‘करिब ९० प्रतिशत मानिसहरू अहिले सर्प मार्नुहुन्न । मलाई फोन गरेर बोलाउनुहुन्छ । अझ किसान र चौधरी समुदायले पहिले पनि सर्प कम मार्थे । अहिलेपनि चार पाँच घण्टा ढिलो भएपनि सर्प नमारी कुरेर बस्नुहुन्छ,’ उनले भने ।
वीरेन्द्र जैसी । टीकापुर (कैलाली) ।
उनी जीव विज्ञानका विद्यार्थी । विज्ञानकै शिक्षक । तर, उनको त्यो भन्दा ठूलो सार्वजनिक परिचय छ सर्प उद्दारकर्ताको । २९ वर्षीय यी युवा आफ्नो यो परिचयमा गर्व महसुस गर्छन् । त्यसैले त सर्प उद्दारका लागि भनेर उनी कैलालीबाट सल्यानसम्म पुग्छन् । बाँकेसम्म पुग्छन् । मोबाइलमा ‘लौन सर्प समातिदिनुप¥यो’ भनेर फोन आउनेवित्तिकै उनी न राती भन्छन्, न दिन, न घाम न पानी ।
सर्प र मान्छे दुवैको जीवन बचाउने जोखिमले भरिएको सेवाकर्ममा समर्पित यी युवा हुन्, कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का लक्ष्मण उपाध्याय । सर्प प्रेममा परेका उपाध्यायले करिब तीन वर्षको अवधिमा दुई हजार दुई सय ५० बढी सर्पको ज्यान बचाइसकेका छन् । सर्पमात्रै बचाएका छैनन्, उनले मानिसहरूलाई विषालु सर्पको जोखिमबाट पनि बचाएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट जीव विज्ञानमा स्नानकोत्तर गरेका उपाध्यायले बाँदर र चरामाथि थेसिस लेखेका थिए । जनावरसँग उनको सानैदेखि प्रेम थियो । जीव विज्ञानको विद्यार्थी भएका कारण उनलाई धरतीमा मानिसले मात्रै एक्लो अस्तित्वको दाबी गर्न पाउँदैन भन्ने ज्ञान थियो । अरु जनावरजत्तिकै सर्पलाई पनि उनी प्रेम गर्थे । ‘तर सर्पसँग डर भने लाग्थ्यो । अहिले पनि डराउँछु,’ उनले भने ।
स्नातकोत्तर गरेर आफ्नो गृह नगर फर्किएपछि उनको ध्यान सडकमा मारेर फालिएका सर्पहरूतिर जान थाल्यो । ‘हुन त यो ठाउँ सर्पहरू धेरै पाइने ठाउँ हो । सर्पका कारण मानिसलाई जोखिम पनि छ । तर, सबै सर्प विषालु र हानिकारक हुँदैनन् । सर्प मानिसको शत्रु होइन । तर सडकमा सर्पहरू मारेर फालेको देखेपछि मलाई अब सर्प बचाउन केही गर्नुपर्छ भन्ने लाग्थ्यो,’ उनले भने ।
एक दिन एक जना चिनजानको व्यक्तिको घरमा सर्प देखियो । उनले सर्पलाई मार्न दिएनन् । डराई डराई सर्प समाते । त्यसपछि सुरक्षित स्थानमा छोडे । समातिसकेपछि थाहा भयो त्यो त विषालु प्रजातिको सर्प थियो । यससँगै उनलाई सर्पको उद्दारका लागि हिम्मत आयो । उनी सर्पको अध्ययनमा लागे । सर्पको जात चिन्नेदेखि तिनीहरूका बानीव्यहोरा सबै अध्ययन गरे । उद्दारको तरिका सिके । र सामाजिक सञ्जालमा सर्प उद्दार गर्नुपरे बोलाउनु भन्दै फोन नम्बर सार्वजनिक गरे । त्यसपछि त उनलाई कहाँ फुर्सद ? ‘कहिले क्लासमा पढाउँदा पढाउँदै फोन आउँछ । कुद्नुपर्छ । प्रिन्सिपल सरले पनि यस कामको महत्व बुझेर मलाई क्लास छोडेर जाने अनुमति दिनुभएको छ,’ उपाध्यायले भने ।
अहिले टीकापुर क्षेत्रमा सर्प मार्ने प्रवृत्ति कम भएको उपाध्यायको दाबी छ । ‘करिब ९० प्रतिशत मानिसहरू अहिले सर्प मार्नुहुन्न । मलाई फोन गरेर बोलाउनुहुन्छ । अझ किसान र चौधरी समुदायले पहिले पनि सर्प कम मार्थे । अहिलेपनि चार पाँच घण्टा ढिलो भएपनि सर्प नमारी कुरेर बस्नुहुन्छ,’ उनले भने ।
यसका साथै उनले चिकित्सकहरूसँग समन्वय गरी सर्पको डसाइमा परेका मानिसहरूको ज्यान बचाउन पनि काम गरेका छन् । टीकापुर अस्पतालमा सर्प टोकाइकै लागि विशेषज्ञ चिकित्सक छैनन् । तर, कोही व्यक्ति सर्प डसाइबाट उपचारमा आयो भने उनलाई बोलावट हुन्छ । ‘मैले टोकेको घाउ हेरेर सर्पको प्रजाति बताइदिन्छु । कतिले सर्प नै बोकेर ल्याएका हुन्छन् । जात बताइदियो भने उपचारमा सजिलो हुने रहेछ । त्यसकारण अस्पतालमा मैले पोष्टर नै टाँसेर जनचेतना जगाउने पर्यत्न गरेको छु,’ उपाध्याय भन्छन् । पछिल्लो केही वर्षयता टीकापुर क्षेत्रमा सर्प टोकाइबाट ज्यान गएको घटना नरहेको उनले बताए ।
सर्प उद्दार रहर गरेर र साहस गरेर मात्रै नहुने उनले बताए । ‘विशेष सावधानी अपनाइएन भने ज्यान जाने खतरा हुन्छ । त्यसैले यसका लागि गहिरो अध्ययन र तालिम चाहिन्छ । यही महसुस गरेर मैले जनचेतनामूलक तालिमका साथै उद्दारको तालिम पनि दिँदै आएको छु । केही भाइहरू सिकिराख्नुभएको छ,’ उपाध्यायले भने । उनी पछिल्लो समय सर्प मार्नुहुन्न भनेर आएको जागरणबाट खुसी छन् । ‘सर्पले वातावरणमा महत्वपूर्ण भूमिका खेल्छ । कति प्रजाति त कृषिका लागि फाइदाजनक समेत छन् । कति दुर्लभ छन् । त्यसकारण सर्पलाई मार्नुभन्दा सुरक्षित ठाउँमा पठाउनु मानवीय काम हो,’ उनले भने ।
उनले तराईमा पाइने प्रायः सबै जातका सर्पहरूको उद्दार गरिसकेको बताउँछन् । नेपालको पश्चिम क्षेत्रमा कम पाइने रसेल्स भाइपर प्रजातिको सर्प पनि उद्दार गरेको उनले बताए । यसरी सर्पको उद्दारमा खटिएका उपाध्यायले अब विद्यावारिधि नै सर्पमाथि गर्ने योजना बनाएका छन् । उनले भने, ‘विद्यावारिधि नै सर्पमाथि गर्छु भनेर लागेको छु । त्यसका लागि डाटा पनि संकलन गरिरहेको छु । हेरौँ, चाइनाबाट पिएचडीका लागि अप्लाई गर्ने सोचिरहेको छु ।’









प्रतिक्रिया दिनुहोस्