शिवु खनाल । दाङ ।
भौगोलिक रूपमा कोल्टो परेको गाउँ । सम्पर्कका हिसाबले नितान्त एकान्त ठाउँ । सबै तिरबाट अपायक पर्ने ठाउँमा रहेकै कारण जो कोही पुग्दैनन् भारतसँग सीमानाका जोडिएको दाङको सीमावर्ती क्षेत्रमा । नाकाबासी शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, यातायात, सञ्चार जस्ता आधारभूत आवश्यकतासँग जुधिरहेका छन् । भारतसँग सीमा जोडिएको दाङको सीमावर्ती क्षेत्रमा विशेषज्ञ सेवा नहुँदा बिरामी मारमा परेका छन् । बिरामी दिनहुँ उपचारका लागि भारतका नीजि अस्पताल धाउन बाध्य छन् ।
सामान्य उपचारका लागिसमेत बिरामी भारतीय अस्पताल जानुपर्ने अवस्था रहेको राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारा नाका निवासी संगिता रानाले बताइन् । ‘नाकामा विशेषज्ञ सेवा उपलब्ध छैन् । सामान्य समस्या हुँदापनि भारतीय अस्पतालको भर पर्नुपर्छ, उनले भनिन् ‘गाउँमा सामुदायिक स्वास्थ्य इकाई तथा बर्थिङ सेन्टर स्थापना भएपछि उपचारको लागि भारतीय अस्पताल जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिएका छाँै । गाउँमा सामुदायिक स्वास्थ्य इकाई तथा बर्थिङ सेन्टर नहुँदा भारतको विभिन्न अस्पतालहरूमा जाने गरिएको थियो । भारतमा महङ्गोमा उपचार गराउन बाध्य थियौँ ।’
राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारा नाकामा सामुदायिक स्वास्थ्य इकाई तथा बर्थिङ सेन्टर स्थापना गरिएको छ । राजपुर गाउँपालिकाको तीस प्रतिशत र छायाँ नेपालको सत्तरी प्रतिशत संयुक्त लगानीमा भारतसँग सीमानाका जोडिएको दाङको डगमारा नाकामा चारकोठे पक्की भवनसहितको सामुदायिक स्वास्थ्य इकाई तथा बर्थिङ सेन्टर स्थापना गरिएको राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकायले जानकारी दिए । यसअघि बाल ज्योति आधारभूत विद्यालयबाट सञ्चालन हुँदै आइरहेको उक्त स्वास्थ्य इकाईलाई छायाँ नेपालले राजपुर गाउँपालिकालाई हस्तान्तरण गरिसकेको छ ।
गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित डगमारा नाकामा सामुदायिक स्वास्थ्य इकाई तथा बर्थिङ सेन्टर स्थापना गरिएको स्वास्थ्य प्रमुख रोकालयले बताए । उनले सामान्य औषधिउपचार, नियमित खोप, परिवार नियोजन सेवा, पोषण कार्यक्रम, सुरक्षित मातृत्व सेवा लगायत विभिन्न सेवा यस स्वास्थ्य इकाईबाट प्रदान गरिनुका साथै सुनपत्थरी, सिउरेनि, गम्भिरा, डगमारा, छेक्रिया, गन्धैलानाका गरी दुईसय साठी घरधुरीले सेवा लिने बताए । उनले यसभन्दा अगाडी गर्भवती महिला सुत्केरी गराउनसमेत भारतीय अस्पताल जाने गरेको बताए ।
गाउँपालिकाले स्थानीयलाई लक्षित गरेर पालिकाका दुईवटा वडामा सामुदायिक स्वास्थ्य इकाई तथा बर्थिङ सेन्टर स्थापना गरिसकिएको र क्रमशः सबै वडामा सेवा पु¥याउने राजपुर गाउँपालिकाका अध्यक्ष शदरकुमार बुढाथोकीले बताए । ‘हाम्रो गाउँपालिका भौगोलिक रूपमा विकट छ,’ अध्यक्ष बुढाथोकीले भने, ‘यहाँका नागरिकलाई सामान्य स्वास्थ्योपचार पाउन मुस्किल छ । नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउन स्वास्थ्य इकाई स्थापना गरेर सेवाप्रवाह थालेका छौँ ।’
गाउँपालिकामा वडास्तरीय स्वास्थ्य चौकी भएपनि भौगोलिक विकटताका कारण सेवाप्रवाहमा समस्या देखिएपछि सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए । ‘गाउँपालिकामा नागरिकलाई स्वास्थ्य सेवाको अति नै समस्या छ,’ अध्यक्ष बुढाथोकीले भने, ‘भौगोलिक रूपमा निकै विकट नाकाक्षेत्र पनि छन् । जहाँबाट वडामा रहेको स्वास्थ्य चौकीमा पुग्न नै घण्टौँ हिँड्नुपर्ने अवस्था छ । नागरिकलाई सहज आधारभूत सेवा दिन हामीले पहल थालेका छौँ ।’ आफू निर्वाचित भएर आएपछि पहिलो कार्यकालमा आफैँले सुरु गरेका स्वास्थ्य, शिक्षासँगै सडक, विद्युत्, पूर्वाधारलगायतका विकास पूरा गर्न पुनः योजनाबद्ध काम सुरु गरेको बुढाथोकीले बताए । ‘योजनाको प्राथमिकता निर्धारण गरेर योजनाबद्ध विकासमा ध्यान दिएको छु, विशेषगरी राजपुरलाई कृषिको हब बनाउने योजनामा लागेको छु ।’ उनले भने ।
