कोहलपुर ।
कोहलपुर नगरपालिका–१० मा अवस्थित यस क्षेत्रकै नमुना माध्यमिक विद्यालय त्रिभुवन माध्यमिक विद्यालयमा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूका लागि लगानीकर्ता सचेतना कार्यक्रम र सेयर बजार तालिम सम्पन्न भएको छ । इम्पेरियल सेक्युरिटी कम्पनी लिमिटेड नेपालगन्ज शाखाको सहकार्यमा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूलाई सेयर बजारका बारेमा व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले सो तालिम सञ्चालन गरिएको हो ।
आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न यस तालिमले विद्यार्थीहरूको जीवनमा एउटा इँट्टा थपिदिएको आफूले अनुभव गरेको बताउँदै कार्यक्रमकी अध्यक्ष तथा विद्यालयका प्राचार्य देवका बस्नेत थापाले विद्यालयको अनुरोधलाई स्वीकार गरेर तालिम सञ्चालन गरिदिएकोमा इम्पेरियल सेक्युरिटीलाई धन्यवाद दिइन् ।
व्यवस्थापन संकायका कक्षा १२ का सबै र कक्षा ११ का सेक्सन ‘घ’का विद्यार्थी सहभागी भएको तालिमलाई इम्पेरियल सेक्युरिटी नेपालगन्ज शाखाका व्यवस्थापक तथा सेयर बजार विज्ञ उदय अधिकारीले बचत र लगानीको महत्वलाई व्यावहारिक जीवनमा कसरी उतार्ने भन्ने रोचक उदाहरण दिँदै प्रस्तुति दिएको विद्यालयका संयोजक तथा कार्यक्रमका अतिथि गणेश पौडेलले जानकारी दिए ।
कार्यक्रमका अर्का अतिथि विद्यालयका सहायक प्राचार्य ऋषिराज शर्माले जबसम्म शिक्षालाई व्यावहारिक जीवनमा जोड्न सकिँदैन तबसम्म शिक्षा व्यर्थ हुने धारणा राखेका थिए । तालिमकै दौरानमा विद्यार्थीहरूको डिम्याट र मेरो सेयरको खाता निःशुल्क रूपमा खोलिएको विद्यालय व्यवस्थापन संकायका संयोजक केशव अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस्