20 June 2024  |   बिहिबार, असार ७, २०८१

एभरेस्ट सैनिकको २८औँ वार्षिर्कोत्सव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन १९, २०८०  

कोहलपुर ।
एभरेस्ट सैनिक सेकेन्डरी स्कुलले २८औँ वार्षिकोत्सव मनाएको छ । शुक्रबार कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुबेदीको प्रमुख अतिथ्यमा २८औँ वार्षिकोत्सव मनाएको हो । उपप्रमुख सुवेदीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।सो अवसरमा बोल्दै उममेयर सुबेदीले राज्यको शिक्षामा संस्थागत विद्यालयहरूले महत्वपूर्ण जिम्मेवारी पूरा गरेको भन्दै खुसी व्यक्त गरिन् ।

कुनै पनि समाजको विकास गर्न शिक्षाको महत्वपूर्ण भूमिका हुने बताउँदै उनले एभरेस्ट सैनिक सेकेन्डरीले गुणस्तरी शिक्षा मात्रै नभई अब नैतिक शिक्षासमेत प्रदान गर्न आग्रह गरिन् । पछिल्लो समय संस्थागत र सामुदायिक विद्यालयहरूले पाठ्यक्रम सँगसँगै अतिरिक्त क्रियाकलापमा समेत जोड दिएकोमा उनले धन्यवाद व्यक्त गरिन् । विद्यार्थीहरूको रुचि अनुसार विद्यालयहरूले खेलकुदलगायत अन्य क्रियाकलापहरूमा पनि प्रोत्साहन गरेको उनको भनाइ थियो ।

विद्यालयले गुणस्तरीय शिक्षाका अलावा अतिरिक्त क्रियाकलापमा समेत जोड दिएको एभरेस्ट सैनिक सेकेन्डरी स्कुलका प्रबन्धक महेन्द्र शर्माले बताए । स्थापना भएको २८औँ वर्षसम्म पुग्दा विद्यालयले धेरै उदाहरणीय काम गरेको उनको भनाइ थियो । पछिल्लो समय प्रविधिको युग भएकाले विद्यालय सोही अनुरूप अघि बढेको बताए । विद्यालयलाई यो स्थानसम्म पु¥याउन सहयोग गरेको भन्दै अभिभावक, फाउन्डरलगायतलाई धन्यवादसमेत दिए ।

आफ्ना बालबालिकाको भविष्य बनाउन अभिभावकको महत्वपूर्ण भूमिका हुने प्याब्सन बाँकेका अध्यक्ष यम रावतले बताए । निजी विद्यालयले संस्कारसहितको शिक्षा प्रदान गर्न प्याब्सन बाँकेले पहिलादेखि भनिरहेको उनको भनाइ छ । सो अवसरमा विद्यार्थीहरूले विभिन्न संस्कृति झल्काउने नृत्यसमेत प्रस्तुत गरेका थिए । समारोहमा वर्षभरि भएका अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण गर्नुका साथै उपस्थित अथितिहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

प्रकाशित मितिः शनिबार, फाल्गुन १९, २०८०     9:48:48 AM  |