26 May 2024  |   आइतवार, जेष्ठ १३, २०८१

दुर्गम हुम्लामा नुन अभाव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०८०  

खुमबहादुर रावत । हुम्ला ।
दुर्गम जिल्ला हुम्लामा नुनको अभाव भएको छ । सरकारले ढुवानी अनुदानमा दिँदै आएको नुन अभाव भएको हो । साल्ट ट्रेडिङ कर्पाेरेसन हुम्लामा नुन अभाव भएपछि बजारमा महँगो मूल्यमा नुन किन्नुपरेको स्थानीयले बताएका छन् ।  सिमकोट गाउँपालिका–८ का उमेश बुढाले जिल्लामा हरेक थोकको अभाव हुँदै आएको भए पनि सरकारले ढुवानी अनुदानमा दिँदै आएको नुनको समेत अभाव भएपछि साँच्चिकै दुर्गम भएको अनुभूति भएको बताए ।

साल्ट ट्रेडिङ कर्पाेरेसनमा नुन नहुँदा कर्पाेरेसनकै नुन बाहिर बजारमा प्रतिकिलो २० रुपैयाँ मूल्य तिरेर लिनुपर्ने बाध्यता भएको सिमकोट–२ का स्थानीय काली भण्डारीले बताइन् । साल्ट ट्रेनिङ कर्पाेरेसनमा प्रतिकिलो ८ रुपैयाँ पर्दछ । जिल्लामा मात्र नभएर राष्ट्रिय सडक मार्ग जोडिएको सर्केगाड, अदानचुली गाउँपालिमा पनि नुनको अभाव झेल्दै आएको अदानचुली गाउँपालिकाका स्थानीय मोहन बुढाले बताए । बुढाका अनुसार साल्ट ट्रेडिङ कर्पाेरेसनमा नुन नहुँदा बाजुरा गएर चर्काे मूल्य तिरेर ल्याउनुपरेको छ ।

बजारमा नुन किन्दा महँगो पर्ने भए पनि बाध्य भएर नुन किन्नुपरेको उनले बताए । नुन जिल्लामा पर्याप्त मात्रामा नहुँदा पशुवस्तुलाई चिनियाँ ढिके नुन खुवाउँदै आएको भए पनि अहिले त्यही ढिके नुन मानिसले पनि प्रयोग गर्नुपरेको नाम्खा गाउँपालिका स्थानीय लुन्डुप लामाले बताए । लामाले जिल्लामा अति आवश्यक पर्ने कुराको अभाव हँुदा पनि त्यसमा सरोकारवाला निकायहरूले ध्यान नदिएको गुनासो गरे ।

साल्ट ट्रेडिङ कर्पाेरेसन हुम्लामा नुन न्यून भएको सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले बताए । नुन ढुवानीको ठेक्का ढिला गरी भएको हँुदा नुन ढुवानीमा समस्या भएको उनको भनाइ छ । पुरानो ठेकेदारले ल्याएको नुन सकिन लागेको हुँदा अभाव देखिएको हो । नयाँ ठेकेदारले पैदल मार्गको सर्केगाडको स्यातडीमा ल्याएको अब हेलिकोप्टरमार्फत चाँडै नै जिल्लामा ल्याउने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । हप्ताको दुई पटक बिक्री वितरण हुने नुन अहिले एक पटक पनि हम्मेहम्मे भएको साल्ट ट्रेडिङ कर्पाेरेसनले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०८०     9:49:39 AM  |