै नष्ट हुन्थ्यो । ‘अब यो घारबाट हरेक वर्ष मह निकाल्न सकिन्छ’ बस्नेतले भने । यसले पुत्का मौरीको मह उत्पादनका लागि सम्भावना देखाउँछ । लोपोन्मुख पुत्का मौरीको मह बहुउपयोगी र बहुमुल्य मानिन्छ । ‘पुत्का हुनु भनेको वातवरण ठिक छ भन्ने संकेत पनि हो’ बस्नेतले थपे ।

ब्राजिलको एक अनुसन्धानले ७ प्रतिशत पुत्का मौरीहरू पुष्परस संकलनका लागि ७० प्रतिशत वनस्पतीका फूलहरूमा गएको देखाएको थियो । परागसेचनमा घरपालुवाभन्दा स्थानीय मौरीहरू महत्वपूर्ण रहेको एसियाका विभिन्न देशमा गरिएको अध्ययनले देखाउँछ ।

परागसेचनमा महत्वपूर्ण मानिने स्थानीय मौरीहरू मानवीय गतिविधिले लोप हुने अवस्थामा छन् । पश्चिम नेपालको बाँकेमा पुत्का, भमरा (कालो र पहेँलो), तराई घर मौरी (एपिस सेरेना), कठ्यौरी, कुमालकोटी, भिर मौरी लगायतका स्थानीय जातका मौरीहरू संरक्षण गर्न व्यक्तिगत र संस्थागत पहल बढ्दै छ । यसले कृषि अध्ययन गर्नेहरूलाई सहज बनाएको छ भने व्यवसायिक मह उत्पादनको सम्भावना, पर्यटन र पर्यावरणमा सघाउदैँ छ ।

२० वर्ष नेपाली सेनाको सेवापछि अवकाश लिएर बस्नेतले ५ वर्ष विदेशी भूमिमा बिताए । पुर्खाले परम्परागत रूपमा गरेको मौरीलाई व्यवसायिक रूपमा पाल्ने सोच बनाएर घर फर्के । सीप, तालिम र अनुदानको अपेक्षासहित सन् २०१० तिर तत्कालीन कृषि विकास कार्यालय बाँकेमा गए । त्यतिबेला कार्यालयसँग मौरीपालनको कुनै कार्यक्रम थिएन । बस्नेत लगायतका केही किसानहरूले निरन्तर माग राखेपछि कार्यालयले २० जनालाई मौरीपालन तालिमसहित २० घार बाँड्यो । तर कोही सफल कोही भएनन् । यसको एउटा कारण कपास खेतीमा विषादीको प्रयोग थियो ।

कपासको उत्पादन बढाउनका लागि ठूलो मात्रामा विषादीको प्रयोग गर्ने गरिएको थियो । त्यसैले बाँकेमा मौरीपालन गर्न सकिने सम्भावना नरहेको तत्कालीन कृषि पुस्तिकामा उल्लेख गरिएको थियो । यसका बाबजुद पनि बस्नेत लागिरहे । आफू पनि ३ वर्षसम्म असफल बनेको उनी अनुभव सुनाउँछन् । ‘मौरीपालनका तालिम र गल्तीबाट सिक्दै अघि बढेँ’ बस्नेतले भने । अहिले उनी जीविकोपार्जनका लागि व्यवसायिक रूपमा मेलिफेरा मौरीपालन गरिरहेका छन् भने समाजका लागि विभिन्न प्रजातिका रैथाने मौरीहरूको संरक्षण र अध्ययन गरिरहेका छन् ।

थारू समुदायले पुत्का मौरीको मह र मैन आँखाको औषधी, पूजापाठ लगायतमा प्रयोग गर्दै आइरहेको देखेका बस्नेतले रेडियोमा अलैँची उत्पादन घटेको समाचार सुन्थे । यसबारेमा खोज अध्ययन गर्दा स्थानीय मौरी संरक्षण गर्नुपर्ने रहेछ भन्ने बस्नेतले थाहा पाए । यसैबेला भारतबाट आएका एकजना शिक्षकले व्यवसायिक रूपमै स्थानीय मौरीहरू पुत्का र सेरेना पालिरहेका एक किसानबारे बताए । बस्नेत ती किसानकोमा भारतमै गएर एक हप्ता तालिम लिएर फर्के । यो तालिम लिनका लागि उनले स्थानीय सरकारबाट सहयोग पाएका थिए ।

