-नवीन अभिलाषी
के कविलाई पनि मान्छे भैरहनुपर्छ ?
यो प्रश्न सुनेपछि यतिबेला मलाई खलील जिब्रानको एउटा भनाई याद आईरहेछ, उनले भनेका छन्, ‘कवि त्यो व्यक्ति हो, जसले दुखाईलाई पनि सौन्दर्यमा बदल्न सक्छ ।’
त्यसपछि म अर्को चरणमा प्रवेश गरेर सोँच्न थाल्छु कि आजका कविहरुको दुखाई के हो ? उनीहरुलाई के कुराले दुख्नुपर्छ ? के आजका कविलाई जे कुराले दुख्नुपर्ने हो, ठिक त्यहि कुराले दुखिरहेछ ? किनकी कविता समाजको लागि नबोलिएको भाषा हो । त्यो भाषा ग्रहण गर्नका लागि एउटा मानिस मात्र मानिस भएर पुग्दैन । उसले कविमा रुपान्तरण हुनुपर्छ ।
कविता भावनाको अभिव्यक्ति हो, जसले समाज, प्रकृति, इतिहास र व्यक्तिगत अनुभूतिलाई शब्दमार्फत उजागर गर्छ । तर ती शब्दहरूको पछाडि एउटा संवेदनशील हृदय धड्किरहेको हुन्छ, जुन हृदयसँग गहिरो पीडा भोगेको अतित हुन्छ । कुनै पनि महान कवि केवल कल्पनाको संसारबाट मात्र निर्माण भएर आएको हुँदैन, ऊ आफ्ना अनुभव, संघर्ष, असफलता र पीडाबाट गुज्रिएर आउछ ।
एउटा कविसम्मको यात्रा निकै लामो ढुङ्ग्यानपूर्ण बाटो भएर आईपुगेको हुन्छ । त्यहि यात्राका क्रममा प्राप्त विचार र भावनात्मक उहापोहबाट नै उसले समातेको कलमलाई प्रेरणा प्राप्त हुन्छ र अमर सिर्जनाको उत्पन्न हुन्छ । माय एन्जेलोको भनाईलाई सुटुक्क सापटी लिएर भन्ने हो भने जब जब समाज अन्यायले भरिन्छ, कविता विद्रोह बन्छ, जब समाज प्रेमले भरिन्छ, कविता संगीत बन्छ । कविले आफ्नो शब्दबाट नै समयलाई परिवर्तन गर्ने क्षमता राख्छन् ।
के त्यसो भए कवि भैसकेपछि मानिस भैरहनुपर्छ ?
यसप्रश्नको उत्तर निर्माण गर्नुअघि कविको निर्माणका अवयवहरु केलाएर हेरौँ ।
कविको जीवन केवल सफलतामा मात्र मापन हुँदैन, सहजता र प्रशंसा वा ख्यातिबाट मात्र उसको उचाई निर्माण भएको हुँदैन । उसको विगतमा अनेकौं संघर्षका अध्यायहरू लेखिएका हुन्छन् । बाल्यकालको अभाव, पारिवारिक तनाव, समाजको तिरस्कार, प्रेममा विफलता, सामाजिक बहिष्कार र राजनीतिक दमनजस्ता असङख्य कारणहरूले एउटा मानिस कविको बाटोमा धकेलिन्छ ।
उसको मन आक्रान्त पारिएको छ, त्यहि आक्रान्त हृदयबाट उत्पन्न वैचारिक लय कविता भएर प्रस्फुटन हुन्छ । हरेक मानिसको वर्तमान अनुहार अतितले तय गर्छ । जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्ने अवसर विगतले नै दिन्छ । त्यहि दृष्टिकोण नै कविको अस्त्र हो, कविताको मस्तिष्क हो । रवीन्द्रनाथ ठाकुरले त्यसै भनेका होईनन्, ‘कविता भनेको भावना र विचारहरूको नृत्य हो ।’ उनले गिताञ्जलीमा जुन प्रकारले सौन्दर्यमा विचार समिश्रण गरे त्यो अदभूत रह्यो ।
धेरै कविहरूको जीवन नियाल्दा, उनीहरूका कवितामा दर्द, निराशा, सामाजिक अन्यायप्रति आक्रोश देख्न सकिन्छ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले बाँचेको आर्थिक र मानसिक संघर्ष कम विडम्बनापूर्ण थिएन । त्यसो त हुनी देशको मन्त्रीको उचाईसम्म पुगे तर उनको जीवनको उत्तरार्धमा गरिबी र अस्वस्थताका कारण जुन पीडा भोग्नुप¥यो ।
