हिन्द महासागरबाट विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट मनसुनी वायु प्रणाली नेपाल प्रवेश गर्ने गर्छ । औसत मितिभन्दा अगाडि अथवा पछाडि पनि मनसुन भित्रिन सक्छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने सरदर मिति २ अक्टोबर हो ।
बाँके ।
यो वर्षको मनसुन प्रणाली सोमबार नेपाल भित्रिएको छ । कोसी प्रदेशको पूर्वी भूभागमा मनसुन आगमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ हो । यो वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन छिटो गरी नेपालमा प्रवेश गरेको महाशाखाले जनाएको छ ।
नेपालका अरू भूभागमा केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने मौसमविद् सुदर्शन हुमागाईं जानकारी दिए । उनका अनुसार हिन्द महासागरबाट विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट मनसुनी वायु प्रणाली नेपाल प्रवेश गर्ने गर्छ । औसत मितिभन्दा अगाडि अथवा पछाडि पनि मनसुन भित्रिन सक्छ ।
विभागका अनुसार, नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेको छ ।
यद्यपि कहिलेकाहीँ सरदर मितिभन्दा ढिलो–चाँडो पनि हुने गर्दछ । गत वर्ष नेपालमा १ सय २४ दिनसम्म रहेर २८ असोजमा मनसुन बाहिरिएको थियो । सरदर मितिभन्दा एक दिन ढिला गरी ३१ जेठमा भित्रिएको मनसुन १३ दिन ढिलो बाहिरिएको थियो ।
सन् १९९८ र २०१५ मा मात्र १३ जुनमै मनसुन नेपाल प्रवेश गरेको जल तथा मौसम विभागको तथ्यांक छ । १९९६ मा मनसुन प्रणाली मे ३१ मा नेपाल भित्रिएको थियो । विभागले तथ्यांक राख्ने गरेयताकै सबैभन्दा चाँडो त्यो वर्ष मनसुन नेपाल भित्रिएको थियो ।
सन् १९८२ मा जुन २७ मा मनसुन नेपाल भित्रिएको थियो । विभागको तथ्यांक अनुसार उक्त वर्ष सबैभन्दा ढिलो मनसुन भित्रिएको थियो । हिन्द महासागरबाट विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट मनसुनी वायु प्रणाली नेपाल प्रवेश गर्ने गर्छ ।
पश्चिमसम्म फैलिन केही दिन लाग्ने
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले सोमबार कोशी प्रदेशमा मनसुन भित्रिए पनि नेपालको सुदूरपश्चिमसम्म फैलिन भने अझै केही दिन लाग्ने बताएका छन् ।
कोशी प्रदेशका जिल्लाहरूमा केही दिनयता दिनहुँ वर्षा हुँदै आएको थियो । तर काठमाडौं उपत्यकासहित पश्चिम तराईका भूभागमा नियमित पानी नपर्दा अत्यधिक गर्मी छ । महाशाखाले जेठ २६ गते विशेष बुलेटिन जारी गर्दै जेठ २८ गतेसम्म तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन भनेको थियो ।
यस्तो अवस्था अझै केही दिन जारी रहने सम्भावना रहेको मौसमविद अधिकारीले बताए । ‘रोचक त के छ भने पूर्वी नेपालमा मनसुन भित्रिँदा पश्चिमतिर तातो हावाको लहर छ,’ अधिकारीले भने, ‘अझै केही दिनसम्म पश्चिमतिर गर्मी नै हुने सम्भावना छ ।’
सरदरभन्दा बढी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदरभन्दा बढी वर्षा र सरदरभन्दा बढी गर्मी हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिम भूभाग, बागमतीको दक्षिण पूर्वी भूभाग, मधेस प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।
बढी वर्षा हुँदा बाढी पहिरोको जोखिम पनि बढी हुने भएकाले पूर्व सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । दक्षिण एसियाली देशमा मनसुनलाई ठूलो असर गर्ने प्रणाली भनेको प्रशान्त महासागरमा देखिने ‘अल–निनो’ र ‘ला–निनो’ गतिविधि हो । समुद्रको सतहको पानी सामान्यभन्दा बढी तातेको अवस्थालाई ‘अल–निनो’ भनिन्छ । यसको असर वायुमण्डलमा पर्दा कम वर्षा हुन्छ ।
‘अल–निनो’को ठिक उल्टो ‘ला–निनो’ हो । अर्थात् समुद्रको सतहको तापक्रम औसतभन्दा चिसो भयो भने त्यसलाई ‘ला–निनो’ भनिन्छ । यसो हुँदा औसतभन्दा बढी वर्षा हुन्छ र बाढी पहिरोको जोखिम बढी हुन्छ । गत वर्ष अल–निनोको प्रभाव थियो । त्यसैले नेपालमा कम वर्षा हुने र बढी गर्मी हुने भनेर जल तथा मौसम विज्ञान विभागले गरेको प्रक्षेपण मिलेको थियो ।
यस वर्ष भने ‘ला–निनो’को प्रभाव छ । सास्कोफका अनुसार चार महिनाको मनसुन अवधिमा सुरुका दुई महिना (जुन–जुलाई)मा ‘अल–निनो’को स्थिति तटस्थ अवस्थामा रहने अनुमान छ । त्यसपछिका दुई महिना अर्थात् (अगस्ट–सेप्टेम्बर)मा ‘ला–निनो’को अवस्था हुने सास्कोफको निष्कर्ष छ ।
दक्षिणपूर्वी वायुसहितको प्रणाली पूर्वी नेपालबाट प्रवेश गर्छ र पानी पर्न सुरु हुन्छ । यो मनसुनी प्रणाली मध्य भूभाग हुँदै पश्चिमसम्म फैलिन्छ । पूर्वी वायुलाई पश्चिमी वायुले विस्थापित गरेपछि मनसुन पनि बाहिरिएको मानिन्छ ।
सम्बन्धित ठाउँको ३० देखि ४० वर्षको अवधिमा परेको वर्षाको तथ्यांकको आधारमा औसत वर्षाको मात्रा निकालिन्छ । ११० प्रतिशतभन्दा बढी वर्षा भएमा औसतभन्दा बढी भएको मानिन्छ । ठाउँअनुसार औसत वर्षाको मात्रा फरक–फरक हुनसक्छ ।
मनसुन अवधिमा नेपालमा वर्षभरि हुने वर्षाको ८० प्रतिशत पानी पर्दछ । मनसुन अवधिमा औसतमा १ हजार ४ सय ३० देखि १ हजार ५ सय ३० मिलिमिटरसम्म वर्षा हुनेगर्छ । कुनै वर्ष त्योभन्दा १० प्रतिशत घटी वा बढी वर्षा भए पनि औसत नै मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्