‘मासिक एक लाखभन्दा बढी तलब छाडेर स्वदेशमा कृषि पेसा अँगालेको हुँ । यहीँ नै लगनशील भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिँदो रहेछ,’ उनले भने । विदेशमा जति कमाइ भए पनि गाउँमै केही गरेर युवालाई उत्प्रेरणा दिन आफू विदेशबाट फर्केर कृषिमा लागेको जिसीले सुनाए । उनी संयुक्त अरब इमिरेट्सको दुबई अल्कुज कम्पनीमा पाँच वर्ष काम गरेर स्वदेश फर्किएका हुन् ।
प्युठान ।
पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उनले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानीसमेत लिइरहेका छन् । जिल्लामा किसान कृषिकर्ममा टिकेको पाइँदैन । केही त अनुदान लिएको अर्को वर्षदेखि नै फार्म बन्द गरेर विदेशिएका पनि छन् । तर जिसी भने प्रत्येक वर्ष नाफा वृद्धि गर्दै लैजाँदा खुसी छन् ।
‘मासिक एक लाखभन्दा बढी तलब छाडेर स्वदेशमा कृषि पेसा अँगालेको हुँ । यहीँ नै लगनशील भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिँदो रहेछ,’ उनले भने । विदेशमा जति कमाइ भए पनि गाउँमै केही गरेर युवालाई उत्प्रेरणा दिन आफू विदेशबाट फर्केर कृषिमा लागेको जिसीले सुनाए । उनी संयुक्त अरब इमिरेट्सको दुबई अल्कुज कम्पनीमा पाँच वर्ष काम गरेर स्वदेश फर्किएका हुन् ।
हजुरबुबाले तल्लो गेजवाङमा केही जग्गामा तरकारी खेती गरेको देख्दा आफ्नो बारीमा तरकारी फल्छ भन्ने लागेको सोही प्रेरणाले विदेशबाट फर्केर तरकारी खेती गर्ने योजना बुनेका थिए । जिसीको आठ रोपनी क्षेत्रफल भएको जग्गामा तरकारी खेती रहेको छ । यसमध्ये करिब तीन रोपनीमा पक्की टनेल निर्माण गरी बेमौसमी टमाटर खेती गरिएकामा टमाटरबाट एक याममा करिब तीन लाख बराबर बिक्री गरेका हुन् ।
श्रीमती हिमा केसी जिसीले गाउँकै आधारभूत तहको शिक्षण गरी बिहान बेलुका सघाएकी छन् भने स्थानीय चार महिलाले रोजगारी पाएका छन् । जिसी कृषि फार्मका रूपमा ५० हजारबाट बारीमा तरकारी खेती सुरु गरिएकोमा बर्सेनि आम्दानी वृद्धि गर्दै हाल आठ लाखको लगानी पुगेको छ । तरकारीबाट बर्सेनि उत्पादन र आम्दानी वृद्धि हुँदै गएपछि थप हौसला मिलेको उनले बताए ।
जिसी दम्पतीसहित बुबा, आमा, तीन छोरी गरी सात जनाको परिवार छ । ‘गत वर्ष सबै खर्च कटाएर वार्षिक ६ लाख नाफा भएको छ,’ जिसीले भने, ‘काममा स्वतन्त्रतासँगै मनग्य आम्दानी हुँदा विदेशभन्दा गाउँमा कृषि गर्नु धेरै राम्रो हो भन्ने लाग्दछ ।’ विसं २०७९ मा साढे चार लाख जति नाफा भएकोमा यस वर्ष टनेलमार्फत खेती गर्दा उत्पादनमा वृद्धि भएको छ ।
जिसीले टमाटर, भिन्डी र बोडी लगाएकोमा अब खुसार्नी र भेडेखुसार्नी लगाउन ब्याड तयार गरेका छन् । उनी आगामी वर्ष कम्तिमा सात लाख बचत हुनेगरी उत्पादनमा लागेका छन् । जिसीलाई दुई वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गर्दै आएको छ । गत वर्ष हाते ट्र्याक्टर अनुदानमा पाएका उनले यस वर्ष टनेलका लागि दुई लाख ७० हजार अनुदान पाएका छन् ।
जिल्लामा कृषि उत्पादनको बजारीकरणमा समस्या देखिए पनि जिसीले तरकारी व्यवसायीसँग प्रत्यक्ष कारोबार गर्ने हुँदा बजारको अभाव छैन । प्युठानका बिजुवार, बाग्दुला, क्वाडी, खलंगाका पसलमा तरकारी पुग्ने गरेको छ । तर हिउँदे सिजनमा तराईका तरकारीले बजार निर्धारण गर्ने हुँदा मूल्य नपाउने समस्या भने छ ।
स्थानीय सरकारले मूल्य निर्धारण गर्ने र बाह्य तरकारीलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई बजारीकरणमा सहयोग गरे किसानलाई मार नपर्ने उनको भनाइ छ । –रासस
प्रतिक्रिया दिनुहोस्