नेपाली कांग्रेस बाँकेको असल अभ्यास : सार्वजनिक गरिए जनप्रतिनिधिका प्रगति विवरण



बाँकेका ८ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा प्रमुख वा उपप्रमुखमध्ये कम्तिमा एकजना नेपाली कांग्रेस सम्बद्ध जनप्रतिनिधिहरू रहेका छन् । शुक्रबार नेपाली कांग्रेस बाँकेको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सम्बन्धित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले आफूले गरेका कामहरूको फेहरिस्त सार्वजनिक गरे भने पत्रकारहरूको प्रश्नहरूको सामना पनि गरे ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेका ८ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा प्रमुख वा उपप्रमुखमध्ये कम्तिमा एकजना नेपाली कांग्रेस सम्बद्ध जनप्रतिनिधिहरू रहेका छन् । ती स्थानीय तहमा २०७९ सालको निर्वाचन यता के–के कामहरू भए त ? यसको जवाफ नेपाली कांग्रेस बाँकेले मागेको छ । उक्त प्रश्नको जवाफ कांग्रेस बाँकेले पत्रकारहरूमाझ संयुक्तरूपमा सार्वजनिक गर्न लगाएको हो । बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र राप्ति सोनारी गाउँपालिकाले गरेका कामहरूको विवरण नेपाली कांग्रेस बाँकेले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न लगाएको हो ।

शुक्रबार नेपाली कांग्रेस बाँकेको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सम्बन्धित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले आफूले गरेका कामहरूको फेहरिस्त सार्वजनिक गरे भने पत्रकारहरूको प्रश्नहरूको सामना पनि गरे । यसलाई राजनीतिक दलले गर्नसक्ने असल अभ्यासको रूपमा लिन सकिने नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको बुझाई छ । ‘आफ्नो पार्टीले उम्मेद्वार बनाएर निर्वाचित भएका जनप्रतिनिधिबाट उनीहरूको कामको प्रगति मागेर जवाफदेहिता अभिवृद्धि गर्ने काम कुनै राजनीतिक दलले पहिलोपटक गरेको जस्तो मलाई लाग्छ । पत्रकारहरूमाझ कामको फेहरिस्त पेश गरेर जवाफदेही बनाउने जुन प्रयास भएको छ यो अरु राजनीतिक दलहरूका लागि पनि अनुकरणीय काम हो,’ गिरीले भने ।

प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगीले पनि जनप्रतिनिधि स्वंय जनताप्रति जवाफदेही नबनेको अवस्थामा सम्बन्धित दलहरूले जवाफदेही बनाउन हरेक दलहरूले चाल्ने कदमलाई सकारात्मक मान्नुपर्ने बताए । उनले भने, ‘अझ मिडियाको उपस्थितिमा गरिने छलफल त पारदर्शिताको लागि निकै राम्रो कुरा हो । तर यी सबै कुराले नतिजा दिनुपर्छ । कार्यक्रम ग¥यो, बिर्सियो भने अर्थ हुँदैन ।’

स्थानीय तहका जनप्रतिनिधिको कामको मूल्यांकनका लागि उक्त विवरण एक साधनको रूपमा रहने नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलले बताए । उनले पेश गरेको प्रगति विवरणको इमानदारिता र ती कामहरूको प्रभावकारिता परीक्षणको जिम्मा पत्रकार, राजनीतिक दल तथा नागरिकहरूको भएको गौडेलले बताए ।

गौडेलले आगामी दिनमा पनि जनप्रतिनिधिहरूलाई आफ्ना वाचा, प्रतिबद्धता र जनताका चासोलाई सम्बोधन गर्न पार्टीले झक्झक्याइरहने बताएका छन् । स्थानीय तहका जनप्रतिनिधिहरूले पेश गरेका कार्यप्रगति विवरणको फेहरिस्तमा अधिकांश कामहरू नियमित क्रियाकलापहरू रहेका छन् । बाटोघाटो निर्माण, भवन निर्माण, अनुदान वितरणको तथ्यांक आदिमै जनप्रतिनिधिहरूले प्रगति देखेको उनीहरूले प्रस्तुत गरेको विवरणमा देखिन्छ । उदाहरणीय र स्थानीय तहको आवश्यकतामा आधारित भएर योजना सञ्चालन गरेको देखिँदैन ।

