बाँकेमा रहेको यस बालसुधार गृहको सञ्चालनमा राज्यको हेलचक्र्याइँ र कमजोरीका कारण त्यहाँ रहेका बालकहरू नै असुरक्षित छन् । पटक–पटक बन्दीहरूले आगजनी र तोडफोडमा उत्रिएर आतंक मच्चाउँदा बालकहरू त्रसित भएर बस्नु परिरहेको छ । विशेषगरी १८ वर्ष उमेर पूरा भइसकेका बन्दीहरूले पटक–पटक आतंक मच्चाउने र एकअर्काप्रति आक्रमणमा उत्रिने गरेका छन् ।
नेपालगन्ज ।
बाँकेको डुडुवा गाउँपालिकाको आसमानपुरमा रहेको जयन्दु बालसुधार गृहमा रहेका केही बालकहरूलाई अन्यत्र सार्न खोज्दा शनिबार दिनभर सुधार गृहमा तनाव सिर्जना भयो । बालसुधार गृहमा रहेका केही बालकहरूले एउटा गाडीमा तोडफोड गरे भने सुधार केन्द्र नै कब्जामा लिए । उनीहरूले प्रहरी र सुधार केन्द्र प्रमुखलगायत कर्मचारीलाई सुधार केन्द्रमा पस्न दिएनन् ।
केही बालकहरूले आफैँले झ्यालको काँचमा बजार्दा घाइते भए । उनीहरूले ह्यामर, पाइप, चिर्पटलगायतका घरेलु हतियार देखाउँदै जबरजस्ती गरे भने ग्यास सिलिन्डर विस्फोट गराइदिने धम्की दिएका थिए ।
त्यसपछि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइयो । नेपालगन्जबाट मात्रै नभई खजुराबाट समेत प्रहरीलाई डुडुवामा बोलाइएको थियो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी एवम् सहायक प्रमुख जिल्ला अधिकारी समेतले सम्झाइबुझाई गरेपछि अपरान्ह सुधार केन्द्रमा रहेका १४ जनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा सारेको छ ।
बालसुधार गृहमा रहेका बालकहरू दुई समूहमा विभाजित भएर एकअर्कालाई आक्रमण गर्ने अवस्था आएपछि उच्छृंखलता मच्चाउन खोज्ने केही बन्दीहरूलाई नौबस्तास्थित क्षेत्रीय कारागारमा स्थानान्तरण गर्न प्रहरी सुधार गृहमा पुगेको थियो । यसका साथै केही बालकहरूले पाइपलगायतका घरेलु हतियारहरू राखेको आशंकामा प्रहरीले खानतलासी गर्न खोजेको थियो ।
तर, केही बन्दीहरूले प्रहरीले आफूहरूसँग सल्लाह नै नगरी धरपकड गर्न खोजेको भन्दै तोडफोडमा उत्रिएका थिए । त्यसक्रममा बन्दीहरूलाई नै ओसारपसार गर्ने एउटा गाडीसहित केही झ्यालका काँचहरू तोडफोड गरिएको बालसुधार गृहका प्रमुख विमला काउचामगरले जानकारी दिइन् ।
सानो उमेरमै कानुनी विवादमा परेका बालबालिकालाई बन्दी अवस्थामा राखेर सीप र सकारात्मक व्यवहार सिकाएर समाजमा पुनस्र्थापित गराउने, शिक्षाको सुविधा दिनेलगायतका उद्देश्यले बालसुधार गृह बनाइएको हो । बाँकेमा रहेको यस बालसुधार गृहको सञ्चालनमा राज्यको हेलचक्र्याइँ र कमजोरीका कारण त्यहाँ रहेका बालकहरू नै असुरक्षित छन् ।
पटक–पटक बन्दीहरूले आगजनी र तोडफोडमा उत्रिएर आतंक मच्चाउँदा बालकहरू त्रसित भएर बस्नु परिरहेको बताउँछन् । विशेषगरी १८ वर्ष उमेर पूरा भइसकेका बन्दीहरूले पटक–पटक आतंक मच्चाउने र एकअर्काप्रति आक्रमणमा उत्रिने गरेका छन् ।
१८ वर्षभन्दा सानो उमेरमा कानुनी विवादमा परेका बालबालिकालाई १८ वर्ष पूरा भइसके पनि सजाय पूरा नहुन्जेल बालसुधार गृहमै राख्नुपर्ने व्यवस्थाका कारण उनीहरूले सानो उमेर बालबालिकामाथि अत्याचार गर्ने गरेका छन् । बालसुधार गृहमा हतियार र बर्दीसहितको प्रहरी राख्न नहुने कानुनी व्यवस्था छ । अहिले सुधार गृहमा १८ वर्ष पूरा भएका ८९ जना बालक रहेका छन् ।
२०८० साल असोज ४ गते उक्त बालसुधार गृहमा झडप हुँदा रूपन्देही घर भई बालसुधार गहृमा रहेका एक बालकको ज्यान गएको थियो । दुई जना बालक घाइते भएका थिए । यसका साथै बन्दीहरूलाई अन्यत्र सार्न खोज्दा जहिले पनि अवरोध गर्ने गरेका छन् । उनीहरूले पटक–पटक तोडफोडमा उत्रिएर प्रहरी प्रशासनलाई निरीह साबित गराइदिने गरेका छन् । शनिबार पनि प्रहरी त्यस्तै अवस्थामा देखिन्थ्यो ।
अर्काेतिर बालसुधार गृहमा व्यवस्था गर्नुपर्ने आधारभूत सुविधाको पनि व्यवस्था गरिएको छैन । उनीहरू सीप सिक्ने व्यवस्थादेखि उचित शिक्षाको अवसरबाट वञ्चित छन् । बरु सुधार गृहभित्रै लागूऔषधको पहुँच रहेको पाइएको छ । उनीहरूले लागूऔषध सेवन गरेर आतंक सिर्जना गर्ने गरेका छन् ।
बालसुधार गृहमा रहेका हाल २ सय ७० जना बालकमध्ये १ सय २४ जना पुर्पक्षकै क्रममा रहेका छन् । अर्थात् उनीहरू दोषी वा निर्दाेष किटान हुन बाँकी नै छ । यस्तो अवस्था सम्भावित निर्दाेष र सुध्रिन चाहने बालकहरू उच्छृंखल बन्दीहरूको दादागिरीका कारण झन् पीडित हुने र सुध्रने अवसरबाट विमुख हुने अवस्था छ ।
प्रतिक्रिया दिनुहोस्