ट्राफिक प्रहरी नसुध्रिए कारबाही हुन्छः प्रहरी महानिरीक्षक कुँवर



बुटवल ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ट्राफिक प्रहरीप्रति जनस्तरमा सबैभन्दा धेरै नकारात्मक टिप्पणी र गुनासा रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीको बुधबार नवनिर्मित भवन भैरहवामा उद्घाटन गर्दै उनले ट्राफिक प्रहरीप्रति जनस्तरमा सबैभन्दा धेरै नकारात्मक टिप्पणी र गुनासा रहेको भन्दै नसुध्रिए कारबाहीको भागिदार हुने बताएका हुन् ।

ट्राफिक प्रहरीमा १० वर्ष एउटै अफिसमा बस्ने प्रवृत्ति रहेको भन्दै अब यो स्वीकार्य नहुने उनको भनाइ थियो । ‘यो वा त्यो बहानामा कहिले एउटा ढोका कहिले अर्को ढोकामा काम गरेको अवस्था छ, यो भत्काउनुपर्छ,’ कुँवरले भने ।

रूपन्देही अन्तर्राष्ट्रिय पर्यटकीय स्थल भएकाले यहाँ हुने प्रहरीको व्यवहारले विश्वभर सन्देश जाने उनले बताए । रूपन्देहीमा पनि प्रहरीको व्यवहार आफूलाई चित्त नबुझेको भन्दै प्रहरी महानिरीक्षक कुँवरले राजस्व चुहावट भएकोमा असन्तुष्टि जनाएका थिए ।

उच्च पदस्थ प्रहरी अधिकारीहरूको बैंक खाता चेक गरिने उनले बताए । प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि बनेको र गुनासा आउने गरेकाले प्रहरी अधिकारीको बैंक खाता चेक गरी अनुचित आम्दानी गरेकालाई कारबाही गरिने उनले दाबी गरे ।

प्रहरीभित्र आन्तरिक शुद्धीकरणको अभियान अहिलेको मुख्य प्राथमिकतामा रहेको प्रहरी महानिरीक्षक कुँवरको भनाइ छ । ‘तपाईंहरू अर्थात् प्रहरी अधिकारीहरूको बैंक खाता चेक गरिँदैछ छिट्टै एक जना डीआईजी फस्दै हुनुहुन्छ,’ उनले भने ।

प्रकाशित मिति : २०८१ भदौ १३ गते बिहीबार