कोहलपुर ।
राप्ती सोनारी गाउँपालिकाले बाल दिवसको अवसर पारेर भदौ २८ गते विद्यालयस्तरीय विभिन्न प्रतियोगिता आयोजना गर्ने भएको छ । आधारभूत तहका लागि हस्तलेखन र माध्यमिक तहका लागि चित्रकला प्रतियोगिताको आयोजना गर्न लागिएको राप्ती सोनारी गाउँपालिकाले जानकारी दिएको छ ।
पालिकाले एक सूचना प्रकाशित गरी भदौ २९ गते पर्ने बाल दिवसको अवसर पारेर २८ गते आयोजना गर्न लागिएको प्रतियोगितामा विद्यार्थीहरूको उल्लेख्य सहभागिताका लागि पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई आग्रह गरेको छ ।
विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्न यस किसिमको प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । भदौ २९ गते राष्ट्रिय रूपमा नै मनाइँदै आएको बाल दिवसका अवसरमा गाउँपालिकाले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धिका लागि प्रतियोगिता आयोजना गरेको गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत दानबहादुर ऐडीले जानकारी दिए ।
आधारभूत तहको हस्तलेखनका लागि बाल दिवसको विषय छनोट गरिएको छ । सो विषयमा सहभागी प्रतियोगीहरूले ४० मिनेटभित्र नेपाली र अंग्रेजी दुवै भाषामा कम्तीमा एक–एक पानामा बाल दिवसका बारेमा लेख्नुपर्ने सूचनामा जनाइएको छ ।
त्यसैगरी, माध्यमिक तहका लागि चित्रकला प्रतियोगिता राखिएको छ । जसमा सहभागीले बाल दिवसकै सन्दर्भका चित्र बनाउनुपर्नेछ । चित्र बनाउनका लागि आवश्यक पर्ने पेन्सिल, कलर जस्ता बस्तु स्वयम् सहभागीले नै व्यवस्था गर्नुपर्ने तर ड्रइङ पेपर भने गाउँपालिकाले उपलब्ध गराउने सूूचनामा जनाइएको छ ।
हस्तलेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार रूपैयाँ प्राप्त गर्नेछन् भने सान्त्वना पुरस्कार स्वरूप १ हजार रूपैयाँ प्रदान गरिने जनाइएको छ । त्यस्तै, चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्राप्त गर्नेछन् भने सान्त्वनाले २ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्