नेपालबाट डेढ खर्ब बढीको पशुपन्छीजन्य बस्तु निर्यात



गत आवमा नेपालले १ खर्ब ५२ अर्ब ४० करोड रुपैयाँको पशुपन्छीजन्य पदार्थ निर्यात गरेको छ । जसमा माछा मासु, दूधजन्य पदार्थ, पशुपन्छीको खोप, ऊन, गलैँचा, छाला लगायतका बस्तु रहेका छन् ।

बाँके ।

गत आर्थिक वर्ष २०८०/०८१ मा नेपालबाट विभिन्न देशहरूमा डेढ खर्ब रुपैयाँभन्दा बढीको पशुपन्छीजन्य बस्तु निर्यात भएको छ । पशु सेवा विभागको तथ्यांकअनुसार आर्थिक वर्षमा नेपालले १ खर्ब ५२ अर्ब ४० करोड रुपैयाँको पशुपन्छीजन्य पदार्थ निर्यात गरेको थियो ।

जसमा माछा मासु, दूधजन्य पदार्थ, पशुपन्छीको खोप, ऊन, गलैँचा, छाला लगायतका बस्तु रहेको पशु सेवा विभागले जनाएको छ । पछिल्लो आवको अवधिमा मात्रै १० अर्ब ५७ करोडको नेपाली गलैँचा, ३ अर्ब २० करोडको छुर्पी, ४८ करोड २५ लाखको पशु बस्तुको छाला, ३ करोड रुपैयाँको भैँसीको मासु, २ करोड २४ लाखको नौनी, १ करोड ९६ लाखको घ्यु निर्यात भएको हो ।

पशु सेवा विभागका अनुसार सरकारले १८ करोड २९ लाख रुपैयाँको पशुजन्य खोप निर्यात गरेको थियो । नेपालको कुल निर्यातमा पशुपन्छी र पशुपन्छीजन्य पदार्थ निर्यातको योगदान १० दशमलव ५९ प्रतिशत रहेको छ ।

यसैबीच, सरकारले यस वर्ष यो निर्यातको दर अझ बढ्ने दाबी गरेको छ । पशु सेवा क्षेत्र प्राथमिकतामा राखेकाले आगामी वर्ष निर्यातको दर अझ बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बताए ।

यसैबिच, नेपालले नाफाको व्यापार गरिरहेका देशको सङ्ख्या घट्दै गएको छ । गत आर्थिक वर्षमा १ सय ७० वटा देशमा वैदेशिक व्यापार गरेको नेपालले जम्मा २० देशमा मात्रै नाफा कमाउन सकेको छ ।

आर्थिक वर्ष २०८९/०८० मा नेपालले ३५ वटा देशसँग नाफाको व्यापार गरेको थियो ।

भन्सार विभागका अनुसार डेनमार्क, अल्जेरिया, आइसल्यान्ड, किर्गिस्तान, अर्मेनिया, बहमास, माल्टा, माल्द्विप्स लगायतका देशसँगको व्यापार नाफामा छ । जसमा सबैभन्दा धेरै डेनमार्कसँग ४६ करोड ७५ लाख ७० हजार रुपैयाँ नाफा भएको छ ।

प्रकाशित मिति : २०८१ साउन २२ गते मंगलबार