नन्दराम जैशी,सुर्खेत
बढ्दै गएको अत्यधिक गर्मी । त्यसैमा आगोको रापले सोवनाको शरीर थप कमजोर बन्दै गएको छ । तर उनलाई गर्मी र आगोको रापबाट छुटकारा पाउने अन्य कुनै विकल्प पनि छैन ।
हरेक दिन रेडियो भेरी एफएमको अगाडी सडक छेउमा मकै पोलेर बेच्ने काम उनका लागि बाध्यताको पेशामात्रै होइन कमाइखाने स्रोत पनि हो । हिमा गाउँपालिका–१ बेवारगाउँ जुम्लाकी ३२ वर्षिया सोवना परियारले सुर्खेतमा यसरी नै मकै पोलेर बेच्न थालेको ४ वर्ष बित्यो ।आगो र घामको तातोसँगै थकानसँग संघर्ष गर्दै सोवनाले परिवारको लागि मकै पोलेर घर खर्च मात्रै चलाएकी छैनन् । ३ छोराछोरीलाई बोर्डिङ स्कुल पनि पढाएकी छिन् । सोवनाका ३ छोराछोरी सनसाइन ग्लोबल बोेर्डिङ स्कुलमा कक्षा ४, कक्षा २ र नर्सरीमा अध्ययनरत छन् ।
आफूले पढ्न नपाएपनि दुःख गरेर छोराछोरीलाई राम्रै स्कुल पढाउने र भविष्यमा असल मान्छे बनाउने उनको सपना छ । छोराछोरीको भविष्यको लागि सोवनाले घाम, प्यास र बिरामी नभनी कष्ट गरिरहेकी छिन् । तर उनी पनि आफै स्वस्थ छैनन् । लामो समयदेखि उनी हेपटाइटिस ‘ए’ अर्थात् जण्डिस रोगको बिरामी छिन् । उनले अहिले पनि नियमित औषधी सेवन गरिरहेकी छिन् । ‘म जण्डिसको बिरामी भएर ३ वर्षसम्म थला परेँ । पछि ऋण काढेर उपचार गर्न सुर्खेत आएँ, यहाँ उपचार सम्भव नभएपछि कोहलपुर पुगेर उपचार गरेँ,’ उनले भनिन्, ‘उपचार गर्न नै १ वर्ष समय लाग्यो । त्यो बेला मेरो श्रीमान सुर्खेतमा गाडी सिक्दै थिए, सीप छोडेर मेरो उपचारमा लागे । ६ वर्षभयो औषधी खाँदैछु ।’
बिस्तारै सोवनाको स्वाथ्य सुधार हुँदै गयो । उनलाई फेरी गाउँ फर्केर काम गरी खान आँट आएन । उनका श्रीमान हर्समानले पनि गाडी चलाउन सिके । अनी हर्समानले छोराछोरी पढ्ने बोेर्डिङ स्कुलकै गाडी चलाउन मौका पाएपछि दुवै जनाले गाउँ नफर्किने निधो गरे । त्यसपछि सोवनाले पनि खाली बस्नुभन्दा मकै पोलेर घरखर्च चलाउने सोच बनाइन् । प्रति गोटा मकैबाट ५ देखि १० रुपैयाँ फाइदा हुन थाल्यो । छोराछोरी पनि हुर्किदै गए । मकै पोलेर बेच्ने कामले घर खर्च पनि सजिलै चल्न थाल्यो ।
अहिले सोवनालाई छोराछोरीको भविष्यप्रति चासो बढेको छ । ‘छोराछोरीको भविष्य सम्झेर गर्मीमा मकै पोल्दाको पीडा बिर्सिन्छुँ । मलाई पीडा भएपनि मेरा सन्तानले यस्तो दुःख कहिल्यै गर्न नपरोस्’ उनले भनिन्, ‘सिजनमा मकै सुर्खेतमै उत्पादन हुन्छ । त्यो बेला अलि बढी फाइदा हुन्छ । तर अफसिजनमा चितवन, दाङ, बर्दियाबाट मकै आउँदा फाइदा कम हुन्छ ।’ भाडाको घरमा बस्दै आएका सोवनाका परिवारले अब सुर्खेतमै जग्गा जोड्ने तयारी पनि गरेका छन् । गर्मीको मौसममा मकै पोल्नेको पीडा, केवल शारीरिक कष्ट मात्र नभएर, मानसिक र भावनात्मक पीडा समेत हो । तर यस्ता कुरालाई सोवनाले सजिलै पचाउने गरेकी छिन् ।
‘गर्मीमा काम गर्दा शरीरको पसिना अत्यधिक झर्छ । थकान र चिढचिढेपनाको पीडा भनिसाध्य छैन । तर पारिवारिक जिम्मेवारीको भार मैले पनि थाम्नुपर्छ,’ उनले भनिन्, ‘अब जुम्ला गएर काम गरी खान सकिँदैन । यहाँ श्रीमानलाई मात्रै कति दुःख गर्न लगाउनु । काम गर्न सकेको दिनसम्म मकै पोलेर बेच्न मलाई केही लाज छैन । मेरा लागि यही नै गर्वको पेशा हो ।’
कर्णाली प्रदेश सरकारले महिलाहरूलाई गरिबी र श्रमसँग जुध्न सजिलो बनाउनका लागि विभिन्न अनुदानका कार्यक्रमहरू सञ्चालन गरेको छ । तर सोवना जस्ताको जीवनस्तर सुधार्नेभन्दा बिचौलियाको हालिमुहाली हुनेगरी कार्यक्रम छनोट हुने गरेका छन् । महिलाहरूलाई एकत्रित गरी सहकार्य र सहकारी समूहहरू मार्फत आयआर्जनका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन सकेका छैनन् । नयाँ कृषि प्रविधिहरू र उपकरणहरू सोवनाजस्ता महिलाहरूले अनुदान पाउन सकेका छैनन् ।
कृषि प्रविधि र स्वास्थ्यसम्बन्धी प्रशिक्षणमा महिलाहरुलाई प्राथमिकता दिन जरुरी छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पनि आउँदै गरेकाले अब प्रदेश सरकारले सोवनाजस्ता मकै पोल्नुको विकल्प नभएका महिलाहरूका लागि विशेष नीति बनाउनुपर्छ । मकै पोल्ने काममा संलग्न महिलाहरूका लागि आर्थिक प्रोत्साहन, स्वास्थ्य संरक्षण योजनाहरू र सामाजिक सुरक्षाको व्यवस्था गर्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्