सुनको मूल्य निरन्तर उकालो



काठमाडौँ ।

सुनको मूल्य निरन्तर बढेको बढ्यै छ । पछिल्लो तीन वर्षको अवधिमा सुनको मूल्य तोलामा ४६ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०७८ सालको जेठदेखि २०८१ सालको जेठसम्म आइपुग्दा प्रतितोला ४६ हजार रुपैयाँभन्दा बढीले मूल्य बढेको हो ।

तथ्यांकअनुसार २०७८ जेठ पहिलो साता छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँ थियो । त्यसयता निरन्तर रूपमा बढ्न थालेको सुनको मूल्यले यतिबेला दिनदिनै नयाँ कीर्तिमान कायम गरिरहेको छ ।

यसपछि २०७९ जेठ पहिलो सातासम्म आइपुग्दा सुनको मूल्य बढेर प्रतितोला ९६ हजार ५ सय रुपैयाँ कायम भएको थियो । सो अवधिमा तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा यो ४ हजार रुपैयाँको मूल्यवृद्धि थियो ।

यसैगरी २०८० सालको जेठसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला लाखभन्दा माथि पुग्यो । २०८० को जेठ पहिलो साता सुनको मूल्य १ लाख ११ हजार रुपैयाँ कायम भयो । यस्तै सो अवधिमा तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँ पुगेको थियो । यो २०७९ सालको जेठको तुलनामा १४ हजार ५ सय रुपैयाँले बढेको थियो ।

२०८० सालको जेठयता भने सुनको मूल्य अनियन्त्रित रूपमा बढेको बढ्यै छ । २०८१ को जेठ महिनासम्म आइपुग्दा सुनको मूल्य १ लाख ३८ हजार रुपैयाँभन्दा माथि पुगेको छ । यो कीर्तिमानी मूल्य प्रतितोला १ लाख ४१ हजारबाट तल झरेपछिको हो ।

२०८१ जेठ ७ गते सुनको मूल्य तोलामा १ लाख ४१ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो । यो अहिलेसम्मकै कीर्तिमानी मूल्य हो । यस्तै यसबीचमा चाँदीको मूल्यले समेत फड्को मारेको छ ।

सुनचाँदीको मूल्य निरन्तर बढ्दा सर्वसाधारण यसको पहुँच बाहिर पुगेका छन् । २०८१ को जेठमा चाँदीको मूल्य प्रतितोला १९ सय रुपैयाँसम्म पुगेको छ । जुन, २०८० को जेठमा १३ सय ७५ रुपैयाँ थियो । यो एक वर्षको अवधिमा ५ सय २५ रुपैयाँका दरले बढेको छ ।

कोभिड–१९ महामारीपछि विश्वभरका केन्द्रीय बैंकले सुनमा लगानी बढाइरहेका छन् । यस्तै लगत्तै सुरु भएको रुस–युक्रेन युद्धपछि झनै सुनमा लगानी गर्ने र थुपार्ने प्रचलन बढेको देखिएको छ । त्यस्तै इजरायल–प्यालेस्टाइन युद्धले समेत सुनचाँदीको मूल्यमा उछाल ल्याउन मद्दत गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको मूल्य बढ्दा नेपालमा पनि स्वतः मूल्य वृद्धि हुने गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ जेठ ११ गते शुक्रबार