सरकारी तथ्यांकले देखाएको जमिनमुनिको पानीको सतह घट्दो क्रममा रहेको अवस्थाको परिणाम उक्त पानीमा आधारित हातेपम्पहरू सुक्न थालेका छन् । पाइपको गहिराई बढाउनुपर्ने अवस्था आएको छ । गहिराई बढाउँदा पनि पानी नआउने भएपछि स्यालो ट्युवेल लगायतका मेसिनहरू जडान गरी पानी तान्ने उपाय अपनाउनु परिरहेको छ । तर, आर्थिक स्थितिले भ्याउनेहरू नागरिकहरूले समर्सवेल जडान गर्दा आर्थिक स्थिति कमजोर भएका नागरिक भने थप समस्यामा छन् ।
वीरेन्द्र जैसी/निशु जोशी । नेपालगन्ज ।
बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का विद्या चिडिमारले १० वर्षअघि करिब ६० लाख रूपैयाँमा एक कठ्ठा जग्गा किनेर घर बनाएका थिए । सुखले पक्की घरमा बस्ने सपना पूरा गर्न गाडी चालक पेशाबाट कमाएको र ऋण जोहो गरेर घर बनाएका चिडिमार अहिले तनावमा छन् । त्यो तनावको कारण पानीको संकट हो ।
घर बनाउँदाका बखत करिब एक सय २० फिट गहिराईको ह्याण्ड पम्प (नल्का) जडान गरेकोमा पाँच वर्षयता उक्त नल्काबाट सुख्खायाममा पानी नआउने गरेको चिडिमार बताउँछन् । उक्त समस्याबाट पार पाउन उनले घरकै अर्काे कुनामा अर्काे नल्का जडान गरे । तर उक्त नल्काबाट पनि पानी आएन् । अहिले उनको घरमा दुईवटा नल्का छन् । तर, दुवै नल्काबाट पानी आउँदैन् । इलेक्ट्रिक मोटरले तान्दा पनि एक बाल्टी भरिने पानी पनि मुस्किलले आउँछ ।
विद्याकै छिमेकी महेश डंगोलको घरमा त झन् हातेपम्पका तीनवटा पाइप जडान गरिएका छन् । तर, पानी भने आउँदैन् । चिडिमार र डंगोलको जस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का अधिकांश घरहरूमा एकभन्दा बढी नल्काहरू जडान गरिएका छन् । तर ती नल्काहरूबाट पानी आउँदैन् । चैत्रको सुरुवातदेखि नै यो समस्या सुरु हुन्छ । उखरमाउलो गर्मी हुने नेपालगन्जमा गर्मीको अवधिभरी यहाँका स्थानीयहरू पानीको संकट व्यहोरिरहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न स्थानहरूसँगै बाँकेका ग्रामीण क्षेत्रमा पनि यो समस्या बढ्दै गएको छ । बाँकेको बैजनाथ गाउँपालिकाको वनकटवामा टोलमा रहेका करिब ४०० घरमा प्रायः सबै घरहरूमा हातेपम्प भएपनि ९० प्रतिशत पप्पहरूमा पानी सुकेको छ । नयाँ नल्का जडान गर्दा पनि पानी आउँदैन् । वनकटवाकी सन्तरानी चौधरीले आफ्नो नल्कामा पानी नआउने भएपछि अलिअलि आउने छिमेकीको नल्काबाट सापट लिएर पिउने उद्देश्यका लागि जम्मा गरिराख्नका लागि सेकेण्ड ह्याण्ड फ्रिज किनेकी छन् । ‘नुहाउन, लुगा धुन कसको घरमा पानी छ, खोज्दै जानुपर्छ’ सन्तरानीले भनिन् ।
वनकटुवाका कृषक पतिराम थारू भन्छन्, ‘दिनभरी भैसी चराउछौँ, खेतिमा काम गर्छौ, साँझ नुहाउनुपर्छ, नल्काबाट खानेपानी नै आउँदैन् कहाँबाट नुहाउनु ।’ २०७८ सालको जनगणना अनुसार बाँकेमा ५०.९ प्रतिशत जनसङ्ख्याको खानेपानीको स्रोत हातेपम्प हो । पाइपमार्फत खानेपानीको धाराको पहुँच करिब १६ प्रतिशत रहेको छ । बाँकी अन्य स्रोतमा आश्रित छन् । नेपालगन्जमै पनि हातेपम्पबाट पानी नआउने अधिकांश क्षेत्रमा पाइपको पानी पुगेको छैन् ।