स्थानीय मौरी र किराहरू संरक्षण गर्नका लागि बस्नेतले ठाउँ मागेपछि कोहलपुर १२ स्थित सृजना सामुदायिक वन उपभोक्ता समितिले सन् २०१९ मा १० कठ्ठा जग्गा करारमा उपलब्ध गरायो । ‘मौरी, किरा संरक्षण गर्नु हाम्रो पनि दायित्व हो ठानेर हाम्रो समितिले बैठक बसेर १५ वर्षका लागि उहाँलाई जग्गा दियौँ,’ वनका संस्थापक अध्यक्ष दशरथ पराजुलीले भने । बस्नेतले उक्त वनमा चिउरी, कुसुम लगायतका ठूला साना गरेर करिब १ हजारबढी मौरीमैत्री बिरुवा रोपेको बताए ।
उक्त वनमा स्थानीय सरकारको १ लाख र व्यक्तिगत गरेर करिब ३ लाखको लागतमा मौरीलाई घामपानीबाट जोगाउने मौरीघर निर्माण गरिएको छ । जहाँ देश विदेशका कृषि अध्ययन, अनुसन्धान गरिरहेका विद्यार्थीहरू, विज्ञहरू हेर्न र बुझ्न आउने गर्छन् । यही क्रममा बस्नेतले लोपोन्मुख पुत्का मौरी संरक्षणकर्ताका रूपमा पहिचान बनाए ।

बाली परागसेचनको अध्ययन गरिरहेका युनिभर्सिटी अफ ब्रिटिस युकेका थोम्स टिम्बुरलाकेले बस्नेतको ज्ञान, अनुभव र उच्च गुणस्तरको महले आर्थिक विकासको सम्भावना रहेको बताएका छन् । यस्ता प्रतिक्रियाबाट प्रेरित बस्नेतले घरको छतमा र निजी २ कठ्ठा जमिनमा छानासहितको मौरीका लागि वासस्थान र मौरीको चरनका लागि स्थानीय जातका आँप, केरा, फर्सी, सखरखण्ड लगायतका बोटविरुवा रोपेका छन् ।

बस्नेतको अभियान समुदायमा

बस्नेतको कामलाई नजिकबाट देखेका होमस्टे सञ्चालक कृष्ण चौधरीले पनि मौरीसहित जैविक विविधता संरक्षणमा अघि बढे । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको गाभरभ्याली होमस्टेमा मौरीको प्रकृति अनुसारका बाँसका ढुंग्रोडुग्रोमा, काठको मुढामा जताततै मौरी बस्नका लागि कृतिम ठाउँ बनाइएको छ । जसलाई ‘बी’ रिसोर्ट नाम दिएका छन् । गाभर होमस्टेमा आउने पाहुना र शैक्षिक भ्रमणमा आउने विद्यार्थीलगायतले रैथाने मौरीबारे जानकारी लिएको चौधरीले बताए । चौधरीले तयार गरेको उक्त संरचनालाई नेपाल सरकारले नेपालको पहिलो सामुदायीक जीन बैंक नामाकरण गरेको छ । यो अभियान अन्तर्गत त्यस क्षेत्रका होमस्टेकर्मीहरूलाई अनुवाशिंक श्रोत केन्द्रले रैथाने मौरी संरक्षणका लागि तालिम पनि दिइएको छ ।

समुदायको जिम्मेवारीमा आफ्नो क्षेत्रमा पाइने बाली, घाँसेबाली, जलीय कृषि बस्तु, पशुपन्क्षी, किरा र सुक्ष्म जीवाणु (घरेलु, जंगली र अर्धजंगली) गरी ६ वटै अनुवांशिक श्रोतको संरक्षण तथा उपयोग हुने गरी गरिएको व्यवस्थापन प्रणाली नै सामुदायिक जीन बैंक हो । यस्तो बैंकको व्यवस्थापन सार्वजनिक स्थल, समुदाय तथा भवनमा गरिन्छ । यसअघि राष्ट्रियस्तरमा नेपालमा राष्ट्रिय कृषि अनुवांशिक श्रोत केन्द्र खुमलटार ललितपुरले किरा जीन बैंक मार्फत मौरी संरक्षण सुरु गरेको थियो ।

