स्वास्थ्य कार्यालय बाँकेले नरैनापुरको गेग्ली गाउँमा झाडापखालाका कारण एक नाबालिकासहित तीन जनाको ज्यान गएको पुष्टि गरेको छ । तर, सोही गाउँकै १० वर्षीय बालकको मृत्यु भने झाडापखालासँग सम्बन्धित नरहेको कार्यालयले सोमबार साँझ जारी गरेको स्थलगत प्रतिवेदनमा उल्लेख गरेको छ ।
नेपालगन्ज ।
बाँकेको नरैनापुर गाउँपालिकामा झाडापखालाको संक्रमणबाट तीन जनाकोे ज्यान गएको पुष्टि भएको छ । ज्यान जानेमध्ये एक नाबालिका र एकजना ज्येष्ठ नागरिक समेत रहेका छन् । नरैनापुर गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने गेग्ली गाउँमा पेट दुख्ने, वान्ता र झाडापखाला भएर २६ वर्षीया उषा पासी र उनकी १२ महिनाकी छोरी नन्दनी पासीको ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेले सोमबार सार्वजनिक गरेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
यसैगरी ६० वर्षीया काम्ती पासीको पनि ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उनीहरूमध्ये उषाको मृत्यु भदौ ११ गते, नन्दनीको भदौ १६ गते र काम्तीको भदौ १४ गते मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले स्थलगत अनुगमनपछि जारी गरेको प्रतिवेदनमा उल्लेख छ । उनीहरू सबैलाई वान्ता र झाडापखाला भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
११ गते नै झाडापखाला भएपछि उषाको स्थानीय प्राइभेट क्लिनिकमा उपचार गरिएपनि सोहीदिन मृत्यु भएको थियो । तर, त्यसबारेमा गाउँपालिकाको स्वास्थ्य शाखाले १६ गते नन्दनीको मृत्यु भएपछि मात्रै जानकारी पाएको पाइएको छ ।
झाडापखालाबाट मृत्यु भएका भनिएका सोही ठाउँका १० वर्षीय बालक युसुफ अलि सेखको भने झाडापखालाका कारण मृत्यु नभएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कार्यालयले जारी गरेको प्रतिवेदनअनुसार युसुफमा भदौ ९ गतेबाट नै विभिन्न लक्षणहरू देखिएको थियो ।
उनको मृत्यु भने भदौ १२ गते भारत सरावस्तीको भिनगा बजारमा निजी क्लिनिकमा उपचार गर्न जाने क्रममा मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । मृतक युसुफमा ज्वरो, जोर्नी दुख्ने, शरिर दुख्ने, तल्लो खुट्टा नचल्ने लगायतका लक्षणहरू देखिएका थिए । उनको मृत्यु झाडापखालासँग सम्बन्धित नरहेको स्वास्थ्य कार्यालय बाँकेको प्रतिवेदनमा उल्लेख रहेको छ ।
उनीहरूको मृत्यु पहिला नै भएपनि आफूहरूलाई ढिलोगरी जानकारीमा आएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख नागेन्द्रकुमार शाहले जानकारी दिए । जानकारी आउनेबित्तिकै उक्त स्थानमा पुगेर आफूहरूले बुझ्दा थप दुईजना बालक झाडापखालाको लक्षणबाट संक्रमित भएको पाएपछि एकजनालाई अस्पताल पठाएको र एक जनालाई गाउँमै स्वास्थ्यकर्मीले उपचार गरेको उनले बताए ।
स्वास्थ्य कार्यालय बाँकेको प्रतिवेदनमा अहिले ६ जना व्यक्तिहरू झाडापखालाका बिरामीहरू रहेको उल्लेख छ । उनीहरू सबै छिमेकी दुई घरका व्यक्तिहरू हुन् । उनीहरूले प्रयोग गर्ने पानीको स्रोत एउटै ह्याण्डपम्प रहेको, स्रोत वरिपरि फोहोर रहेको र पानी जमेको अवस्था रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
