नेपालगन्जमा यसवर्ष गाईजात्रा मनाइने



बाँके ।

नेपालगन्जमा बाँकेका नेवाः समुदायले यस वर्ष पनि गाईजात्रा (सापारु) पर्व मनाउने भएका छन् । नेवाः समुदायमा दिवंगत भएका सदस्यहरूको सम्झनामा मनाइने गाईजात्रा यस वर्ष पनि नेपालगन्जमा मनाइने तयारी गरिएको हो ।

शनिबार बसेको नेवाःपुच बाँकेको कार्यसमिति बैठकले गाईजात्रा अर्थात् सापारु धुमधामका साथ मनाउने निर्णय गरेको नेवाःपुच बाँकेका सचिव विवेक कुमार श्रेष्ठले जानकारी दिए ।

नेवाःपुच बाँकेका अध्यक्ष जितेन्द्र कुमार जोशीको अध्यक्षतामा बसेको बैठकले नेपालगन्जमा गाईजात्रा पर्वलाई भव्य बनाउन बाँके जिल्लाका सम्पूर्ण नेवाः गुठी, खलः, पुच तथा नेवाः संघ संस्थासँग सहकार्यका लागि आग्रह गर्ने निर्णय समेत गरेको छ ।

बैठकले गाईजात्रा पर्व भव्य रूपमा सम्पन्न गर्न नेवाःपुच बाँकेका उपाध्यक्ष हरिश चन्द्र श्रेष्ठलाई संयोजक तोकेको छ । बाँके जिल्लामा नेवाः समुदायबाट अघिल्लो गाईजात्रा यता दिवंगत भएका परिवारलाई गाईजात्रा पर्व मनाउन नेवाः पुच वा आफूलाई सम्पर्क गर्न संयोजक श्रेष्ठले आग्रह गरे ।

नेपाली पञ्चाङ्ग पात्रो अनुसार यस वर्ष भदौ ४ गते मंगलबार गाईजात्रा (सापारु) परेको छ । यो नेवाः संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाइजात्रा व्यङ्गय गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् । यस दिन भजन कीर्तन पनि गरिन्छ ।

यो जात्रा नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको यो पर्व नेवाः समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतबार