हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डलाई फोरलेनको स्तरमा स्तरोन्नति गर्दा बाँके, बर्दिया जिल्लाका करिब पाँच सयभन्दा बढी नागरिकहरूले आफ्नो घर काटेर सडक विस्तारमा सघाएका छन् । तर, यो खण्डको सडक निर्माण गर्दा सहरी क्षेत्रका घरहरू जोगाएर ग्रामीण क्षेत्रका नागरिकहरूका घरमात्रै भत्काइएको छ । राज्यले एउटै सडकमा सहरी क्षेत्रका नागरिक र ग्रामीण क्षेत्रका नागरिकमा विभेद गरेको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ मानपुरका जगदीश यादवको पाँच कोठाको एक तले घर हुलाकी राजमार्ग फोरलेनमा अर्थात् ३० मिटरमा विस्तार गर्दा नामोनिसान नरहने गरी भत्काइयो । अहिले जगदीशको परिवार एक किलोमिटर पर रहेको अधुरो घरमा आश्रय लिइरहेको छ । उनका जेठा छोराको परिवार उक्त घर साँघुरो हुने भएपछि ससुरालीकहाँ आश्रय लिइरहेको छ ।
जानकी गाउँपालिकाकै छैलु सिंहको ३ कोठाको घरका दुईवटा कोठा सडक विस्तार गर्दा काटिए । छैलुले करिब ६ लाख रूपैयाँ खर्च गरेर काटिएको घर पछाडि अर्काे घर बनाउनुप¥यो । हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डलाई फोरलेनको स्तरमा स्तरोन्नति गर्दा बाँके, बर्दिया जिल्लाका करिब पाँच सयभन्दा बढी नागरिकहरूले यसैगरी आफ्नो घर काटेर सडक विस्तारमा सघाएका छन् । तर, यो खण्डको सडक निर्माण गर्दा सहरी क्षेत्रका घरहरू जोगाएर ग्रामीण क्षेत्रका नागरिकहरूका घरमात्रै भत्काइएको छ । राज्यले एउटै सडकमा सहरी क्षेत्रका नागरिक र ग्रामीण क्षेत्रका नागरिकमा विभेद गरेको छ ।
जगदीश बसिरहेको अधुरो घर सडकबाट तल छ । घर छेउमै एउटा नाला बग्छ । वर्षातमा पानी जमेर तालजस्तै बन्छ । ‘वर्षाभरी ज्यान जोगाउनै गाह्रो भयो । घर भत्काएपछि कि त अर्काे घर बनाउन सहयोग गर्नुपथ्र्याे । कि त अर्काे राम्रो ठाउँमा जग्गा दिनुपथ्र्याे । हामीमाथि अन्याय भएको छ बाबु,’ जगदीशकी श्रीमति मायादेवीले भनिन् ।
नेपालगन्ज–गुलरिया सडक खण्डलाई स्तरोन्नति गर्दा नेपालगन्जको धम्बोझी चोकदेखि खजुरा बजारसम्म चारलेन सडक निर्माण गरिने योजना थियो । तर, नेपालगन्जको आवादी क्षेत्र सुुरु हुने वडा नम्बर १ को नन्दनी मिलदेखि धम्बोझी चोकसम्म सडक विस्तारको काम नै गरिएन ।
नेपालगन्जको आवतजावतको केन्द्र हो धम्बोझी चोक । बघौडा र राप्तीसोनारीदेखि नेपालगन्जको पुष्पलाल चोकसम्म पुग्ने हुलाकी सडक धम्बोझी हुँदै बर्दियाको बाटो भएर पश्चिम जान्छ । तर, हुलाकी राजमार्गमा पर्ने पश्चिम नेपालको सबैभन्दा ठूलो सहर नेपालगन्जको केन्द्र स्थलमै सडक साँघुरै रहन दिइएको छ ।
यसका पछाडि एउटै कारण छ, धम्बोझी चोकदेखि नन्दनी मिलसम्म करिब दुई किलोमिटर सडक क्षेत्रमा पर्ने घर तथा संरचनाहरू जोगाउनु । यस्तो अवस्था आउनुमा नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र यस क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्ने सांसददेखि राजनीतिक दलहरूले आफ्ना मतदाता जोगाउन खोज्नु मुख्य कारण रहेको छ ।

