छाडा पशुचौपाया बस्ने ग्रीनबेल्ट बन्यो फोटो जोन



मानिसहरूको बाक्लो चहलपलह । त्यसमा प्रायः अधिकांश समय भिड हुने ठाउँ मध्येको एक हो, कोहलपुर–११ स्थित न्यूरोड चोक । बेलाबखत आन्दोलन, आमसभा लगायतका कार्यक्रमहरू हुने चोक पछिल्लो समय फोटो हबका रूपमा विकसित हुँदै गएको छ । जहाँ अहिले दैनिक जसो चोकको ग्रीनबेल्टमा फोटो खिचाउन आउनेहरूको भिड लाग्ने गर्छ । छाडा पशुचौपाया बस्ने ग्रीनबेल्टमा अहिले फोटो खिचाइ माग्नेको लहर हुने गर्छ ।

गणेश रावत । कोहलपुर ।

कोहलपुर सहर । बाक्लो सवारी साधनको आवत जावत । सडकको बीचभागमा ग्रीनबेल्ट । ग्रीनबेल्ट भरी असोक लगायतका लहरै हरिया रूखहरू । मानिसहरूको बाक्लो चहलपलह । त्यसमा प्रायः अधिकांश समय भिड हुने ठाउँ मध्येको एक हो, कोहलपुर–११ स्थित न्यूरोड चोक । बेलाबखत आन्दोलन, आमसभा लगायतका कार्यक्रमहरू हुने चोक पछिल्लो समय फोटो हबका रूपमा विकसित हुँदै गएको छ ।

जहाँ अहिले दैनिक जसो चोकको ग्रीनबेल्टमा फोटो खिचाउन आउनेहरूको भिड लाग्ने गर्छ । छाडा पशुचौपाया बस्ने ग्रीनबेल्टमा अहिले फोटो खिचाइ माग्नेको लहर हुने गर्छ । हरेक दिन बिहान १० बज्ने वित्तिकै २० देखि २७ वर्ष उमेर समूहका पाँच जना युवाहरूको एक हुल आइपुग्छ न्यूरोडमा । हरेकका हातमा एउटा एउटा आफ्नै क्यामेरा । उनीहरूको दैनिकी नै फोटो भिडिओ खिचिदिएर बित्ने गर्छ ।

फोटो खिच्ने ठाउँका रूपमा सुरुवात गर्ने पहिलो व्यक्ति हुन्, कालिकोट घर भइ हाल कोहलपुर १ कौशिलानगर बस्ने २७ वर्षीय जीवन शाही । काठमाडौँका विभिन्न ठाउँहरूमा फोटोग्राफर भएर काम गरेका शाहीले कोहलपुर आएपछि खोटो खिचाउने लोकेशन खोज्न थाले । उनलाई उपयुक्त ठाउँ कोहलपुर न्यूरोड चोक लागेपछि उनले फोटो खिच्न सुरुवात गरे ।

‘मैले फोटोग्राफी सिकेँ, काठमाडौँ लगायत बाहिरी ठूला सहरहरूमा त्यहाँका पर्यटकीय र सुन्दर स्थलहरूमा हामी जस्तै व्यक्तिले क्यामेराले फोटो भिडिओ खिचेर आम्दानी गरेको देखेँ, ठूलो लगानी पनि नचाहिने, म कोहलपुर आइसकेपछि यहाँको लोकेसनले मेरो मन छोयो, उत्कृष्ट लोकेसन लाग्यो ।’ जीवन शाहीले भने, ‘त्यसपछि आजभन्दा लगभग ९-१० महिना अघि यो ठाउँमा क्यामेरा बोकेर आएँ, सुरुसुरुमा लाज पनि लाग्यो, सुरुका दिनमा दैनिक ५०÷६० रूपैयाँ आउँथ्यो, तरपनि काम गर्दै गएँ, अहिले दैनिक एक हजार देखि बाह्र सय रूपैयाँ आम्दानी भइरहेको छ ।’

‘अहिलेका युवाहरूले सीप सिक्दैनन्, कुनैपनि सीप हातमा भयो भने कसैसँग झुक्नुपर्दैन, माग्नुपर्दैन, सीप अनुसार दुःख गरे यहीँ बसेर मनग्गे आम्दानी गर्न सकिन्छ, अहिले त साहुसँग जग्गा धितोमा राख्यो, ऋण खोज्यो विदेश गयो, केही जनाको बाहेक विदेशमा पनि कसैको राम्रो भएको सुनिदैनँ ।’ शाहीले भने, ‘हातमा सीप भएपछि सानो र थोरै लगानीबाट आफ्नै ठाउँमा बसेर काम गर्दा पनि राम्रो आम्दानी गर्न सकिन्छ ।’