उनले सामाजिक रुपमा जस्ता लाञ्छनाको सामना गर्नुप¥यो, त्यहि र त्यस्तै पृष्ठभूमीबाट उनले ‘पागल’जस्ता कविताहरू लेख्दै आफ्नो अन्तरद्वन्द्व व्यक्त गरे । उर्दू र फारसी भाषाका महान कवि गालिबको कठिन जीवनका विषयमा सबैलाई थाहा छ । उनले गरिबी, ऋण र प्रियजनहरूको गुमाइको पीडाहरु जसरी झेले, त्यसैबाट निर्माण भएका हुन्, ‘दिल ही तो है न संग–ओ– खश्ति, दर्द से भर न आए क्यूँ ।’
के कवि गरिब, विपन्न र भोको नै हुनुपर्छ ? समाजका लागि यो निकै महत्वको प्रश्न हो । त्यसको जवाफ पनि निकै सुन्दर तरिकाले दिन सकिन्छ, भन्न सकिन्छ कि, हिमालको जति नै माथिल्लो खोँचबाट नदिले यात्रा आरम्भ गर्छ, त्यति नै टाढा पुग्ने शक्ति सञ्चय गर्दछ ।
प्रशंग अझै पनि कविको निर्माणकै । प्रेम कुनै पनि कविको लागि अमूल्य विषय हो । प्रेमले कविलाई उच्चतम आनन्द दिलाउन सक्छ, तर त्यही प्रेम जब विछोडमा परिणत हुन्छ, तब कविको हृदयमा असह्य वेदना उत्पन्न हुन्छ । यस पीडाले उसलाई अझ बढी सिर्जनशील बनाउँछ । प्रेममा विफल भएका धेरै कविहरूले यसै पीडालाई आफ्ना रचनाहरूमा ढालेका छन् । प्रेम, एक्लोपन, र क्रान्तिकारी भावना कवितामा प्रस्ट देखिन्छ पाब्लो नेरुदा । उनले त भनेका पनि छन्, ‘जहाँ शब्दहरू असफल हुन्छन्, त्यहाँ कविता जन्मन्छ ।’
कवि सबैभन्दा बढि राजनीतिक प्रजाति हो । शब्द छनौटदेखि भाषा निर्माण र भाष्यको बनोट तयार गर्नु पुरापुर राजनीतिक काम हो ।
कविले सत्य बोल्छ, अन्यायको विरोध गर्छ, र समाजका विकृतिहरूको निडर रूपमा चित्रण गर्छ । यसै कारण धेरै कविहरूले राजनीतिक उत्पीडन भोगेका छन् । नेपाली भूगोलमा पारिजातहरुले धेरै पटक जेलको हावा खानुप¥यो । तसलिमा नसरिनहरु देश छोडेर भाग्नुप¥यो । सलमान रुश्दीहरुले अहिले पनि चाकु खाएर चाकु लेखिरहेका छन् । विश्व साहित्यमा पाब्लो नेरुदा, नाजिम हिक्मत, अलेक्जेन्डर सोल्झेनेट्सिनजस्ता कविहरूले सत्ता र निरंकुशताविरुद्ध कलम उठाए । निरन्तर लेखे । उनीहरूको कविताले जनतालाई जागरुक बनायो तर उनीहरूलाई दमन गरियो । उनका विचारहरु मार्ने प्रयत्न भए ।
नेपालमा पनि विभिन्न समयमा कविहरूले राजनीतिक अन्याय भोगेका छन् । विशेष गरी पञ्चायतकालमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुँदा, धेरै कविहरूले जेलनेल भोग्नुप¥यो । कवि गोपाल प्रसाद रिमालले आमा त्यो आउछ र भनेर क्रान्तिकारी समय निर्माणमा भूमीका लेखे । उनीहरूको सिर्जना निषेधमा परे, तर उनीहरूको शब्दहरू मर्न सकेनन् ।
कवि केवल बाह्य संसारसँग मात्रै होइन, आफ्नो भित्री संसारसँग पनि लडिरहेको हुन्छ । ऊ आफ्ना भावनाहरूलाई शब्दमा रूपान्तरण गर्ने क्रममा मनोवैज्ञानिक द्वन्द्वबाट गुज्रिन्छ । अनेक विचार खेलाएर समाजमा अस्वभाविक मानिस कहलिन्छ, आत्मसम्मान र समाजको अपेक्षाबीच ऊ निरन्तर द्वन्द्वमा हुन्छ । भनिन्छ कवि हुनुभनेको बजारको चिन्ता लिएर आफ्नो घरका भित्ताहरु रातभर कोपार्नु हो ।