जानकीका छैलु सिंह आफ्नो घर भत्केकोमा भन्दा पनि सरकारले एउटै सडकमा सहरी र ग्रामीण क्षेत्रका नागरिकबीच गरेको विभेदले दुःखित छन् । ‘हामीलाई घर भत्काउन लगाउँदा धम्बोझीदेखि यताका सबै सडक चौडा बनाउने हो भनिएको थियो । तर, अहिले नन्दनी मिलसम्म मात्रै सडक चौडा बनाइएको छ । हामी गाउँतिरकाको घर मात्रै किन भत्काएको ? नियम त सबैलाई बराबर होला नि १,’ छैलुले भने ।
अर्काेतिर नन्दनी मिलदेखि धम्बोझीसम्मको सडक चौडा नबनाइँदा अहिले उक्त खण्डबाट ठूला सवारी साधनहरू प्रहरी खटाएर डाइभर्ट गरी बाइपास सडकबाट कारकाँदो चोकतिर पठाउनुपर्ने अवस्था आएको छ । धम्बोझी चोकनजिकै नेपालगन्ज गुलरिया खण्डमा चल्ने सवारी साधनहरूले साँधुरो सडकमै यात्रु चढाउने र झार्ने गर्दा दुर्घटनाको जोखिम बढेको छ ।
तर, बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणा जनताका घर भत्काउने पक्षमा आफू नरहेको बताउँछन् । उनले भने, ‘बरु अहिलेकै सडकलाई कसरी राम्रो बनाउनेतिर ध्यान दिऔँ । तर घरै भत्काएर नागरिकलाई दुःख दिने पक्षमा म छैन ।’ यसले नेपालगन्जका पूर्व नगर प्रमुख समेत रहेका डा. राणा सडक विस्तारको पक्षमा छैनन् भन्ने स्पष्ट पारेको छ ।
हुलाकी सडक विस्तारको योजना सुरु हुँदा भौतिक पूर्वाधार विकासमन्त्री रहेका मो. इश्तियाक राई पनि सडक क्षेत्र खाली गराउने विषयमा स्थानीय सरकार र सांसदको भूमिका हुने बताउँछन् । तर, उनी आफैँले हुलाकी सडक योजनाको नन्दनी मिल नजिकैबाट शिलान्यास गरेका थिए । उनले त्यतिबेला कसरी नन्दनी मिललाई सुरु बिन्दु मानियो आफूले भन्न नसक्ने बताए । राईले मिसन टुडेसँग भने, ‘स्थानीय जनप्रतिनिधि र सांसदले सडक क्षेत्र खाली गराउन पहल लिएको भए सडक धम्बोझीसम्मै बन्ने थियो । उहाँहरूले खाली गराउन चाहनुभएन होला । मैले त सकेको प्रयास गरेको हो । काम पनि भएको छ ।’
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले भने सडकको अधिकार क्षेत्र खाली गराउने र भविष्यको पुस्ताका लागि सोचेर एकैपटक दीर्घकालीन विकास गर्ने पक्षमा आफू स्पष्ट रहेको बताए । बिष्टले भने, ‘सडक स्तरोन्नति सुरु हुँदा एक पक्षले हुलाकी सडक पुष्पलाल चोक, कारकाँदो चोक हुँदै बाइपासको बाटोबाट गुलरिया सडकमा जोड्नुपर्छ भनेका थिए । मैले जुन डिजाइनमा छ (धम्बोझी हुँदै) छ त्यही बाटोबाट बनाऔँ भनेको हुँ । के कारण त्यतिबेला भएन । अहिले पनि सडक क्षेत्र खाली गराउने पक्षमा म स्पष्ट छु ।’
धम्बोझी नन्दनी मिल खण्डका स्थानीयहरू पनि सरकारले इमानदार भएर काम गर्ने र दीर्घकालीन योजनासहित काम गर्ने भयो भने आफूहरू सहयोग गर्न तयार रहेको बताउँछन् । धम्बोझी चोक नजिकैका एक घरमालिक एवम् व्यापारी सम्भुराम ठठेरले आफूहरूले यसअघि दुईपटक संरचना भत्काइसकेको बताए । ‘पटक–पटक आउने भत्काउने । काम वर्षाैँसम्म पूरा नगर्ने । अधुरै छोड्ने गरेर दुःख मात्रै पाइएको छ । इमानदार भएर सधँैभरीका लागि पक्का काम गर्ने गरी आयो भने हामीले रोकेर रोकिन्छ र ?,’ ठठेरले भने ।