वडा नम्बर ३ का अध्यक्ष अजयकुमार मिश्रका अनुसार तीन दिनको अवधिमा चार जनाको मृत्यु भएको थियो । अत्यन्तै छोटो अवधिमा उनीहरूको मृत्यु भएको बताउँदै उनले उनीहरूमा सुरुमा टाउको दुख्ने र पखाला लाग्ने भएको एक दिन नकट्दै मृत्यु भएको देखिएको बताए ।
उक्त स्थानका ज्वरो, रुघाखोकी लगायतका लक्षण भएका बिरामीहरू पनि भेटिएका स्वास्थ्य शाखाका प्रमुख नागेन्द्रकुमार शाह बताउँछन् ।
ती बिरामीहरूलाई गाउँमै पुगेको स्वास्थ्यकर्मीहरूको टोलीले उपचार गर्ने काम गरेको उनले बताए । स्थानीयहरूलाई सरसफाईमा ध्यान दिन, लक्षण देखिएमा उपचार गराइहाल्न र सावधानी अपनाउन आफूहरूले सचेतिकरण गरेको उनले जानकारी दिए ।
नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले अस्वच्छ पानीका कारण संक्रमण फैलिएको हुनसक्ने बताए । उनले भने, ‘गाउँमा सरसफाईको अवस्था पनि राम्रो छैन । वर्षाको बेला पनि भयो । पानीबाट पनि संक्रमण फैलियो कि भन्ने अनुमान गरेका छौँ ।’
पहिचान हुन नसकेको संक्रमण फैलिएको जानकारीमा आएपछि सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहितको टोली घटनास्थलमा संक्रमण फैलिएको गाउँ पुगेको थियो ।
मृतकहरू बिरामी भएको ढिलोगरी जानकारी भएको र उपचारमा पनि ढिलो पुगेका कारण ज्यान गएको पाइएको प्रजिअ रिजालले बताए । ‘समयमै उपचारमा आएको भए ज्यान बचाउन सकिने रहेछ,’ उनले भने । उनले संक्रमण फैलिएको स्थानमा गाउँपालिका र स्वास्थ्य कार्यालय बाँकेबाट स्वास्थ्यकर्मीको खटिएर संक्रमण नियन्त्रणको लागि प्रयास गरिरहेको बताए ।
उनले अवस्था नियन्त्रणमै रहेको जानकारी दिए । भेरी अस्पतालमा भर्ना भएका नरैनापुरका बालकमा हैजा संक्रमण पुष्टि भएको छैन । भेरी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाका अनुसार अस्पतालमा उक्त लक्षण भएका बिरामी आएमा हैजा संक्रमण भए नभएको परीक्षण गरिने गरेको र अहिलेसम्म हैजा संक्रमण पुष्टि नभएको जानकारी दिए ।
यस्तै घटनालगत्तै इपिडिमोलोजी तथा रोेग नियन्त्रण महाशाखाले अध्ययनका लागि स्थानीय स्वास्थ्य कार्यालय, स्थानीय निकायसँग सम्पर्क गरेको बताएको छ । सम्पर्कको क्रममा बिरामी सीमाना नजिकैको भारतीय अस्पतालमा उपचार भएकोले यकिन कारण थाहा हुन नसकेको महाशाखा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले जानकारी दिए ।
पौडेलले झाडापखालाका कारण यति छोटो अवधिमा मृत्यु हुनु नपर्ने भएपनि कारण भने यकिन हुन नसकेको उल्लेख गरे । झाडापखाला नै भए बिरामी भएको केही दिनपछि मात्रै उनीहरू चिकित्सकको सम्पर्कमा आएको हुन सक्ने उनको भनाइ छ । झाडापखाला या हैजा भएमा पनि पर्याप्त पानी पिउन पाएमा संक्रमितको मृत्यु छिटो नहुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्