बाँके ।
कर्णाली पुलमाथि गुडिरहेको लाइटर बोकेको ट्रकमा भएको आगलागीबाट पुलमा गम्भीर क्षति नभएको प्राविधिक टोलीले बताएको छ ।
सोमबार दिउँसो वीरगन्जबाट महेन्द्रनगरतर्फ गइरहेको ना५ख ५२९७ नम्बरको ट्रक पुलमाथि गुडिरहेका बेला एक्कासि आगलागी भएको थियो ।
आगलागीबाट पुलको ‘सपोर्ट डोरी’मा बाहिर मात्रै क्षति पुगेको प्राविधिक टोलीले बताएको हो । ट्रकमा आगलागी हुँदा पुलका फलामे लठ्ठामा पनि आगो सल्किएको थियो । फलामे लठ्ठाको बाहिरपट्टि रबर रहेकाले आगलागी भएको प्राविधिकहरूको भनाइ छ ।
पुलमा पुगेको क्षतिको चेकजाँच तथा अध्ययनका लागि सडक विभाग, सडक कार्यालय नेपालगन्ज र पुल महाशाखाको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ ।
सडक कार्यालय नेपालगन्जका प्रमुख निरज शाक्यले आगलागीबाट पुलको ‘सपोर्ट डोरी’का बाहिरी भाग (रबरहरू) जले पनि भित्री भागमा ठूलो क्षति नपुगेको जानकारी दिए ।
‘पुलको सपोर्ट लठ्ठीहरूका बाहिर रबरका भागहरू जलेको भए पनि भित्री भागमा त्यति ठूलो क्षति पुगेको छैन,’ उनले भने, ‘हामीले त्यसको प्रतिवेदनमाथि पठाएका छौं, माथिबाट आउने निर्देशनअनुसार अगाडि बढ्नेछौं ।’
शाक्यले पुलमाथि उबडखाबड रहेका कारण त्यो ढलान तथा मर्मत गर्नका लागि चैत ३ गतेसम्म पुलबाट हुने सवारी आवागमन बन्द गरिएको बताए । लाइटर बोकेको ट्रकमा एकाएक सल्केको आगोका कारण पुलमा पनि क्षति पुगेपछि चिसापानीस्थित कर्णाली पुलमा प्राविधिक टोली पुगेको थियो ।
आगलागीबाट सामान्य क्षति भएको कर्णाली पुल सञ्चालनमा आउन अझै केही दिन लाग्ने प्राविधिकहरूले बताएका छन् । लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई जोड्ने कर्णाली पुलमा गाडी सञ्चालन गर्न मिल्ने कि नमिल्ने भन्नेबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको छ ।
पुल महाशाखाका डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले प्रारम्भिक अध्ययनका क्रममा आगलागीबाट पुलका दायाबाँयातर्फका ७/७ वटा लठ्ठा जलेको पाइएको जानकारी दिए ।
जलेका केबलसहित पुलको सतहको मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले अझै केही दिन सवारी साधन चलाउन नमिल्ने अधिकारी बताउँछन् । ‘हामीले पुलको अवस्थाबारे विस्तृत विश्लेषण गर्न बाँकी छ । अहिले गाडी गुडाएर हेरिरहेका छौं । सकेसम्म बिहीबारसम्म रिपोर्ट तयार हुन्छ होला,’ अधिकारीले भने, ‘पुलका दुवैतर्फका १४ वटा केबल जलेको भए पनि अहिलेसम्म थप क्षति भएको देखिएको छैन तर मर्मतको काम गर्नुपर्ने भएकाले समय लाग्न सक्छ ।’
उनले पुलको सतह मर्मत गर्नुपर्ने भएकाले कम्तिमा पनि तीन दिनसम्म सवारी साधन चलाउन नमिल्ने बताए । अहिले पुलको सतहको मर्मतसम्भार गर्ने तर लठ्ठा भने तत्काल मर्मत नहुने अधिकारीले जानकारी दिए ।
वैकल्पिक मार्गबाट सवारी सञ्चालन
प्राविधिक टोलीले आगलागीको क्षतिबारे चेकजाँच नसक्दासम्म कर्णाली पुल हुँदै पूर्वपश्चिम राजमार्गको सवारी आवागन बन्द भएको छ ।
आगलागीको क्षतिबारे चेकजाँच नसक्दासम्म कर्णाली पुल हुँदै पूर्व–पश्चिम राजमार्गको सवारी आवागमन बन्द भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न स्थानीय प्रशासनले सबैलाई आग्रह गरेको छ ।
आगलागीपछि वैकल्पिक मार्गबाट सवारी आवागमन भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले जानकारी दिए ।
‘अहिले सुदूरपश्चिम प्रवेश गर्ने र बाहिरिने गाडीहरू हुलाकी राजमार्ग हुँदै चलिरहेका छन्,’ उनले भने, ‘अझै केही दिन चेकजाँच नसक्दासम्म कर्णाली पुल हुँदै पूर्व–पश्चिम राजमार्गको सवारी आवागमन बन्द हुने हुँदा वैकल्पिक मार्ग प्रयोगका लागि अनुरोध गर्दछौं ।’
ट्रकमा आगलागीको कारण भने अनुसन्धानकै क्रममा रहेको उनी बताउँछन् । हाल पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारी साधन कैलालीको लम्कीदेखि टीकापुर, बर्दियाको राजापुर, भुरिगाउँको वैकल्पिक मार्ग हुँदै सञ्चालन भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्