27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

लुम्बिनी प्रदेशसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०८०  

बाँके ।
लुम्बिनी प्रदेशसभाको तेस्रो बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने भएका छन् । हिउँदे अधिवेशनको फागुन १९ गते बस्ने बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको लुम्बिनी प्रदेश शहरी विकास मन्त्री कृष्णा केसीले जानकारी दिइन् ।उनका अनुसार बुधबार लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले दाहाललाई सिंहदरबारमा भेटेर निमन्त्रणा दिएका थिए ।

प्रदेशसभाका सचिव दुर्लभ पुन मगरका अनुसार हिउँदे अधिवेशन १८ फागुनबाट सुरु हुने छ । पहिलो दिनको बैठकमा प्रदेशसभामा रहेका सबै दलका नेताहरूले हिउँदे अधिवेशनको शुभकामना दिनेछन् । प्रधानमन्त्री दाहालको सम्बोधनसँगै प्रदेशसभामा संवैधानिक आयोगका प्रतिवेदन पेश गर्ने अहिलेसम्मको कार्यसूची रहेको उनले बताए ।

संवैधानिक आयोगहरूले प्रदेश प्रमुखलाई बुझाएका प्रतिवेदनलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सभामा पेश गर्ने र सभामुखले सम्बन्धित विषयगत समितिमा पठाउने र समितिले प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची रहेको पुनले जानकारी दिए ।महालेखा परीक्षक कार्यालय, जनजाति आयोग, थारु आयोग, मुस्लिम आयोग, प्राकृतिक स्रोत तथा वित्तीय आयोग लगायतका प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको छ ।

प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधार १ बमोजिम दोस्रो लुम्बिनी सभाको तेस्रो हिउँदे अधिवेशन फागुन १८ गते दिउँसो ३ बजे आह्वान गरेपछि प्रदेशसभाको बैठक बस्न लागेको हो ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०८०     7:26:05 AM  |