‘म यहाँ आएर जोडिएको २ हप्तामात्र भयो, सुरुमा जीवन दाईले एक्लै सुरु गर्नुभएको रहेछ, पछि फोटोग्राफीकै माध्यमबाट जोडिदै जाँदा अहिले हामी पाँच जना पुगेका छौँ, बिहान १०-११ बजेतिर हामी यहाँ पुग्छौँ, त्यसपछि दिनभर यो ठाउँमा भिडभाड हुन्छ, साँझ ६ बजेसम्म यहाँ फोटो खिच्छौँ, अत्यन्तै सुन्दर र हरियाली ठाउँ छ ।’ अर्का युवा यामबहादुर खत्रीले भने,‘अहिले कतै जागिरका लागि धाउनु परेको छैन, आफ्नो र परिवारको खर्च यहीँबाट जुटाइरहेका छौँ ।’

‘म पहिला काठमाडौँ बौद्धमा काम खोज्न गएको थिएँ, त्यहाँको एउटा पसलमा काम माग्न जाँदा साहुले तिमीले के काम गर्न जानेका छौ ? के सीप छ भेनर सोध्नुभयो, मसँग कुनै सीप थिएन, मैले भाँडा माझ्छु भनेँ, उहाँले १० हजार रूपैयाँ दिन्छु भन्नुभयो ।’ खत्रीले भने, ‘अनि मलाइ मान्छेसँग सीपको आवश्यकता हुँदो रहेछ भन्ने बुझेँ र एक जना दाइसँग फोटोग्राफी सिक्न थालेँ, पछि त्यही पसलका साहुले मलाई २८ हजार मासिक तलव पाउने गरी काम लगाइदिनुभयो, साँझ बिहान बौद्धमा फोटो खिच्न जान्थेँ, थप कमाइ हुन्थ्यो, अनि मात्रै मलाई सीपको महत्व थाहा भयो ।’

अर्का युवा प्रवेश चन्दले भने, ‘हामीले यहाँ रूपैयाँ पैसा मात्र नकमाएर यो ठाउँको प्रवद्र्धन पनि गरिरहेका छौँ, यो ठाउँलाई जताततै चिनाउने काम गरेका छौँ, यो ठाउँ फोटोग्राफीका लागि उचित स्थान छ, सुट गर्ने राम्रो ठाउँ छ, मानिसहरूको पनि ओहोरदोहोर र भिडभाड हुने गर्दछ, नगरपालिकाले यो ठाउँमा बस्नका लागि बेञ्च र फोहोर फाल्नका लागि डस्टिवन राखिदिए अत्यन्तै राम्रो हुनेथियो ।’

हाललाई यसरी काम गरेपनि भविष्यमा गएर वाइल्ड लाइफसम्म गर्ने आफ्नो धोको भएको सुनाउनुहुन्छ जीवन सञ्ज्याल । ‘अहिले यहाँ काम गरेपनि भविष्यमा वाइल्ड लाइससम्म काम गर्ने धोको छ, राम्रो फोटो स्टुडियो राखेर व्यावसायिक रूपमा यो कामलाई अगाडि बढाउने इच्छा छ ।’ उनले भने भने, ‘सोच्ने मानिसले त काम नपाएर पार्कपार्कमा क्यामेरा बोकेर हल्लिएका छन् भन्छन् पनि होला, तर फोटोग्राफीको सुरुवात नै स्टील फोटोबाट सुरुवात भएको हो, हामी काम गरेर खाने मान्छेलाई अरुले के सोच्छ त्यो तर्फ ध्यान दिँदैनौ ।’

फोटो खिच्ने मात्रै नभएर टिकटक बनाउने र भिडिओ खिच्ने विभिन्न उमेर समूहका मान्छेहरू आउने गरेको बताउछन् अर्का युवा मदन शर्मा । ‘हामीले फोटो मात्रै खिच्दैनौँ, यहाँ टिकटक बनाउने र भिडिओसमेत बनाउने मानिसहरू आउनुहुन्छ, एउटा फोटोको २० रूपैयाँ र टिकटक र भिडिओको ५० रूपैयाँ लिने गर्छौँ, खुसी भएर दिनुहुन्छ र जानुहुन्छ ।’ शर्माले भने, ‘फोटो, टिकटक र भिडिओ बनाउन बालबच्चादेखि वृद्धसम्मका व्यक्तिहरू आउनुहुन्छ, प्रायः गरेर युवाअवस्थाका युवायुवती नै आउने गर्नुहुन्छ ।’

उनीहरू सबैले भविष्यमा गएर वाइल्ड लाइफसम्मको काम गर्ने इच्छा रहेको बताए । बिहे, ब्रतबन्ध, पूजाआजा लगायतका कामहरूमा फोटो खिच्न र भिडिओ बनाउन माग आएपछि जाने समेत गरेको उनीहरूको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २३ गते शुक्रबार