नेपाली कांग्रेस बाँकेले स्थानीय निर्वाचनको बेला प्रस्तुत गरेको घोषणापत्रमा आवधिक योजना तथा गुरुयोजनाका आधारमा विकासका कामहरू अघि बढाइने भनिएको छ । तर, स्थानीय तहहरूले त्यस्तो खालको आवधिक योजना र गुरुयोजनाहरू निर्माण गरेको पाइएको छैन । जनप्रतिनिधिहरूले योजनाको प्रभावकारिताको तथ्यांक दिनुभन्दा पनि योजना सञ्चालन गर्नु नै उपलब्धि मानेको विवरणबाट देखिन्छ ।

अलमलिएको नेपालगन्ज

नेपालगन्ज उपमहानगरपालिकाले प्रस्तुत गरेको प्रगति विवरण हेर्दा स्थानीय तहका जनप्रतिनिधिहरू नै विकासका योजनाहरू सञ्चालनमै अलमलिएको प्रष्ट देखिन्छ । कुनै विशेष र दीर्घकालीन परियोजना सञ्चालनमा भन्दा केही भौतिक निर्माणका अधुरा योजनाहरू नै नेपालगन्जको प्रगति भएको रूपमा विवरण प्रस्तुत गरिएको छ ।

२०७९ सालमा निर्वाचित जनप्रतिनिधिहरूले त्यसभन्दा अघि निर्माण सम्पन्न भएका ल्याण्डफिल साइट निर्माण, बसपार्क, महेन्द्र पार्क, कान्तिताल, वाटरपार्क, रानीतलाउ पुननिर्माण र हाइमास्ट लाइट जडान लगायतका योजनालाई पनि आफ्नो उपलब्धिको रूपमा प्रस्तुत गरेका छन् । तर यसरी निर्माण गरिएको योजनाको संरक्षण नभएको विषयमा र त्यसबाट नागरिकले पाएको लाभको मूल्यांकनमा उपमहानगरपालिका मौन छ ।

नेपालगन्जको विकासको मोडेल पहिचानमै जनप्रतिनिधिहरू अलमलिँदा केही अपूरा योजना र नियमित कामहरूलाई नै प्रगति मानिरहेका विवरणबाट देखिन्छ । नेपालगन्ज उपमहानगरपालिकाले ८४ वटा नीति, ऐन, नियमावली, कार्यविधि र निर्देशिका बनाएको, १०८ फिटे हनुमान मुर्तिको पोडियमसम्म निर्माण भएको, पटकपटक म्याद थप्दा पनि निर्माण सम्पन्न नभएको बागेश्वरी मन्दिरको जुंगे महादेवको मन्दिर तथा पुल निर्माण अन्तिम चरणमा रहेकोलाई प्रगतिका रूपमा प्रस्तुत गरिएको छ ।

यसैगरी, स्पोर्टस् एकेडेमी निर्माण भएको, स्थानीय पाठ्यक्रम बनाइएको, लोकसेवा लगायतको तयारी कक्षा सञ्चालन गरिएको, ५०० जनाको मोतिबिन्दु अपरेशन गरिएको, इनारलाई दमकलमा पानी भर्न प्रयोग गरिएकोलाई पनि विवरणमा राखिएको छ ।

यसैगरी, घरमा डिजिटल नम्बरिङ गर्न थालिएको, फोहोरमैला बोक्ने ट्र्याक्टरमा जिपिएस जडान गरिएको, छाडा पशु चौपायालाई राप्तीसोनारीमा व्यवस्थापन गरिएकोलाई पनि नेपालगन्जका जनप्रतिनिधिले प्रगति मानेका छन् ।

तुलनात्मकरूपमा स्पष्ट कोहलपुर

स्थानीय तहका जनप्रतिनिधिहरूले पेश गरेको प्रगति विवरणलाई आधार मान्ने हो भने कोहलपुर नगरपालिकाले केही फरक र स्पष्ट योजनाहरू सञ्चालन गरेको देखिन्छ । कोहलपुरको जोड शिक्षा र खेलकुद विकासमा रहेको उसले प्रस्तुत गरेको प्रगति विवरणबाट देखिन्छ । कोहलपुर नगरपालिकाले परीक्षा प्रणालीलाई पारदर्शी बनाएको, विद्यालयमा इ–हाजिरी र सीसी क्यामेरा व्यवस्थापन गरेको भनेको छ । परीक्षा प्रणालीमा क्रमभंग नै भएको नगरपालिकाको दाबी छ । यसैगरी सामुदायिक विद्यालयहरूमा इन्टरनेट जडान गरिएकोलाई नगरपालिकाले प्रगति भनेको छ ।