आपतकालीन अवस्थामा सामान्य प्राथमिक स्वास्थ्योपचार नपाउँदा सीमानाकामा अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेको राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवी यादवले बताइन् । सामान्य बाहेकका अन्य उपचार लिनका लागि भारत जानुपर्ने बाध्यता छ । ‘स्वास्थ्य इकाई तथा बर्थिङ सेन्टर स्थापनाले सहज सेवा भएको छ,’ उनले भनिन् ‘हामीले आधारभूत स्वास्थ्य सेवा पाउन नै कठिन थियो । सहरका अस्पताल पुग्न धेरै कठिन छ ।’
राजपुर गाउँपालिकाले वडा नम्बर ७ का नागरिकलाई सहज रूपमा स्वास्थ्यसँगै आधारभूत सेवा पु¥याउन भूमिका खेलिरहेको वडाध्यक्ष पुष्कर वलीले बताए । महिलाको स्वास्थ्यमा हुने समस्यालाई मध्यनजर गरेर पनि सामुदायिक स्वास्थ्य इकाई तथा बर्थिङ सेन्टर स्थापना गरेको उनको भनाइ छ । ‘वडा नम्बर ७ मा हामीले सेवा प्रवाहमा सहजता थप्ने गरी काम गरेका छौँ । राज्यले दिएको सेवा सुविधा जनस्तरमा पु¥याउन लागिपरेका छौँ,’ उनले भने ।
लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायातमन्त्री प्रचण्ड न्यौपानेले लुम्बिनी सरकार विकास र समृद्धिको यात्रामा अगाडि बढेको बताउँछन् । ‘लुम्बिनी प्रदेश सरकारले नागरिकले अनुभूति हुने गरी विकास निर्माणलाई अगाडि बढाइरहेको छ, निर्वाचनपछि जनताको आशा र अपेक्षाअनुसार कामगर्ने मेरो प्रयास निरन्तर छ’ मन्त्री न्यौपानेले भने, ‘दुर्गम स्थानीय तहमा कच्ची सडक पुगिसकेको छ, खानेपानीको समस्याबाट स्थानीय तहलाई मुक्त गर्न सामूहिक धारामार्फत भएपनि शुद्ध खानेपानीको पहुँच पु¥याउन लुम्बिनी प्रदेश सरकारको पहिलो प्राथामिकता रहेको छ ।’
उनले प्रत्येक स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल स्थापना गरी स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने लुम्बिनी प्रदेश सरकारले योजना अगाडि सारेको तर्क राख्दैँ विकट र दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य इकाईमार्फत सेवाप्रवाह गर्ने विषयमा सरकार गम्भीर रहेको बताए । बिहीबार राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारा नाकामा सामुदायिक स्वास्थ्य इकाई तथा बर्थिङ सेन्टर भवनको उद्घाटन गर्दै मन्त्री न्यौपानेले यस्तो बताएका हुन् ।
मन्त्री न्यौपानेले दशक अघिसम्म जिल्लाको सबैभन्दा दुर्गम मानिने राजपुर गाउँपालिका अन्तर्गत रहेको राष्ट्रिय गौरवको आयोजना पूर्व पश्चिम सीमा सडक जोडिएपछि यहाँ थुप्रै विकासका ढोका खुलेको बताए । उनले भने, ‘सीमा सडकसँग जोडिएपछि यहाँको विकासले गतिलिन थालेको छ । सीमा सडकले यहाँका सबै वडालाई जोडेकाले स्थानीयलाई आवतजावतमा सहज भएको छ ।’
‘हाम्रो लुम्बिनी प्रदेशमा पर्यटनको राम्रो सम्भावना छ । पर्यटकीय गन्तव्य उजागर गर्न प्रदेश सरकारले केन्द्र र स्थानीय सरकारसँग समन्वय गरिरहेको छ,’ मन्त्री न्यौपानेले भने, ‘प्रदेशका विभिन्न जिल्लासँग जोडिएका महत्वपूर्ण गन्तव्यको पहिचान र प्रचारप्रसार गरी पूर्वाधार निर्माण थालिएको छ । राष्ट्रिय गौरवको आयोजना सीमा सडक जोडिएपछि ओझेलमा परेका पर्यटकीय गन्तव्य पनि प्रचारमा आउन थालेका छन् ।’ जिल्लाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलको गुरुयोजना बनाउने र तिनीहरूको प्रचार र विकासका लागि लुम्बिनी प्रदेश सरकार योजनाबद्ध रूपमा लागेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्