काठमाडौँ ।
काठमाडौँको टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूविरुद्ध युवाहरूले नाराबाजी गरेका छन् । गौरा पर्व मनाउने क्रममा मञ्चमा रहेका प्रधानमन्त्री केपी ओली शर्मा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताविरुद्ध नाराबाजी भएको हो ।
टुँडिखेलमा भएको गौरा पर्व विशेष कार्यक्रममा प्रधानमन्त्री ओली, कांग्रेस सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, भीम रावललगायत नेताहरू सहभागी थिए । युवाहरूको समूहले प्रधानमन्त्री ओली र देउवाको नाम नै लिएर नाराबाजी गरेका हुन् । नाराबाजी गरिरहेका युवाहरूले ‘ढुंगा हान, बालेन’लगायत शब्द पनि उच्चारण गरेका थिए ।
प्रधानमन्त्री ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताए । साथै कांग्रेस सभापति देउवाले दर्शकदीर्घाबाट हो–हल्ला भएपछि गौरा पर्वको कार्यक्रम बिथोल्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
‘तपाईंहरू जति कराउनुछ कराउनुस् । लाज पनि छैन गौरा पर्वको कार्यक्रम बिथोल्ने ?,’ देउवाले भने, ‘यही हो नेपालको चलन ?
बदमासहरू ।’ धेरै मानिस गौरा पर्व मनाउन र गौरा खेल्न टुँडिखेलमा आएको तर केहीले बिथोल्न खोजेकाले त्यसलाई जनताले ठिक पार्ने देउवाले बताए ।
प्रतिक्रिया दिनुहोस्