शरीर बन्धकसम्बन्धी कसुरमा पत्रकारसहित तीन पक्राउ



जनकपुर ।

पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा एक पत्रकारसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–६ का ४१ वर्षीय शेख सा महमद, पर्साको वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँका ३० वर्षीय सन्तोष दास तत्मा र सोही वडाको नगवाका ३१ वर्षीय हरिशंकर शर्मा रहेका छन् । यसमध्ये शर्मा पत्रकार हुन् ।

उनीहरूलाई आइतबार फिरौतीबापत ५० हजार रूपैयाँ लिँदै गरेको अवस्थामा इनर्वागाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए । पक्राउ परेकाहरूमाथि अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद पाइएको डीएसपी लम्सालले जानकारी दिए ।

यसमध्ये शेख सा महमद र सन्तोष दास तत्मा जेल जीवन बिताएर छुटेका व्यक्ति हुन् । प्रहरीका अनुसार उनीहरूको चिनजान जेलमै भएको थियो । दुवै जना फौजदारी मुद्दामा सजाय भुक्तान गर्न जेल परेका थिए ।

जेलमा एक जना नाइके र अर्को भाइ नाइकेका रूपमा रहेका थिए । त्यतिबेलै लेनदेनका विषयमा उनीहरूबीच विवाद भएको पाइएको छ । रौतहट घर भए पनि शेख सा वीरगन्जमै बस्दै आएका थिए । केही दिन पहिले शेख सा सामान किन्न भारत पुगेका थिए । सोही बेला सन्तोषको टोलीले उनलाई पिछा गरेको थियो । उनलाई भारतमै केही घण्टा बन्धक बनाएर राखेको खुलेको छ ।

त्यतिबेला शेख अपहरणकारीलाई चेक दिएर मोटरसाइकल र आफूसँग गएका साथीलाई उहीँ छोडेर नेपाल फर्किएका थिए । तर, चेक नसाटिएपछि अपहरणकारीले शेखलाई फोन गरेर नगदै मागेका थिए ।

‘मोटरसाइकल र साथीलाई फिर्ता लिने हो भने ५ लाख चाहियो भनेर सुरूमा भनेका रहेछन् । अन्तिममा ५० हजारमा डिल भएछ,’ डीएसपी लम्सालले भने, ‘पीडितले प्रहरीलाई खबर गरेपछि हामी फिरौती बुझाउने ठाउँ पुग्यौँ र उनीहरूलाई नियन्त्रणमा लिन सफल भयौँ ।’

प्रहरीले अपहरणमा प्रयोग गरेको मधेस प्रदेश ०३–०२५ प ३९८० नम्बरको निलो २२० सीसीको पल्सर मोटरसाइकल र रातो कालो रंगको बीआर०५एयू ९७४५ नम्बरको एनएस मोटरसाइकल बरामद गरेको छ ।

प्रकाशित मिति : २०८१ मंसिर ११ गते मंगलबार