स्थानीयहरू पिउनका लागि जारको पानी किन्न त बाध्य छन् । सरसफाईका लागि समर्सवेल जडान गरेका वा पानी आउने नल्का भएका छिमेकीबाट सापटी मागेर संकट टार्नुपरिरहेको उनीहरू बताउँछन् । ‘आपतकालीन् अवस्थामा सरसफाईका लागि पनि पानी किन्नुपर्ने अवस्था छ,’ विद्या चिडिमारले मिसन टुडेसँग भने । नागरिकहरूले दैनिक जीवन नै प्रभावित गरिरहेको जमिनमुनिको पानीको संकटलाई पुष्टि गर्ने सरकारकै तथ्यांकले पनि भविष्यमा थप गम्भीर अवस्था आउन सक्ने संकेत गर्छ ।
उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जलस्रोत तथा सिँचाइ विभागले बाँकेका २ दर्जन बढी स्थानमा स्यालो ट्युवेल र डिप ट्युवेलमार्फत जमिनमुनिको पानीको अनुगमन गरिरहेको छ । उक्त अनुगमनको नतिजाबाट प्राप्त सन् २००१ देखि २०२३ सम्मको तथ्यांक हेर्दा पनि बाँकेका अधिकांश ठाउँमा जमिनमुनि पानी भेटिने गहिराई निरन्तर बढिरहेको देखाएको छ । यसको अर्थ जमिनमुनिको पानीको पानीको सतह घट्दै गएको छ ।
नेपालगन्जको भुजईगाउँमा रहेको स्यालो ट्युवेलमा सन् २०२१ मा सन् २००१ देखि २०१० सम्म पानी भेटिने औसत गहिराई तीन दशमलव १७ मिटर रहेकोमा सन् २०११ देखि २०२३ सम्मको औसत गहिराई बढेर तीन दशमलव ६७ मिटर पुगेको छ । उक्त स्थानमा सन् २०२१ को जुनमा तीन दशमलव ४५ मिटर गहिराई रहेकोमा सन् २०२२ को जुनमा चार दशमलव दुई मिटर र सन् २०२४ को जुनमा आठ दशमलव ८५ मिटरसम्म तल पुगेको रेकर्ड गरिएको छ ।
वनकटवामा रहेको ट्युवेलमा सन् २०२१ जुनमा सात दशमलव दुई मिटर, सन् २०२२ जुनमा सात दशमलव ४५ मिटर सन् २०२३ जुनमा सात दशमलव ८५ र सन् २०२४ जुनमा १३ दशमलव ६० मिटर तलसम्म पानी भेटिने गहिराई झरेको छ । बाँकेमा मात्रै नभै बर्दियाको बैसाहीमा पनि सन् २०२१ देखि २०२३ सम्मको जुन महिनामा मात्रै क्रमसः पाँच दशमलव एक, पाँच दवशमलव नौ, चार दशमलव ८ हुँदै सन् २०२४ को जुन महिनमा जमिनको सतहबाट पानी भेटिने तह आठ दशमलव ६ मिटर तल झरेको छ ।
यो सरकारी तथ्यांकले देखाएको जमिनमुनिको पानीको सतह घट्दो क्रममा रहेको अवस्थाको परिणाम उक्त पानीमा आधारित हातेपम्पहरू सुक्न थालेका छन् । पाइपको गहिराई बढाउनुपर्ने अवस्था आएको छ । गहिराई बढाउँदा पनि पानी नआउने भएपछि स्यालो ट्युवेल लगायतका मेसिनहरू जडान गरी पानी तान्ने उपाय अपनाउनु परिरहेको छ ।
बाँकेका वनकटवाका केही स्थानीयहरू मिलेर समर्सवेल जडान गरी पानीको जोहो गरिरहेका छन् । यस्तै अवस्था नेपालगन्जमा पनि छ । तर, आर्थिक स्थितिले भ्याउनेहरू नागरिकहरूले समर्सवेल जडान गर्दा आर्थिक स्थिति कमजोर भएका नागरिक भने थप समस्यामा छन् । किनकी समर्सवेल जडान गरिएका आसपासका नल्काहरूमा अलिअलि आउने पानी पनि ठप्प हुन थालेको छ ।
बस्ती बीचमा पानी उद्योग
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ बेलासपुरमा सिभिल प्रोसेसिङ इन्डष्ट्रिज प्रालिले पानी उद्योग सञ्चालन गरिरहेको छ । उक्त उद्योग परिपरिका बासिन्दाहरू उद्योग सञ्चालनमा आएपछि नै आफूहरूका हातेपम्पहरू सुकेका बताउँछन् । स्थानीयहरूले अहिले नल्का सुकेपछि सोही उद्योगबाट पानी किनेर प्रयोग गरिरहेका छन् । उद्योग छेउमै घर भएकी एक महिलाले भनिन्, ‘१० वर्षअघिसम्म कहिल्यै नल्का सुक्थेन । पछि बिस्तारै सुक्दै जान थाल्यो । अहिले त सुख्खा याममा पानी नै आउँदैन । खानेपानी त किनेर खाऔँला । सरसरफाई गर्ने पानी कसरी जोहो गर्ने ?’
