पश्चिमबाट बहने हावाले छेकिदिँदा मनसुनी प्रणाली कोशी प्रदेशको पूर्वी भेगमै खुम्चिएको छ । स्थानीय मौसमी गतिविधिका कारण वर्षा भएबाहेकका क्षेत्रमा चर्काे गर्मीले जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु निष्क्रिय नभई मनसुन अगाडि बढ्न नसक्ने भएकाले पश्चिम नेपालसम्म पुग्न अझै एक सातासम्म लाग्नसक्ने मौसमविद्ले जनाएका छन् ।
बाँके ।
सरदर मितिभन्दा तीन दिनअघि नै कोशी प्रदेशबाट नेपाल भित्रिएको यस वर्षको मनसुन अन्य भागमा फैलिन केही समय लाग्ने भएको छ । बेलाबेला पानी परिरहेकाले कोशी प्रदेशका विभिन्न जिल्लामा शीतल भए पनि तराईसहित अन्य भागमा गर्मीले जनजीवन प्रभावित बनाएको छ ।
पश्चिमबाट बहने हावाले छेकिदिँदा मनसुनी प्रणाली कोशी प्रदेशको पूर्वी भेगमै खुम्चिएको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू–भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले अन्य क्षेत्रमा मनसुन सक्रिय हुन नसकेको उनले बताए ।
‘कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव देखिएको छ, नेपालमा पूर्वी भागमा मनसुन सुरु भएको एक सातापछि पश्चिम भागमा भित्रिसक्नुपर्ने हो, तर भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावलगायतका कारण पश्चिममा मनसुन सक्रिय हुन समय लागेको हो,’ उनले भने ।
स्थानीय मौसमी गतिविधिका कारण वर्षा भएबाहेकका क्षेत्रमा चर्काे गर्मी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिन्द महासागरमा विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वबाट बहने मनसुनी वायु २८ जेठमा कोशी प्रदेशको पूर्वी भेगमा पुगेको थियो । विभागका अनुसार तर, हालसम्म पनि झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र संखुवासभामा मात्र केन्द्रित रहेको छ ।
‘मनसुनको हावा दक्षिण–पूर्वबाट पश्चिम बहन्छ, तर अगाडि सर्न बाटो खुलेको छैन, पश्चिमी वायु (पश्चिमबाट बहिरहेको हावा) ले अवरोध गरिरहेको छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, ‘त्यही भएर मनसुन देशभर फैलिन नसकेको हो ।’
मौसम पूर्वानुमान महाशाखाले मनसुन कहिलेसम्म देशभर फैलिसक्छ भनी जानकारी दिएको छैन । मनसुनी वायु पश्चिमी क्षेत्रमा पुग्न अझै एक साता कुर्नुपर्ने पनि हुन सक्ने देखिएको छ ।
पश्चिमी वायु निष्क्रिय नभई मनसुन अगाडि बढ्न नसक्ने बताउँदै मौसमविद् गोविन्द झाले पश्चिम नेपालसम्म पुग्न अर्काे सातासम्म लाग्नसक्ने बताए । गत वर्ष भारतको सिक्किम क्षेत्रमा पुगेको तीन दिनमै मनसुन गण्डकी प्रदेशसम्म पुगेको थियो ।
त्यतिखेर नियमित प्रक्रियाभन्दा पनि साइक्रोन नामक आँधीले धकेलेर पु¥याएको थियो, त्यसैको असरस्वरूप पश्चिम नेपालसम्म फैलिन २२ दिन लागेको थियो । ‘यसपटक मनसुन सिक्किम पुगेको १२ दिनसम्म पनि बागमती, गण्डकी पुग्न सकेको छैन, तीन दिनदेखि कोशीको पूर्वी भेगमा मात्र सीमित छ,’ जलवायुविज्ञ धर्मराज उप्रेती भन्छन्, ‘तत्काल देशभर फैलिन सक्ने स्थिति पनि छैन ।’
तराईमा मनसुनको असर तत्काल नपर्ने र अन्य मौसमी गतिविधि पनि त्यस क्षेत्रमा सक्रिय नभएकाले चर्काे घाम लाग्दा गर्मीले जनजीवन प्रभावित भएको छ । लुम्बिनी र सुदूरपश्चिमका तराईमा त पछिल्लो दुई सातादेखि तातो हावा र तातो हावाको लहर कायमै छ । पश्चिम तराईभन्दा कम तापक्रम भए पनि मध्य र पूर्वी तराईमा समेत चर्काे गर्मी छ ।
मौसम पूर्वानुमान महाशाखाले कम्तीमा आइतबारसम्म सुदूरपश्चिम र लुम्बिनीका तराई तथा उपत्यका क्षेत्र, बागमतीको चितवनसहित पश्चिमी क्षेत्र र मधेसको धेरैजसो भागमा तापक्रम उच्च हुन सक्ने आँकलन गरेको छ । पछिल्लो समय बाँकेसहित पश्चिम तराईका जिल्लाहरूमा दैनिकजसो अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन हुने गरेको छ । तातो हावा र तातो हावाको लहरसँगै हुने अत्यधिक गर्मीका कारण विद्यालयहरू बन्द गरिएका छन् भने अस्पतालहरूमा बिरामीको चाप बढिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदरभन्दा बढी वर्षा र सरदरभन्दा बढी गर्मी हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिम भूभाग, बागमतीको दक्षिण पूर्वी भूभाग, मधेस प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।
बढी वर्षा हुँदा बाढी पहिरोको जोखिम पनि बढी हुने भएकाले पूर्व सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
सम्बन्धित ठाउँको ३० देखि ४० वर्षको अवधिमा परेको वर्षाको तथ्यांकका आधारमा औसत वर्षाको मात्रा निकालिन्छ । ११० प्रतिशतभन्दा बढी वर्षा भएमा औसतभन्दा बढी भएको मानिन्छ । ठाउँअनुसार औसत वर्षाको मात्रा फरक–फरक हुनसक्छ ।
मनसुन अवधिमा नेपालमा वर्षभरि हुने वर्षाको ८० प्रतिशत पानी पर्दछ । मनसुन अवधिमा औसतमा १ हजार ४ सय ३० देखि १ हजार ५ सय ३० मिलिमिटरसम्म वर्षा हुनेगर्छ । कुनै वर्ष त्योभन्दा १० प्रतिशत घटी वा बढी वर्षा भए पनि औसत नै मानिन्छ ।









प्रतिक्रिया दिनुहोस्