बाँसगढी ।
बाँसगढी नगरपालिकाले ५० प्रतिशत अनुदानमा ३४ जना किसानहरूलाई मिनी टिलर र धान काट्ने मेशिन वितरण गरेको छ ।
यान्त्रिकरणमार्फत कृषि पेसालाई सहज बनाउने उद्देश्यका साथ किसानलाई मिनी अनुदानमा मिनी टिलर वितरण गरिएको नगरप्रमुख खड्कबहादुर खड्काले जानकारी दिए ।
४९ हजार ९ सय ७५ मूल्य पर्ने मिनी टिलरलाई अनुदानमा उपलब्ध गराउँदा किसानलाई २४ हजार ९ सय ८७ परेको उनले बताए । उनका अनुसार पछिल्लो समयमा किसानले रागा, गोरु पाल्न छाड्दै गएका छन् । जोत्नका लागि प्रयोग गरिने राँगा, गोरु पाल्न छाडेपछि खेतीपातीमा समस्या हुँदा खेतबारी बाँझै हुने अवस्थामा पुगेको नगर प्रमुख खड्काले दाबी गरे ।
‘खेतबारी बाँझो हुन नदिन र किसानलाई खेतीपातीतिर उत्साहित गर्न पालिकाले अनुदानमा मिनी टिलर वितरण गरेको हो’ उनले भने, ‘परम्परागतभन्दा यान्त्रिक उपकरणले खेतबारी खनजोत गर्दा कम लागत पर्ने र छिटो–छरितो हुने भएकाले किसानको मागअनुसार मिनी टिलर वितरण गरेका हौं ।’
१ सय ७४ जना किसानले मिनी टिलर माग गरे पनि पर्याप्त बजेट नभएकाले ३४ जनालाई मात्र वितरण गर्न सकिएको कृषि शाखा प्रमुख लालबहादुर खड्काले जानकारी दिए । अन्यहरूलाई क्रमश वितरण गरिने बाँसगढी नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्