मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवस मनाइरहँदा मानव बेचबिखनका घटनाहरू भने रोकिएका छैनन् । विभिन्न नाममा मानव बेचबिखनका घटना भइरहेका छन् । मानव बेचबिखनविरुद्ध काम गर्ने संस्था माइती नेपाल नेपालगन्जको गत आर्थिक वर्षको तथ्याङ्कले अहिले पनि दिनहुँ मानिसहरू हराउने गरेको देखाउँछ ।
नेपालगन्ज ।
युट्युब च्यानल ‘हेर्ने कथा’ले हराएका वर्षहरू शीर्षकमा डकुमेन्ट्री सार्वजनिक गरेपछि भोजपुरका प्रकाश तामाङ अहिले सामाजिक सञ्जालमा चर्चित छन् । आफ्नै देशको एक हिमाली भूभागमा तीन दशकदेखि हराएका प्रकाश डकुमेन्ट्री निर्माण गर्ने पत्रकारहरूको सहयोगमा परिवारसँग मिलन भएको दृश्यले धेरैलाई भावुक बनायो । तर, प्रकाशजस्तै हराएका अरू पनि व्यक्ति हुन सक्छन् भन्नेतिर भने चासो र चिन्ता कमै भइरहेको छ ।
आज मुुलकभरि मानव बेचबिखनविरुद्ध १८औँ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६४ सालदेखि नेपालमा सो दिवस मनाउन थालिएको हो ।
मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवस मनाइरहँदा मानव बेचबिखनका घटनाहरू भने रोकिएका छैनन् । विभिन्न नाममा मानव बेचबिखनका घटना भइरहेका छन् । मानव बेचबिखनविरुद्ध काम गर्ने संस्था माइती नेपाल नेपालगन्जको गत आर्थिक वर्षको तथ्याङ्कले अहिले पनि दिनहुँ मानिसहरू हराउने गरेको देखाउँछ ।
माइती नेपालका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ६ सय ८७ जना व्यक्तिहरू हराएको भन्दै निवेदन परेको थियो । तीमध्ये २ सय ९५ जनामात्रै फेला परेको तथ्याङ्क रहेको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले जानकारी दिए ।
बाँकी व्यक्तिहरू परिवारको सम्पर्कमा आएर खबर नगरिएको हुनसक्ने भए पनि अधिकांशको अवस्था अज्ञात छ । कोइरालाका अनुसार अधिकांश हराउनेहरू बालबालिका र किशोरकिशोरी नै छन् ।
बाँके प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्की मानव हराएका घटनाका सम्बन्धमा प्रहरी, संघसंस्था र परिवारको सहकार्यमा खोजी हुने गरेको बताउँछन् । तर, हराएको मानिस सम्पर्कमा नआएका खण्डमा प्रहरी र सम्बन्धित ठाउँमा जानकारी दिने प्रवृत्ति कम रहेको उनी बताउँछन् ।
बाँके प्रहरीमा गत तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्म गरी ४७ वटा मानव बेचबिखन विरुद्धका मुद्दा दर्ता भएका छन् । २०७८/८९ मा १७ वटा मुद्दा दर्ता भएकोमा त्यसपछिका वर्षमा समान १३ वटा र चालु आर्थिक वर्षको हालसम्म चारवटा मुद्दा दर्ता भएका छन् ।
तीमध्ये १० वटाबाहेक सबै मुद्दामा प्रहरीले अनुसन्धान गरी अदालतमा पेस गरिसकेको छ ।
एसपी कार्की मानव बेचबिखनका मुद्दाहरू दर्ता गर्दा नै आधारभूत सबुत प्रमाणलाई आधार बनाउने गरिएको बताउँछन् । कार्कीले बेचबिखनविरुद्ध सचेतनाका लागि प्रहरीले विभिन्न संघसंस्थाहरूसँग सहकार्य गरी काम गरिरहेको बताए ।
माइती नेपालले गत आर्थिक वर्ष २०८०/८१ मा बाँकेको जमुनाह नाकाबाट मानव बेचबिखनको जोखिमपूर्ण यात्रामा रहेका ५ सय २६ जना महिला तथा बालबालिकाहरूलाई सुरक्षित रूपले घर फर्काएको छ । माइती नेपालका अनुसार ती सबैलाई परिवारसँग पुनर्मिलन गराइएको छ । यसैगरी भारतका विभिन्न ठाउँबाट ९ जना महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगन्जले जनाएको छ ।
माइती नेपाल नेपालगन्जका प्रमुख कोइरालाका अनुसार पछिल्लो समय पढेलेखेका, आर्थिक रूपले सम्पन्न, महिला, पुरुष सबै तप्काका मानिसहरू मानव बेचबिखनमा परिरहेका छन् । जमुनाह नाकाबाट कामका लागि तेस्रो मुलुक जाने नाममा भारतको बाटो प्रयोग गर्दा पनि मानिसहरू मानव बेचबिखनमा परेका छन् ।
अर्काेतिर पैसाका लागि जस्तोसुकै काम गर्ने महत्वाकांक्षा र सामाजिक सञ्जालको दुरूपयोकर्ताको निशानामा पर्दा पनि मानिसहरू बेचबिखनमा पर्ने गरेको पाइएको छ ।
माइती नेपालले भारतमा बेचबिखनमा परेकाहरूलाई अपरेसन चलाएर उद्धार गरी ल्याउने गरेको छ । पछिल्लो समय माइती नेपालमा खाडी मुलुकबाट समेत आफू बेचबिखनमा परेको र उद्धार गरिदिन भन्दै निवेदनहरू आइरहेको कोइराला बताउँछन् ।
उनी भन्छन्, ‘हामीसँग खाडीमा गएर उद्धार गरी ल्याउने क्षमता छैन । राज्यले नै यसका लागि संयन्त्र बनाउनुपर्ने आवश्यकता देखिएको छ ।’
प्रतिक्रिया दिनुहोस्