दसैँमा नयाँ नोट नपाइने



बाँके ।

नेपाल राष्ट्र बैंकले यस वर्ष दसैँतिहारमा नयाँ नोट बजारमा नपठाउने भएको छ । अघिल्ला वर्षहरूमा मुख्य चाडपर्वकै लागि भनेर तीन चार महिनाअघि नै नोट छपाइ गर्ने गरेको बैंकले यसपटक सो काम रोकेको हो ।

दसैँतिहार तथा छठमा बजारमा ठूलो परिमाणमा सुकिला (नयाँ) नोटको माग हुने भए पनि यसपटक काम चलाउन सक्ने पहिला नै छापिएका नोटहरूलाई प्रयोग गर्नेगरी रिप्रिन्टमा ध्यान नदिएको राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिए ।

‘कुनै पनि वर्ष राष्ट्र बैंकले दसैँतिहारकै लागि भनेर नयाँ नोट छाप्दैन । नोट छपाइको आफ्नै नीति अनि समय हुन्छ । ३ देखि ५ वर्षको अवधिमा कुनै अंकको नोट छाप्ने गरिन्छ । दसैँतिहारकै अघि नोट छाप्ने अनि रिसाइक्लिङ (पुनः छपाइ) हुनेहुँदा बजारले माग गरे अनुसारको सुकिला नोट पाउने गरेका थिए । तर यसपटक पुरानै नोटलाई निरन्तरता दिने नीति राष्ट्र बैंकले लिएको छ,’ उनले भने ।

पुराना नोट रिसाइकल छपाइ गर्दा खर्च आउने हुँदा पनि काम चल्नेसम्मका नोटहरूलाई प्रयोग गर्ने योजना बनाएको पोखरेलले जानकारी
दिए । जसले गर्दा यसपटक बजारमा नयाँ नोटको अभाव हुने भएको छ । सुकिला नोटको अभावलाई ध्यानमा राख्दै सकेसम्म पुरानै नोटबाट काम चलाउनसमेत उनले सबैमा आग्रह गरे ।

उनका अनुसार दसैँतिहार तथा छठ जस्ता मुख्य चाडपर्वको अवसरमा बजारमा ६० देखि ७० अर्ब रुपैयाँबराबरको सुकिला नयाँ नोटको माग हुने गर्दछ । जुन राष्ट्र बैंकले प्रत्येक महिना सार्वजनिक गर्ने गरेको क्यास सर्कुलेसन (नगद प्रवाह) रिपोर्टबाट पनि देखिन्छ ।

तुलनात्मक रूपमा अन्य समयभन्दा दसैँतिहारको समयमा बजारको क्यास सर्कुलेसन ६०–७० अर्ब बढीले बजारमा गएको देखिन्छ । तर, पछि सो पैसा बैंकिङ च्यानलमा नै फर्किन्छ । पछिल्लो समय बजारमा ६ खर्ब ६८ अर्ब रुपैयाँ हाराहारी क्यास सर्कुलेसन रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ भदौ १९ गते बुधबार