दसैँअघि सडकका खाल्डा पुर्न मन्त्री दाहालको निर्देशन



काठमाडौँ ।

दसैँ, तिहार जस्ता चाडपर्वमा हुन सक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो देखाएको छ ।

चाडपर्वको समयमा काठमाडौँबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुने र त्यस्तो समयमा दुर्घटनाको समेत जोखिम उच्च हुने भएकाले नियन्त्रणका लागि मन्त्रालयले चासो देखाएको हो ।

आइतबार मन्त्रालयमा सरोकारवालाहरूबीच छलफल कार्यक्रम आयोजना गरिएको थियो । सो छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चाडपर्व सुरू हुनुअघि नै सडकका खाल्डा पुर्न निर्देशन दिएका थिए ।

जोखिम रहेका स्थानमा सडक सुरक्षाका पूर्वाधार निर्माण र मर्मत गर्न पनि उनले निर्देशन दिए । विभिन्न कारण दुर्घटना भइहाले उद्धार र अस्पतालसम्म पु¥याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह गरेका थिए ।

सडक सुरक्षाको दीर्घकालीन व्यवस्थापनका लागि नीतिगत र कानुनी व्यवस्था गर्न मन्त्रालयले अगुवाइ लिने भन्दै मन्त्री दाहालले सडक सुरक्षा परिषद्लाई क्रियाशील र प्रभावकारी बनाइने बताए ।

‘सुरक्षित सडक, चुस्त सवारी साधन, दक्ष चालक र सचेत यात्रुहरू भए मात्र सडक सुरक्षा कायम गर्न सकिन्छ । यसका लागि तीनै तहका सरकार र सम्बद्ध निकायबीच सहकार्यको खाँचो छ,’ उनले भने ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्वहरू नजिक आइरहेकाले सडक तथा सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २०८१ भदौ २४ गते सोमबार