सीप र इच्छाशक्तिले सफल बनेकी अमृता



राप्ती सोनारी–६ की २७ वर्षीया अमृताकुमारी थारू ब्युटी पार्लर व्यवसायी हुन् । अपांगता भएकी व्यक्तिसमेत रहेकी अमृताको ११ महिनाको हुँदा दुर्घटनामा परेर बायाँ खुट्टा काट्नु परेको थियो । बैशाखीको सहायताले हिँड्डुल गर्ने उनी धेरैको लागि प्रेरणाको स्रोतको रूपमा रहेकी छन् । उनलाई राप्ती सोनारी गाउँपालिकाले स्थापना दिवसको अवसरमा युवा उद्यमीको रूपमा सम्मान गरेको छ ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

आज भन्दा २६ वर्ष अघिको कुरा हो, राप्ती सोनारी–६ का कोठीराम थारू सपरिवार मजदुरीका लागि भारत गएका थिए । रोजगार खोज्दै विदेशिएका उनले केही दिनमै काम पाए, मुर्गा (कुुखुरा) फर्ममा । उनको काम थियो, मेसिन सञ्चालन गर्ने । श्रीमतीपनि उनीसँगै थिइन् । भारतमै छोरी अमृताको जन्म भयो । श्रीमती अमृताको हेरचाह गर्थिन् । कोठीराम मुर्गा फर्ममा काम गर्थे । थारू परिवारको दैनिकी सामान्य रूपमा चलिरहेको थियो ।

तर, एकदिन कोठीराम परिवारमा अकल्पनीय घटना घट्यो । जुन घटना सम्झिँदा थारू अहिलेपनि भावुक हुन्छन् । त्यो अकल्पनीय घटनामा कोठीरामले आफ्नी छोरी त बचाउन सके तर, छोरीको खुट्टा बचाउन सकेनन् । कोठीरामका अनुसार उनी कामको खोजीमा भारत गएका थिए । अमृता त्यहीँ जन्मेकी हुन् । घटना हुँदा अमृता केवल ११ महिनाकी मात्रै थिइन् । उनले भने, ‘यो आजभन्दा २६ वर्ष अघिको कुरा हो । मेरो परिवार रोजगारीको लागि भारतमा गएको थियो । त्यहाँ मुर्गा फर्ममा काम गर्थेँ । मेरो काम मेसिनमा थियो ।’

सदा झैँ कोठीराम आफ्नो ड्युटीमै थिए । आफूहरुको बस्ने कोठासमेत मेसिन राखेको ठाउँ नजिकै भएका कारण भर्खर उभिन र हिँड्न कोशिस गर्न थालेकी अमृता पनि त्यहीँ लडिबडी गरिरहेकी हुन्थिन् । ‘एकदिनको कुरा हो, दिउँसो तीन बजेतिरको समय हो, म मेसिन चलाइरहेको थिएँ । एक्कासी चलिरहेको मेसिन रोकियो ।’ कोठीराम भन्छन् । के भएको रहेछ भनेर हेर्दा त आफ्नै ११ महिने छोरीको खुट्टा मेसिनमा चेपिएको देखेँ । त्यो दृष्य देख्दा आफ्नो होस नै गुमेको बताउँछन्, उनी ।

आफू कामतिर ध्यान दिइरहेकोले कति बेला चेपिएको हो पत्तै नपाएको उनको भनाइ छ । पछि मेसिन नै बन्द भएपछि थाहा भएको हो । त्यसपछि छोरीलाई उद्धार गरेर अस्पताल लगिएको उनले बताए । अस्पतालमा शल्यक्रियामार्फत अमृताको खुट्टा नै काटियो । दश दिनको सघन उपचारपछि छोरीलाई बचाउन सकिएपनि छोरीको बायाँ खुट्टा बचाउन नसकिएको कोठीरामको भनाइ छ ।

उद्धार गर्न धेरै समय लागेको र धेरै आइडिया लगाएर मेसिनबाट छोरीलाई निकाल्न सफल भएको उनी सम्झिन्छन् । छोरीको घटना भएको १५ दिनमै घरमा आमाको निधन भएपछि आफू घर फर्किएको कोठीरामको भनाइ छ । त्यसपछि आफू कहिल्यै भारत नफर्किएको उनले बताए ।