नेपालगन्जमा मात्रै दुई दर्जनबढी पानी उद्योगहरू छन् । ती उद्योगहरू प्रायः बस्तीहरूको बीचमा छन् । त्यस्ता उद्योगहरूले जडान गरेका पानी तान्ने मोटरको मापदण्ड के कस्तो छ ? त्यसले कस्तो असर गरिरहेको छ ? कतैबाट अनुगमन भएको छैन् । त्यस्ता उद्योग आसपासका नागरिकहरू उद्योगहरू सञ्चालनमा आएयता नै आफनो नल्कामा पानी सुक्न थालेको बताउँछन् । यसका साथै धेरै पानी खपत गर्ने होटल वरपर पनि हाते पम्पहरू सुकेका छन् ।
यसरी उद्योगका कारण पानीको संकट भोगिरहेका क्षेत्रका नागरिकहरू उद्योगहरू बस्ती क्षेत्रबाट टाढा हुनुपर्ने बताउँछन् । बेलासपुरका स्थानीय विद्या चिडिमारले भने, ‘पानीको प्रयोगमा पहिला जनतालाई प्राथमिकता दिनुप¥र्यो । उद्योगहरू त बस्तीभन्दा अलि टाढा चलाए पनि त हुन्छ ।’
वरिष्ठ जलविज्ञ मनोज खतिवडा मुख्य गरी तीन वटा कारणले पानीको स्तर घटेको हुन सक्ने बताउँछन् । उनका अनुसार पहिलो कारण जलवायु परिवर्तनको असर हो । पहिले लामो समयसम्म निरन्तर पानी पथ्र्यो, अहिले छोटो समयमा धेरै पानी पर्छ भने कहिले लामो समयसम्म पानी नपर्ने समस्या छ । ‘लामो समयसम्म थोरै–थोरै पानी परेपनि रिचार्ज हुने क्रम बढ्छ । तर एकैचोटि धेरै पर्दा खोलानालामा बगेर जान्छ । यसले गर्दा जमिनले पानी सोस्न पाउँदैन्,’ खतिवडाले भने ।
दोस्रो कारण शहरीकरण बढ्दा रिचार्ज हुने जसमन घट्दै जानु रहेको उनले बताए । खतिवडाका अनुसार तेस्रो कारण भने पानीको अति दोहनसँग सम्बन्धित छ । उनले भने ‘पानी प्रयोग पहिलेको तुलनामा बढ्दैछ । जनसङ्ख्या बढ्नु र जीवनशैलीमा आएको परिवर्तनले पनि पानीको खपत बढेको छ ।’
खतिवडा पानीको सतह घट्नुका अरु कारणमा तत्काल केही गर्न नसकिए पनि पानीको दोहनमा निश्चित मापदण्ड कायम गर्न सकिने बताउँछन् । खतिवडा भन्छन्, ‘रिचार्ज एरिया प्रोटेक्ट गर्ने, भूजल प्रयोगमा लाइसेन्स र लिमिट तोक्ने हो भने क्षति कम गर्न सकिन्छ ।’ नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट पनि पछिल्ला केही वर्षयता नल्काहरू सुकेका गुनाहरू अत्याधिक आइरहेको बताउँछन् । उनले यसका कारणहरूमा प्रारम्भिकरूपमा बुझ्दा अनुमति नलिएरै जडान भएका समर्सवेल, पानी बढी खपत गर्ने उद्योग र होटल लगायत नै कारणको रूपमा देखिएको बताए ।
समर्सवेलका लागि उपमहानगरपालिकाले अनुमति नदिने गरेपनि नागरिकहरूले जडान गर्ने क्रम बढेको उनको भनाइ छ । यसका साथै जमिनमुनिको पानीको दोहनलाई व्यवस्थित गर्न उपमहानगरपालिकासँग कानुनी आधार नभएको महसुस भएपछि कार्यविधि बनाइन लागेको उनले बताए । ‘पानीको अति दोहनले गर्दा नै सहरी क्षेत्रमा यो समस्या आएको हो भन्ने देखिएको छ । धेरै वडाबाट अहिले नल्काहरू सुकेको गुनासो आएको छ । अहिलेसम्म हामीसँग यस विषयमा कुनै कानुनी आधार छैन् । त्यसकारण अनुगमन र नियन्त्रणको काम हुन सकेको छैन् । अब भने हामी यसका लागि छुट्टै कार्यविधि बनाउनेतर्फ अघि बढ्दै छौँ,’ नगर प्रमुख विष्टले मिसन टुडेसँग भने ।
प्रतिक्रिया दिनुहोस्