27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य मिसन ः गृहमन्त्री श्रेष्ठ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०८०  

नेपालगन्ज ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्ध काम गर्न सरकार अग्रसर रहेको बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सरकार कटिबद्ध रहेको जनाए ।उनले भने–‘भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नका लागि सरकारले अडिग भएर कडा अठोटका साथ आफ्नो अभियानलाई जारी राख्नेछ, त्यसमा सबै नेपालीको सहयोग चाहिन्छ ।’

बिहीबारदेखि नेपालगन्जमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा र एकतालाई बलियो बनाएर सुशासन कायम गर्नु सरकारको प्रमुख कार्यभार भएको बताए । उनले त्यसका लागि देशका सबै सुरक्षा निकायले समन्वय र सहकार्य गरेर सरकारको कार्यभार पूरा गर्न अहोरात्र खटिनुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नेपाली जनताको लामो संघर्ष र बलिदानपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा र नेपाली जनताका चाहना पूरा गर्ने कार्यलाई वर्तमान सरकारले मूल एजेन्डा बनाएर अगाडि बढिरहेको जनाउँदै सो कार्य पूरा गर्न पनि प्रहरी प्रशासनको अहम भूमिका हुने बताए ।

उनले भने– ‘प्रहरी प्रशासन कार्यालयहरूमा घुस दिएर, कसैको सोर्सफोर्स लगाएर वा हाकिमहरूको चाकरी गरेर मात्र काम हुन्छ भन्ने कुनै पनि हालतमा हुनुहुँदैन । यस्तो भएको पाइएमा सम्बन्धितलाई कडा कारबाही गरिनेछ ।’ कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेले प्रदेशको शान्ति सुरक्षा समग्रमा राम्रो रहेको उल्लेख गर्दै आर्थिक विकासका लागि पनि केन्द्र सरकारले विभिन्न योजनाहरू अगाडि बढाउनुपर्ने माग गरे ।

‘जनयुद्धमा भन्दा सडक दुर्घटनामा बढी मृत्यु’

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ट्राफिक सप्ताहको उद्घाटन गरेका छन् । सडक दुर्घटनाले धेरै नेपालीको ज्यान अनाहकमा जाने गरेको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले दुर्घटना न्यूनीकरणमा सम्बन्धित सबै सरोकारवालाहरू गम्भीर हुनुपर्ने बताए ।  नेपालगन्ज उपमहानगर, कोहलपुर नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेद्वारा संयुक्त रूपमा यहाँ सञ्चालन गरिएको ट्राफिक सप्ताहको बिहीबार उद्घाटन गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालनमा विशेष ध्यान दिनुपर्ने बताए।

उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले सार्वजनिक सवारी साधनका चालकलाई हेल्मेट लगाएर तथा सार्वजनिक सवारी साधनमा ट्राफिक सचेतना सम्बन्धी स्टिकर टाँसेर ट्राफिक सप्ताहको उद्घाटन गरेका हुन् ।सो अवसरमा उनले दुर्घटना रोक्नका लागि गुणस्तरीय सडक, नियम अनुसारको सवारी साधन परिचालन र सर्वसाधारणमा चेतनाको विकास आवश्यक भएकाले सम्बन्धित सबैले यी विषयमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

माओवादी जनयुद्धमा दस वर्षको अवधिमा जति जनाको ज्यान गयो त्योभन्दा बढी गत दस वर्षको अवधिमा आम नेपाली जनताले दुर्घटनामा परेर ज्यान गुमाउनुपरेको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले यसलाई न्यूनीकरण गर्नु सरकारको प्रमुख दायित्व बनेको बताए । उनले भने– ‘कुनै एउटा मात्र निकाय वा संस्थाले चाहेमा मात्रै दुर्घटना न्यूनीरकण गर्न सकिँदैन, त्यसका लागि सवारी साधनको लाइसेन्स वितरण गर्नेदेखि लिएर सवारी चलाउने, नियमन गर्ने र सर्वसाधारण जनता सबैले आ–आफनो भूमिका इमान्दारीपूर्वक निर्वाह गर्नुपर्छ ।’

अधिकांश दुर्घटना मानवीय गल्तीकै कारण हुने गरेकाले सो रोक्न नियमन गर्ने निकायले आफ्नो जिम्मेवारी अति नै बढी सक्रियतापूर्ण तरिकाले निभाउनुपर्नेमा गृहमन्त्री श्रेष्ठको विशेष जोड थियो । सो अवसरमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपी श्यामबहादुर खत्रीले ट्राफिक सप्ताहअन्तर्गत सात दिनसम्म गरिने विभिन्न जनचेतनामूलक कार्यक्रमहरूका बारेमा जानकारी गराएका थिए ।

मन्त्रीको राजीनामा माग गर्दै विरोध

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको विरोधमा कोहलपुरमा विद्यार्थीहरुले विरोध जुलस निकालेका छन् । प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन समारोहमा सहभागी हुन बिहीबार नेपालगन्ज आइपुगेका गृहमन्त्री श्रेष्ठलाई केही समयअघि राजधानीमा दुई जना विद्यार्थीको ज्यान जाने गरी भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै विरोध जनाएका हुन् ।

केही समयअघि राजधानीको बालकुमारीमा इपिएस परीक्षामा सहभागी हुन गएका दुई विद्यार्र्थीको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । सो घटनाको यथाशीघ्र निष्पक्ष छानबिन गरी दोषी पत्ता लगाएर कारबाही गर्न विद्यार्थीहरुले माग गरेका थिए ।

स्वतन्त्र विद्यार्थी युनियन बागेश्वरी बहुमुखी क्याम्पसको नेतृत्वमा कोहलपुरको एनटिभी रोड गेटमा जम्मा भएका विद्यार्थीले विभिन्न नाराबाजी गर्दै विरोध जनाएका थिए । उनीहरूले भौतिक पूूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । उनीहरूले ‘विद्यार्थी मार्न पाइँदैन’, ‘दोषीलाई कारबाही गर’, मन्त्री प्रकाश ज्वाला तत्काल राजीनामा दे’लगायत नारा लगाएका थिए ।

 

 

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०८०     9:47:22 AM  |