महाकवि देवकोटाले उहिल्यै पहिल्याएका थिए, ‘कवि समाजको दर्पण मात्र होइन, ऊ समाजलाई रूपान्तरण गर्ने शक्ति पनि हो ।’ त्यसैले कहिलेकाहीँ कविहरूलाई समाजले पागल भन्छ, किनकि उनीहरू अरूभन्दा फरक सोँच्दछन् । तर उनीहरूको पागलपन नै समाज परिवर्तनको बलियो आधार बन्न पुग्छ । अंग्रेजी साहित्यमा विलियम ब्लेकलाई समकालीनहरूले नै विक्षिप्त मानसिक समस्याग्रस्त मानिस ठाने, तर आज उनै एक महान कवि मानिन्छन् ।
कविका लागि पीडा भनेको केवल दुःख होइन; यो सिर्जनाको मूल स्रोत हो । एक सच्चा कविले आफ्नो भोगाइलाई केवल विलापको रूपमा नभई समाजका लागि चेतनामूलक सन्देशका रूपमा प्रस्तुत गर्छ । आफूलाई बलियो पार्ने कच्चा पदार्थका रुपमा ग्रहण गर्छ । उसले हरेक परिस्थितीको सामना गर्न तयार भएर बाँचेको हुन्छ । समाजमा भएका विभेद, अन्याय, गरिबी, उत्पीडन आदिलाई देखेर सबैभन्दा बढि कवि नै आह्लादित हुन्छ । कसैलाई कवि हुनु भनेको शब्द संयोजन मात्र हो भन्ने लाग्छ भने त्यो सबैभन्दा ठूलो भ्रम हो । कविको निर्माण केवल शब्दहरूको संयोजन मात्र होइन, उसको भोगाइ, संघर्ष, संवेदनशीलता र गहिरो अन्तर्दृष्टिको उपज हो ।
कविका लागि कुनै औपचारिक प्रशिक्षण उचाईसम्म आवश्यक नपर्न सक्छ, कवित्वको निर्माण उसको जीवनका विविध आयामहरूको गहिरो अनुभवबाट हुन्छ । त्योअनुभव प्रकृति, समाज, इतिहास, प्रेम, पीडा, राजनीति र आत्मसंघर्षबाट उत्पन्न हुन्छ । कविले सत्य बोल्छ, अन्यायको विरोध गर्छ र समाजका विकृतिहरूको निडर रूपमा चित्रण गर्छ । जो लाचार छ, लाछी छ, शोषक छ र सत्य लुकाउने जीव छ त्यसले कुन मानसिकताबाट लेख्न सक्छ कविता ? कुन अनुहार देखाउन सक्छ कविको रुपमा ?
के त्यसो भए कवि भैसकेपछि मानिस भैरहनुपर्छ ?
यतिञ्जेल यो आलेख पढिसकेपछि विवेकले भरिएको सचेत मानिसका लागि यो प्रश्न निकै पुरानो भैसक्यो । मानिसका रुपमा सम्पूर्ण दुखहरु पार गरेर, चिन्तनका सम्पूर्ण चक्रहरु चिरेर, अध्ययनका तमाम आधारहरु टेकेर उठेको प्राणी मात्रै कवि हुन्छ । अर्को कविको डाह सहन गर्न नसकेर लालचपूर्ण रहरले कोही कवि हुन खोज्दैमा कोही कवि भएको मानव इतिहासमा कुनै रेकर्ड छैन ।
त्यसैले त्यो कवि हो भने त्यस प्राणीलाई अब कुनै मानिस भएको प्रमाण देखाईरहनुपर्दैन ।
अन्त्यमा, कविको पीडादायी अतीतले नै उसलाई महान बनाउने हो । यदि उसको जीवन सुखमय मात्र हुन्थ्यो भने, उसले यथार्थवादी साहित्य सिर्जना गर्न सक्ने थिएन । कवि त्यति सस्तो हुदैन । उसका शब्दहरूले हामीलाई केवल मनोरञ्जन दिँदैनन्; ती कवितामा लुकेका विचारहरु हाम्रो चेतनामा घोचिन्छन्, प्रश्न गर्छन्, अनि परिवर्तनको लागि प्रेरित गर्छन् ।
यसरी हेर्दा, कवि समाजको यस्तो मानव प्रजाति हो जसले भोगेको पीडा केवल व्यक्तिगत नभई सामूहिक अनुभूति बन्न जान्छ । उसका शब्दहरू समयका सीमाभन्दा पर पुग्छन् र पुस्तौँ पुस्तासम्म जिउँदै रहन्छन् ।









प्रतिक्रिया दिनुहोस्