संघले भन्यो,– ‘यी नाकाबाट तस्करी भइरहेको छ,रोक’



नेपालगन्ज।
नेपालगन्ज उद्योग वाणिज्य संघले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १४ बुँदे ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष टंकबहादुर धामी, महासचिव भीमबहादुर रानाभाटले गृहमन्त्री श्रेष्ठलाई ज्ञापन बुझाएका हुन् ।संघले जमुनाहा नाकाको पूर्व र पश्चिमको १–१ किलोमिटरको दूरीमा आधा दर्जनभन्दा बढी तस्करी गर्ने नाकाहरू रहेको जनाएको छ ।

त्यहाँबाट हुने चोरी पैठारी र राजस्व छली रोक्न लामो दूरीको सिसी क्यामेरा जडान गरेर कडा निगरानी गर्नसमेत माग गरिएको छ । साथै त्यस्ता सामग्री ढुवानी हुने बाटोहरूमा पनि सिसी क्यामेरा जडान गरी अनुगमन बढाउन अनुरोध गरिएको छ ।सशस्त्र द्वन्द्वको समयमा बन्द गरिएका बाँकेका साइगाउँ, भनघोटना, खडैचा, उढरापुर, भगवानपुर, नरैनापुर र सुइयाबघौडामा छोटी भन्सार सञ्चालन गरेर अवैध आयात नियन्त्रण तथा राजस्व वृद्धिका लागि पहल गर्न माग गरिएको छ ।

संघले लामो समयदेखि भारतमा किनमेल गर्न जानेलाई कडाइ गर्न आग्रह गरेको छ । भारतीय बजारमा किनमेल गरेर आउनेलाई कडाई नहुँदा राजस्व चुहावट भइरहेको संघका अध्यक्ष धामीको भनाइ छ ।संघले सय रुपैयाँभन्दा माथिको सामान ल्याउँदा भन्सारको दायरामा ल्याउन अनुरोध गरिरहेको छ ।

संघले नाकामा स्क्यानर र फेस रिडर राख्न अनुरोध गरेको छ । नेपालबाट भारतमा किनमेल गर्न जानेको परिचय खुल्ने कागजात हेर्न अनुरोध गरिएको छ । संघले विशेष गरेर सरकारी गाडीमा किनमेल गर्न जानेलाई कडाइका साथ कारबाही गर्न माग गरेको छ ।

नेपाल प्रहरीका विभिन्न तहका कर्मचारीहरू सरुवा भएर पनि सम्बन्धित जिल्ला नगई काज मिलाएर बाँकेमा नै बसेर देश र जनताको सुरक्षाभन्दा व्यक्तिगत हितमा लागेको, जिल्लाको सुरक्षा योगदान नगरेको पाइएकाले तत्काल सरुवा भएको कार्यालयमा नै पठाउने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० फागुन १२ गते शनिबार