दाङ ।
गढवा गाउँपालिका–४ का ५६ वर्षीय महाबुव अली मुसलमानले भैँसीको व्यापार गर्न थालेको ३२ वर्ष भयो । उनले हरेक वर्ष घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित कटुवाखोला किनारमा बिक्रीका लागि भैँसी ल्याउने गर्छन् ।
हरेक वर्ष जेठदेखि कार्तिकसम्म यहाँ भैँसी बिक्री गर्न आउने गरेको मुसलमानले बताए । ‘लामो समयदेखि भैँसी पालनसँगै व्यापार पनि गर्दै आएको छु । अहिले वार्षिक ३० देखि ३५ लाख रुपैयाँसम्म आम्दानी हुन्छ’, उनले भने, ‘घरमा पनि सधैँ दुई-चार वटा भैँसी भइरहने भएकाले दूध, दही बिक्रीबाट पनि आर्य आर्जनमा सहयोग पुगेको छ ।’
देउखुरी क्षेत्रबाट आफूसहित अन्य व्यापारीले पनि यहाँ दुहुना भैँसी बिक्रीका लागि ल्याउने गरेका मुसलमानले जानकारी दिए । कटुवा खोलाबाट एक सय रुपैयाँ प्रतिलिटरका दरले दैनिक दूधसमेत बिक्री गर्ने गरेको उनले बताए ।
अन्य समयमा भन्दा असार, साउनमा बढी भैँसी बिक्री हुँदै आएको मुसलमानको भनाइ छ । ‘यो वर्ष १२ वटा भैँसी बिक्री भइसकेका छन्’, उनले भने, ‘यहाँ ल्याइएका भैँसी बिक्री गरेर सकियो भने फेरि देउखुरी लिन जाने गर्छौँ । बुबाबाजेले गर्दै आएको भैँसीपालन पेसालाई निरन्तरता दिँदै आएका हौँ ।’
मुसलमानले एउटा भैँसीको ६० हजारदेखि दुई लाख रुपैयाँसम्म पर्ने बताए । उनका अनुसार कटुवाखोला किनारमा भैँसी किन्न दाङका साथै रोल्पा, प्युठान, सल्ल्यान, रुकुमलगायत जिल्लाबाट ग्राहक आउने गरेका छन् । वार्षिक ३० देखि ३५ लाख रुपैयाँसम्मको कारोबार हुने गरेको बताउँदै उनले सबै खर्च कटाएर पाँच लाख रुपैयाँ बढी आम्दानी हुने गरेको बताए ।
घरका अन्य सदस्यले घरपालुवा पशुको हेरचाह गर्ने मुसलमानको भनाइ छ । उनले छ महिना घरबाट र छ महिना घोराहीमा आएर भैँसी बेच्ने गर्ने गरेको सुनाए । दाङको गढवा गाउँपालिका–४ बाट मात्रै अहिले २० जना बढी व्यापारी घोराही आएर भैँसीको व्यापार गर्छन् ।
मुसलमानले ‘रोशनी पशु खरिद बिक्री केन्द्र तथा पशु फार्म’ दर्ता गरी भैँसीको व्यावसायिक व्यापार गर्दै आएका हुन् । लामो समयदेखि पशुपालन क्षेत्रमा लागेका उनले आयआर्जन राम्रो हुँदै गएको बताए ।
प्रतिक्रिया दिनुहोस्