सन् २०२२ मा बस्नेतको अध्यक्षतामा बाँके, कैलाली, कञ्चनपुर लगायत पश्चिम नेपालका ७ जिल्लाका १२ जना जैविक विविधता संरक्षणकर्मीहरू सामेल भई ‘सामुदायिक जीन बैंक सञ्जाल’ गठन गरिएको छ । सञ्जालमा आबद्धहरूले आआफ्नो जिल्लामा स्थानीय बालीसँगै मौरी किराहरूको संरक्षण गर्ने, मौलिक ज्ञान, सीपको प्रयोग बढाउनुका साथै विषादी प्रयोगलाई निरुत्साहित गर्ने लगायतका ६ बुँदे घोषणापत्रका आधारमा काम गरिरहेका छन् ।

अहिले बाँकेको गाभर भ्याली, मिनी गाभर, बर्दियाको रम्मापुर गरेर ४५ होमस्टेहरू, बाँकेका ४ निजी विद्यालय, सामुदायिक वन तथा समुदायका मानिसहरू व्यक्तिगत तथा संस्थागत रूपमा मौरीसहित जैविक विविधता संरक्षणमा जोडिएका छन् । उनीहरूले मौरीको चरनका लागि १० हजारभन्दा बढी बिरुवा रोपेका छन् । समुदायले सके मौरीका लागि घरहरू बनाउने नसके उनीहरूको वासस्थान जहाँ छ, त्यसैलाई संरक्षण गरेर राख्न थालेका छन् ।

आफूहरूले खाद्यान्न उत्पादन गर्दा विषादीको सट्टा कम्पोष्ट मल प्रयोग गर्न थालेको बाँके गाभरका किसान गंगादत्त जैसी बताउँछन् । ‘अरुको तरकारीमा किरा लाग्दा मैले नै गाईको गहुँतबाट औषधी बनाएर दिन्छु’ जैसीले भने ।
रिपोटिङका क्रममा कोहलपुर बजार क्षेत्रका रामचन्द्र सापकोटाले आँगनको रुखमा बसेको कठ्यौरी मौरी देखाउँदै भने ‘पुरमलले दुर्लभ भइरहेको भनेपछि यसलाई मैले धपाइनँ ।’

कृषि विषय पढाउने कोहलपुरस्थित गोर्खा युनाइटेट पब्लिक स्कुलले ल्याबका रूपमा मौरीका लागि घार, पानीका ताल र रुखबिरुवा रोपेर मौरीमैत्री वातावरण बनाएको छ । विएस्सी एजी, पाँचौँ सेमेष्टरमा अध्ययनरत उषा केसी किताबमा पढेको भन्दा वास्तविकतामा हेरेर मौरीबारे धेरै बुझेको बताउँछिन् । बिरुवा रोप्ने र मौरी बचाउने कार्य गरिरहेको बालज्योति सेकेन्डरी स्कुलले स्थानीय पाठ्यक्रममै राखेर मौरीबारे अध्यापन गराइरहेको छ ।

विद्यालयमा मौरी संरक्षण गर्दा केही चुनौतीहरू पनि छन् । कोहलपुरकै ग्रिन पिस सेकेन्डरी स्कुलले संरक्षण गरेको भिर मौरीले टोकेर शिक्षक, विद्यार्थी गरेर ९ जना घाइते नै भएका थिए । घटना घट्दाघट्दै पनि विद्यालयले मौरीका लागि २ वटा घार बनाइदिएको छ । विद्यार्थी आयुस पोखरेल भन्छन्, ‘जो आत्तिएर भाग्यो उसैलाई मौरीले धेरै टोक्यो । शान्त बसेकोलाई नटोकेको प्रत्यक्ष अनुभव गर्न पाएँ । मौरीले टोक्छ, जिस्काउन हुन्न भन्ने पनि उक्त घटनाले सिकायो’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ ९ गते शुक्रबार