केएल दुगड गु्रपको ठगी ः तौल घटाएर खाद्य सामग्री बिक्री



नेपालगन्ज ।
बाँकेको गनापुरमा रहेको केएल दुगड गु्रपमाथि चामल र च्युराको तौल कम गरी ठगी गरेको आरोप लागेको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवम् पूर्व खानेपानी मन्त्री अब्दुल खानका अनुसार आइतबार उद्योग अनुगमनका क्रममा कम तौलको चामल र च्युरा भेटिएको हो ।

उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवम् पूर्व खानेपानी मन्त्री खानले अनुगमनको क्रममा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि नियमबमोजिम जरिवाना र आवश्यक कारबाही गर्ने बताएका छन् । अनुगमनपछि सञ्चार माध्यमसँग कुराकानी गर्दै सभापति खानले दुगड गु्रपले उत्पादन गरेको २० किलो चिउरा र ५० किलोको अरुवा मोटा चामलको बोरामा ५० ग्रामदेखि २०० ग्राम घटाएर बेचेको गुनासो आएपछि आकस्मिक अनुगमन गरेको जनाए ।

उनका अनुसार दुगड गु्रप उत्पापदनको आकस्मिक निरीक्षण गर्दा चामल र चिउराको तौल घटाएर उपभोक्तलाई ठगी गर्दै आएको भेटिएको हो । अनुगमनपछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै सभापति खानले उपभोक्तालाई ठगेको भेटिएकाले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गर्ने जिकिर गरे ।

दुगड गु्रपका कर्मचारीहरूले सभापति खानलाई अनुगमन गर्नमा केही समय अवरोध गरेपछि प्रहरीको सहयोगमा उद्योगभित्र अनुगमन गर्दा तौलमा ठगी गरेको पाइएको दाबी छ । तर उद्योगका प्रबन्धक प्रदीप छाजेडले ‘अनुगमनपछि सञ्चारमाध्यममा सार्वजनिक भएका विषय’ले आफूलाई अचम्भित बनाएको बताएका छन् ।

छाजेड भन्छन्, ‘प्याकेजिङ भइरहेका एकाध बोरामा तौल कम हुन सक्ने विषयलाई जे जसरी सार्वजनिक गरिएको छ, त्यसले दुखी बनाएको छ ।’ उपभोक्ताका मायाले गर्दा नै वर्षांैदेखि उद्योग चलेको भन्दै उनले ठगी गर्न आवश्यक नरहेको बताए । सभापति खानको टोलीले दुगड गु्रपसहित पानस कम्पनी र अम्बे स्टिलको समेत अनुगमन गरी उद्योगहरूमा काम गर्ने मजदुरहरूको समस्या र पारिश्रमिकका विषयमा छलफल गरेको थियो ।

सभापति खानका अनुसार, अम्बे स्टिलमा काम गर्ने मजदुरहरूले समयमा पैसा नपाएको र सुरक्षा उपकरण कम्पनीले उपलब्ध नगराएको गुनासो पोखेका थिए । सभापति खानले फ्याक्ट्री म्यानेजर अनुज श्रेष्ठलाई अम्बे स्टिलमा देखा परेको समस्यालाई तत्काल समाधान गर्न निर्देशन दिएको बताउँदै काठमाडौँ फर्किएलगत्तै लिखित रूपमा आवश्यक निर्देशन पठाउने बताए ।

 

प्रकाशित मिति : २०८० फागुन ८ गते मंगलबार