मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन



काठमाडौँ ।

सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर १६ मा उपनिर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले आइतबार मात्रै सरकारलाई आगामी मंसिर १६ गते उपनिर्वाचन गर्नका लागि सुझाव दिएको थियो ।

उक्त सुझावअनुसार नै सरकारले निर्णय गरेको हो । निर्वाचन आयोगका अनुसार ३ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष र वडाध्यक्षसहित ३९ पद रिक्त छन् । काठमाडौँको कीर्तिपुर नगरपालिका, मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाका प्रमुख पद रिक्त रहेका छन् ।

दोलखाका गौरीशंगर, जाजरकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रिक्त छन् ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपप्रमुख भुपेन्द्रा बुढाको शुक्रबार मात्र सवारी दुर्घटनामा निधन भएको थियो । पद रिक्त भएको औपचारिक जानकारी आए त्यहाँ पनि मंसिर १६ मै उपचुनाव गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार हाल जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, वडाध्यक्ष १० तथा नगरपालिकाका मेयर १, उपमेयर १ र वडाध्यक्ष २१ गरी ४१ पद रिक्त रहेका छन् ।

प्रकाशित मिति : २०८१ भदौ ३१ गते सोमबार