तर, हुलाकी सडक आयोजना कार्यालय नेपालगन्जका सूचना अधिकारी कृष्ण पाण्डे धम्बोझी चोक नजिकैका केही घरहरू भत्काउन समस्या हुने देखिएपछि पूरै योजना अघि बढ्न नरोकियोस् भन्ने हेतुले नन्दनी मिलबाट काम सुरु गरेको बताउँछन् । यसका साथै केही महिना पहिले मात्रै धम्बोझीदेखि जिल्ला प्रहरी कार्यालयसम्म अस्फाल्ट ओभरले गरिएकोले पनि तुरुन्तै भत्काउन उपयुक्त नदेखिएकोले नन्दनी मिलबाट सुरु गरेको उनले बताए ।
हुलाकी राजमार्ग स्तोन्नतिको योजनामै रहेको बेला अस्फाल्ट ओभरले गरिनुले पनि उक्त खण्डको सडक खण्डका घरहरू जोगाउने मनसायले काम गरेको देखिन्छ । उक्त ओभरले पनि आधा खण्डमा मात्रै गरेर झुक्याउने काम गरिएको छ ।
जहाँ बजार, त्यहाँ सडक खराब
नेपालगन्ज–गुलरिया हुलाकी सडक निर्माणको अवस्था हेर्दा जहाँ जहाँ बजार क्षेत्र छ त्यहाँ साँघुरो र खराब सडक छ । नेपालगन्जको पुष्पलाल चोकदेखि बसपार्क सडक पनि हुलाकी ३० मिटर चौडा बनाउनुपर्ने मापदण्ड छ । उक्त सडक विस्तार गर्दा पनि सडकको अधिकार क्षेत्र पूरै खाली गराउने विषयमा अवरोध भयो । त्यसमा तत्कालीन नगर प्रमुख धवलशमशेर राणाले जनतालाई दुःख दिन नहुने भन्दै २० मिटरमै सडक विस्तार गर्न लगाए ।
नेपालगन्जको धम्बोझी चोकदेखि नन्दनी मिलसम्म पनि सडक विस्तार गरिएन । उता बर्दियाको गुलरिया बजार क्षेत्रको पनि एक किलोमिटर बढी सडक विस्तार गर्न बाँकी छ । हुलाकी सडकमै पर्ने बाँकेको खजुरा बजार क्षेत्रको २ किलोमिटर सडक पनि हुलाकी सडक आयोजनाबाट अलग गरी सडक डिभिजनमार्फत काम अघि बढाइयो । जसमा ठेकेदारको लापरबाहीले सडक निकै कमसल बनेको छ भने बजारको मध्यभागमै रहेको पेडारी नालाको पूल बनाउने योजना सडकको ठेक्कामा समेटिएन ।
यसरी बजार क्षेत्रमै सडकको विस्तार नगरिनुका पछाडि सहरी क्षेत्रका घरहरू जोगाउने मनसाय लुकेको देखिन्छ । ग्रामीण क्षेत्रका घरहरू भत्काइँदा सहरी क्षेत्रका घरहरू भत्काउनु हुँदैन भन्नु अन्याय हुने खजुराका स्थानीय एवम् साइकल अभियन्ता शतिस निरौला बताउँछन् । उनले भने, ‘गाउँतिर एउटा मापदण्ड र सहरमा अर्काे मापदण्ड लागु गर्न मिल्दैन । सवारीको चापका हिसाबले पनि सडक विस्तारमा पहिलो प्राथमिकता सहरी क्षेत्रमा दिनुपर्छ ।’
पर्यटनकर्मी श्रीराम सिग्देल पनि जनताको नाम लिएर राज्यका कानुन र विधिको खिल्ली उडाउन नहुँने बताउँछन् । सिग्देलले मिसन टुडेसँग भने, ‘सडकको अधिकार क्षेत्र खाली गराएर सडक विस्तार गराउने कुरामा पहिलो प्राथमिकता विधिले पाउनुपर्छ । विधि सबैलाई बराबर लागु हुनुपर्छ । सडकको अधिकार क्षेत्र खाली गर्दा नागरिकको क्षति भएमा नियमाअनुसार मुआब्जा पनि दिनुपर्छ । तर, सार्वजनिक सडकलाई अतिक्रमित नै रहन दिनुपर्छ भन्ने कुरा गलत हो ।’
हुलाकी सडक आयोजना कार्यालय नेपालगन्जका सूचना अधिकारी कृष्ण पाण्डेले अब खजुरा बजार क्षेत्रको र गुलरिया बजार क्षेत्रको गरी करिब ८ किलोमिटर सडक चौडा बनाउन अलग्गै ठेक्का आह्वान हुनसक्ने बताउँछन् ।
‘त्यसका लागि पनि खजुराको सडकको विषय अदालतमा छ । त्यो टुंगिनुपर्छ । गुलरिया बजारमा पनि केही किलोमिटर बाँकी छ । २ किलोमिटर मात्रै गर्नुभन्दा एकैपटक आठ किलोमिटरको ठेक्का गर्दा राम्रो होला,’ पाण्डेले मिसन टुडेसँग भने । तर, यसका लागि केही वर्ष अझै कुर्नुपर्ने हुनसक्ने पाण्डेले बताए ।









प्रतिक्रिया दिनुहोस्