नेपालगन्ज ।
नेपालगन्जस्थित ब्राइट होप एकेडेमी विद्यालयले शुक्रबार नेपालगन्जमा रहेको मानवसेवा आश्रमममा राहत प्रदान गरेको छ । सामाजिक उत्तरदायित्तव बहन गर्ने उद्देश्यका साथ राहत सामग्री प्रदान गरिएको विद्यालयका निर्देशक कुसुम रानाभाटले बताए । उनले यसअघि पनि विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको र यसपटक मानवसेवा आश्रमममा राहत प्रदान गरेर मानव सेवाको अभियानमा थोरै भए पनि सहकार्य गरिएको बताए ।
विद्यालयका विद्यार्थी र अभिभावकहरूसहित मानवसेवा आश्रममा पुगेर यसप्रकारको सहयोग गर्न पाउँदा विद्यालय परिवार गौरवान्वित भएको रानाभाटले बताए । ‘विद्यार्थीहरूलाई मानवसेवा के हो ? भन्नेबारे विद्यालयमा मात्रै पढाइन्थ्यो,’ उनले भने, ‘तर आज विद्यार्थीले आश्रममै पुगेर मानव सेवामा कसरी लाग्ने भन्ने कुराको प्रत्यक्ष रूपमै अनुभूति गर्न पाए ।’
सो अवसरमा बोल्दै सो विद्यालयका अभिभावक अकलबहादुर बमले बेसहाराहरूलाई सहयोग गरेर विद्यालयले सबैभन्दा उत्कृष्ट काम गरेको बताए । उनले धर्मकर्म गर्नका लागि टाढा जानु नपर्ने बताउँदै असहाय र अशक्तहरूको सेवा नै सबैभन्दा ठूलो धर्म भएको विचार व्यक्त गरे ।
राहत प्रदान कार्यक्रममा बोल्दै आश्रमकी सहसंयोजक अनिता सारुमगरले विद्यालयका विद्यार्थीहरूलाई मानवसेवा आश्रमका बारेमा जानकारी गराएकी थिइन् । उनले मानवसेवा आश्रम नेपालगन्जमा हाल ५२ जनालाई सेवा गरिरहेको बताइन् ।
विद्यालयले आश्रमलाई राहतस्वरूप टिसर्ट ५० पिस, ३ बोरा दाल, ९ केजी मसला, ५० केजी सरफ, ७ केजी बेसार, १० केजी चिनीलगायतका सामग्री प्रदान गरेको थियो । सो अवसरमा विद्यालयका विद्यार्थीहरूलाई मानवसेवामा समर्पित भिडियोसमेत देखाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्