बर्दिया ।
बबई सिँचाइ आयोजनाको नहरमा डुबेर बर्दियामा एक किशोरको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–८ भगतपुरका १६ वर्षीय किशोर साहिल विकको नहरमा डुबेर मृत्यु भएको हो ।
सोमबार बेलुकी साथीहरूसँग नहरमा नुहाउन गएका उनी डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएका विकलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कतर्नियाको टोलीले नहरमा खोजी गर्दा राति करिब १० बजेतिर मृत फेला पारेको थियो ।
बेपत्ता भएको ठाउँबाट करिब ८ सय मिटर बगेर गएको बेलामा मृत अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । मृतक किशोर बारबर्दिया–८ औरिमा मामा घरको ६० वर्षीया हजुरआमासँग बस्दै आएका बताइएको छ ।
किशोरको शवलाई पोस्टमार्टम् पश्चात आफन्तको जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार
प्रतिक्रिया दिनुहोस्