यसैगरी, विद्यालयहरूमा विषयगत शिक्षकहरूको अभाव पूर्ति गर्न ४५ जना स्वयंसेवक शिक्षक नियुक्त गरिएको, १३ हजारमा निःशुल्क सिकलसेल स्क्रिनिङ गरिएको, सिकलसेल ल्याबसहितको युनिट सञ्चालनमा ल्याएको लगायतलाई पनि नगरपालिकाले प्रगतिको रूपमा प्रस्तुत गरेको छ । यसैगरी नगर अस्पतालमा स्वास्थ्य बीमाको सेवा सुरु गरिएको र अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी दिइएको छ ।

खेल क्षेत्रमा एक करोड बजेट छुट्याउने गरिएको, राष्ट्रपति रनिङ शिल्ड जितेको, खेलाडीहरूले प्रदेश र राष्ट्रियस्तरमा प्रतिनिधित्व गरेको, आधुनिक कभर्ड हल निर्माण अन्तिम चरणमा रहेको जनाइएको छ । नगर प्रहरी परिचालन गरिएको, २७ वटा ऐन, कार्यविधि तथा निर्देशिका बनाएको पनि नगरपालिकाले जानकारी दिएको छ । त्रिविको क्षेत्रीय कार्यालय, अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र र यातायातको सेवा केन्द्र, मालपोत, नापी र इलाका प्रशासन कार्यालय कोहलपुरमा विस्तार भएकोलाई पनि नगरपालिकाले प्रगतिका रूपमा मानेको छ ।

सडक निर्माणतर्फ ५ किलोमिटर पक्की र २० किलोमिटर ग्राभेल गरिएको, ७ किलोमिटर पक्की र १५ किलोमिटर कच्ची नाला निर्माण गरिएको कोहलपुरको प्रगति विवरणमा जनाइएको छ । १३ करोडको संघन सहरी विकास कार्यक्रम लागू भएको, राम माविमा व्यवसायिक भवन बन्न लागेको पनि विवरणमा उल्लेख छ भने ७२ स्थानमा सीसी क्यामेरा जडान र ८ हजार बिरुवाहरू रोपिएको कोहलपुरले तथ्यांक पेश गरेको छ ।

कोलपुरले ११ वडामा जग्गाको नापजाँच भएको र एउटा वडामा लालपुर्जा वितरणको तयारीमा रहेको जनाएको छ । तर, निर्माण भएका भ्यू टावर, बसपार्क लगायतका संरचना र पूर्वाधारको प्रभावकारी उपयोग र सञ्चालित कतिपय योजनाको उपलब्धिका विषयमा कोहलपुर पनि मौन छ ।

कृषिमा केन्द्रित बैजनाथ

बैजनाथ गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको उसको प्रगति विवरणबाट देखिन्छ । तर, सञ्चालित कार्यक्रमका लाभग्राहीको यकिन तथ्यांक विवरणमा दिएको छैन । कृषि एम्बुलेन्स सञ्चालन गरी ५० प्रतिशत अनुदानमा ढुवानी सेवा दिएको, कृषि हाटबजार निर्माण गरिएको, ७० प्रतिशत अनुदानमा कृषि यन्त्र, सिँचाइका साधन वितरण गरेको र किसान कल सेन्टर सञ्चालन गरिएको बैजनाथको विवरणमा उल्लेख छ । तर, कति जनाले यसको लाभ पाए उल्लेख गरिएको छैन ।

बैजनाथले तीन वटा एम्बुलेन्स थप गरेको, ‘ग’ वर्गका अपांगलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको, विद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गरिएको, परीक्षा केन्द्रहरूमा सीसी क्यामेरा जडान गरिएको, लालपुर खेलग्रामको डिपिआर तयार भएकोलाई प्रगति विवरणमा समेटेको छ ।

यसैगरी धारा वितरण, गाउँपालिका गान र लोगो निर्माण, मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि तारजाली निर्माण, परम्परागत पेशासम्बन्धि लगायतका शीपमूलक तालिम सञ्चालनलाई पनि प्रगति विवरणमा समेटेको छ ।
तर, सञ्चालित कार्यक्रमबाट भएको लाभको मूल्यांकन, गाउँपालिकामा रहेका अधुरा र अनुपयोगी संरचनाको बारेमा बैजनाथ गाउँपालिकाको प्रगति विवणमा पनि केही उल्लेख छैन ।

डुडुवाका फरक कार्यक्रम

डुडुवाले अन्य स्थनीय तहकोभन्दा केही फरक र नागरिकमुखी कार्यक्रम सञ्चालन गरेको उसले प्रस्तुत गरेको प्रगति विवरणबाट देखिन्छ । तर, अन्य स्थानीय तहजस्तै ती कार्यक्रमको प्रभावकारिताको विषयमा डुडुवा गाउँपालिकाले पनि केही खुलाएको छ । कार्यक्रमका शिर्षकहरूलाई नै राखेर डुडुवाले प्रगति विवरणको रूपमा पेश गरेको छ ।

