कमल डाँगी । नेपालगन्ज।
दूध उत्पादन गर्ने चितवनका किसानहरू आन्दोलनमा उत्रेका छन् । त्यहाँ किसानले त दूध सडकमै पोखेर विरोध जनाए । ठ्याक्कै त्यस्तै समस्याबाट पिरोलिएका छन् बाँकेका दुग्ध उत्पादक कृषक । दुग्ध व्यवसायी संघका महासचिव सन्तोष पौडेलका अनुसार, यतिबेला दूध नबिकेर किसान हैरान छन् । दूध कहाँ राख्ने ? कहाँ बेच्ने कुनै टुंगो छैन ।
निजी तथा सरकारी डेरी उद्योगहरूले लामो समयदेखि किसानको दूधको भुक्तानी नदिएका र पछिल्लो समय दूध पनि उठाउन छाडेको किसानहरू बताउँछन् ।डुडुवा गाउँपालिका–५ का किसान छोटु यादवले दुग्ध किसानहरूको धैर्यताको बाँध टुटेको बताए । उनले भने, ‘किसानको दूध बिक्न छोड्यो, बिक्री भएको दूधको भुक्तानी पनि पाइएन । सरकारले किसानको पीडा सुन्दै सुनेन ।’
कम्दीका अगुवा कृषक रामवृक्ष यादवका अनुसार कम्दीमा मात्रै २ हजार भैँसीपालन गरिएको छ । दूध नबेच्ने घर छैनन् । तर अहिले दूध नबिकेर हाहाकार छ । असोजदेखि किसानले पैसा पाएका छैनन् । पशु र किसान भोकै रहने अवस्था रहेको यादव बताउँछन् । दुग्ध व्यवसायी संघका महासचिव पौडेलले भने, ‘दूध पोख्ने कार्यक्रम आफैँमा राम्रो होइन, तर बाध्य भएर सडकमा दूध पोख्ने अवस्थामा अरू जिल्लाका साथीहरू पुगेछन् । अरू जुन कुनै आन्दोलन गर्दा पनि सरकारले सुनेन ।’
उत्पादक किसानहरूले असोज महिनादेखिको भुक्तानी पाउन सकेका छैनन् । पछिल्लो समय डेरी उद्योगहरूले सहकारीबाट दूधसमेत उठाउन छोडेका छन् । ‘निजी डेरी उद्योगहरूले दुग्ध सहकारीबाट दूध उठाउन छोडेका छन्, दुग्ध सहकारीहरू बन्द अवस्थामा पुगे,’ पौडेलले भने, ‘किसानको पीडा सरकारले बुझेन, कृषिमन्त्रीदेखि सचिवहरूसँग किसानहरू वार्तामा बस्यौँ, तर माग पूरा भएन । फलस्वरुप आन्दोलनको विकल्प छैन ।’
दुग्ध उद्योगहरूलाई उधारोमा दूध बेच्न बाध्य भएका किसानहरूले दसैँपछि भुक्तानी पाएका छैनन् । किसानले दुग्ध सहकारीहरूमा दूध बेच्छन् । किसानबाट संकलित दूध सहकारीहरूले उद्योगलाई बिक्री गर्छन् । उद्योगबाट भुक्तानी आए किसानले दूधको पैसा पाउँछन्, नत्र पाउँदैनन् ।
‘सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी डेरी उद्योगहरूले दुग्ध सहकारीहरूलाई ६ महिनादेखिको भुक्तानी पठाएका छैनन्, जसले गर्दा किसानले दूध बेचेर पनि पैसा पाउन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्