अहिले भने दुई दशक अघि मृत्युको मुखबाट फर्किएकी छोरीले गरेको प्रगतिप्रति उनी गर्व गर्छन् । छोरीको नामबाट आफू चिनिन पाउँदा आफूलाई भाग्यमानी महशुस भएको कोठीराम बताउँछन् । फागुन २७ गते राप्ती सोनारी गाउँपालिकाको आठौँ स्थापना दिवसको अवसरमा कोठीराम थारूकी छोरी अमृताकुमारी थारूलाई गाउँपालिकाले युवा उद्यमीको रूपमा सम्मान गरेको थियो । शारीरिकरूपमा अशक्त भएरपनि सीप र इच्छाशक्ति हुने हो भने सफल बन्न सकिन्छ भन्ने उदाहरण पेस गरेकी उनलाई स्थापना दिवसको अवसरमा दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेको हो ।

सम्मान कार्यक्रमपछि मिसन टुडेसँग कुराकानी गर्दै दुवैजनाले एकैस्वरमा भने ‘हामी त भुइँमान्छे हौँ । सकी नसकी आफ्नो कर्म गरिरहेका छौँ । हाम्रो कामको मूल्यांकन गर्दै गाउँपालिकाले सम्मान गरेको छ । हामी खुसी भएका छौँ ।’ सम्मानपछि अमृताले जीवनमै सबैभन्दा धेरै खुसी लागेको प्रतिक्रिया दिइन् । उनका अनुसार कर्म गर्नुपर्दो रहेछ । व्यक्ति, समाज र राज्यले राम्रो काम गरेकालाई सम्झिँदा रैछन् भन्ने आफूलाई लागेको अमृताले बताइन् ।

उनले भनिन्, ‘गाउँपालिकाले सम्मान गर्दा सुखी लागेको छ । भित्री मनदेखि खुसी छु । गाउँपालिकालाई धन्यवाद व्यक्त गर्दछु । आफू जस्तो मान्छेलाई दिवसको अवसरमा सम्मान गर्नेदेखि कृतज्ञ छु । सम्मान दिनुभयो यसैमा खुसी लागेको छ ।’ गाउँपालिकाको सम्मानले आफूलाई विराट समस्या र चूनौतीका बाबजुत व्यवसायमा सक्रिय हुन हौसला मिलेको उनको भनाइ थियो ।

२७ वर्षीय अमृता ब्युटी पार्लर व्यवसायी हुन् । उनी राप्ती सोनारी– ६ मा विगत ६ वर्षदेखि ब्युटी पार्लर व्यवसाय गर्दै आएकी छन् । व्यवसाय सुरु गर्नुभन्दा पहिला सीप सिकेर व्यवसाय थालेकी उनी सबैका लागि प्रेरणाको स्रोत हुन् । शारीरिक रूपमा अपांगता भएपनि व्यवसायसँग सम्बन्धित सीप र इच्छाशक्ति भए सफल भइन्छ भने उदाहरण पेस गरेकी छन्, उनले ।

उनको त्यही उदाहरणीय व्यक्तित्वकै कारण स्थानीय सरकारले सम्मान गरेको हो । स्थानीय सरकारको सम्मानले आफूलाई व्यवसायमा लाग्न झन प्रेरित गरेको उनले बताइन् । खासमा एउटा खुट्टा नभएकी आफ्नी छोरीलाई कम्प्युटर सिकाएर जागिरे होस् भन्ने इच्छा थियो कोठीरामको । त्यसको लागि उनले मजदुरी गरेरै छोरीलाई कम्प्युटरमा डिप्लोमा पढाए । उनले छोरीको जागिरको लागि राप्ती सोनारीका तत्कालीन अध्यक्ष लाहुराम थारूलाईसमेत भनेका थिए ।
उनले जागिरको आस्वासन त दिए तर,जागिर दिएनन् । बारम्बार भन्दापनि सुनुवाइ नहुँदा फेरि नफर्केको अमृताका बुबा कोठीराम बताउँछन् ।

यता, अमृता केही न केही व्यवसाय गर्ने सोचमा थिइन्, सुरूमा उनले पहिला बुवासँग सिलाइकटाई व्यवसाय गर्ने योजना सुनाइन् । त्यसका लागि केही समय तालिमसमेत लिइन् । तर, पछि ब्युटी पार्लरको तालिम नै लिएर व्यवसाय सुरु गरेको उनले बताइन् ।

व्यवसायबाट आफू सन्तुष्ट रहेको अमृताको भनाइ छ । ‘सीप र इच्छाशक्ति हुने हो भने सफल भइन्छ । थुपै्र चूनौतीकाबीच मैले आफ्नो व्यवसाय सञ्चालन गरिरहेको छु । मेरो परिवार र सबै साथी र समाजको साथ छ,’ उनले मिसन टुडेसँग भनिन् । कक्षा १२ सम्म अध्ययन गरेकी अमृता व्यवसायबाटै पहिचान बनाउने योजनामा छिन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत ३ गते आइतबार