डुडुवाले सञ्चालन गरेका अन्य स्थनीय तहको तुलनामा केही फरक रहेको योजनामा विपत्का बेलाका लागि ७ वटा आश्रय स्थल निर्माण, सामुदायिक भवन, घर घर निःशुल्क स्वास्थ्य सेवा, ४ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण ल्याब स्थापना, ज्येष्ठ नागरिक उपचार सहायता कार्यक्रम, कन्या मुद्दति योजना, बीउ भण्डार एवम् प्रशोधन केन्द्र निर्माण लगायत छन् ।

यसबाहेक डुडुवाले पशु नश्ल सुधार, कोल्ड स्टोर निर्माण, ३ वटा स्वास्थ्य केन्द्र निर्माण, ६० प्रतिशत सडक पिसिसी, बहुउदेश्यीय सभाहल, ४० वटा कानुन निर्माण, धारा वितरण, पिकनिक स्पोट निर्माण, कोसेली घर निर्माण, आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको पनि जनाएको छ । दूधको चिलिङ भ्याट अनुदानमा दिएको, स्थानीय तहको भवन बनाएको, छात्राहरूलाई साइकल वितरण गरिएको पनि डुडुवाले जनाएको छ ।

जानकीमा नियमित काम नै प्रगति

जानकी गाउँपालिकाले नियमित र माथिल्ला सरकारका योजनाहरूलाई नै प्रगतिका रूपमा उल्लेख गरेको छ । यद्यपि गाउँपालिकामा ताल संरक्षण, कन्या विद्यालय र स्कुल बस सञ्चालन गरिएको, अव्यवस्थित जग्गाको नापजाँच गरी निस्सा वितरण गरिएको, दाह संस्कारका लागि दाउरा वितरणलाई पनि प्रगति मानिएको छ ।

यसैगरी वृक्षारोपण, ३२ वटा बोरिङ जडान, एक सय ९५ बाख्रा वितरण, एक हजार एक सय ५० जना किसानलाई उन्नत बीउ, तीन हजार पाँच सयलाई बीउ किट वितरण, ६ सय जना कृषकलाई तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य, शिक्षा र कृषिमा राप्तीसोनारीको प्राथमिकता

बाँकेको राप्तीसोनारी गाउँपालिकाले राप्तीसोनारी अस्पतालमा एक्स रे सेवा सञ्चालन गरेको, आँखा उपचार केन्द्र सञ्चालन गरेको, दुईवटा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको, स्वास्थ्य केन्द्रबाटै १५ किसिमको रक्त परीक्षण सुरु गरेको जनाएको छ ।

यसैगरी पाँच वटा विद्यालय भवन निर्माण गरिएको, रंगशाला निर्माण, तीन हजार चौपायालाई व्यवस्थापन र प्रांगारिक मल उत्पादन सुरु गरेको जनाएको छ । राप्ती सोनारीले कृषि रणनीति योजना निर्माण, किसान सूचीकरण, कोल्ड स्टोर निर्माण, माटो परीक्षण ल्याब स्थापना, बीउ उत्पादनमा ५० प्रतिशत अनुदान दिँदै आएको जनाएको छ ।

यसैगरी ५२ परिवारका लागि घर निर्माण गरिररहेको र एक सय ६८ परिवारलाई निःशुल्क टिनको छाना उपलब्ध गराइएको पनि राप्तीसोनारीले जनाएको छ ।

अधुरा भौतिक योजनामै खजुरा

खजुरा गाउँपालिकाले प्रस्तुत गरेको प्रगति विवरणमा अधिकांशतः भौतिक योजना मात्रै समेटिएका छन् । जसमा बाटो निर्माण, पुल निर्माण, विद्युत पोल, हाइमास्ट लाइट, स्वास्थ्य चौकी, स्कुल भवन, कभर्ड हल निर्माण गरिरहेको जनाएको छ । तीमध्ये अधिकांश योजनाहरू निर्माणाधीन नै रहेका उल्लेख छन् । गाउँपालिकाको प्रशासनिक भवन नै अधुरो अवस्थामा छ ।

गाउँपालिकाले मन्दिर, मद्रसा, इदगाह निर्माणलाई पनि विवरणमा राखेको छ । ४३ वटा जीर्ण अवस्थाका भवन र दुई सय ५४ घरमा टिनको छाना लगाएको कार्यलाई पनि प्रगतिका रूपमा खजुराले राखेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन १० गते शनिबार