नेपालगन्ज ।
नेपालगन्जको अति व्यस्त घरबारीटोल क्षेत्रको ट्राफिक व्यवस्थापनमा निजीक्षेत्रले साथ दिएको छ । स्थानीय तह, प्रहरी र नेपालगन्ज उद्योग वाणिज्य संघबीचको सहकार्यले उक्तक्षेत्रमा ट्राफिक व्यवस्थापनको आशा पलाएको छ ।
नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले सहरलाई सुन्दर र व्यवस्थित बनाउँदै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्ने अभियानअन्तर्गत सहकार्य गरिएको बताए । ट्राफिक व्यवस्थापनका लागि पहिलो चरणमा धम्बोझी चोकस्थित बागेश्वरी मन्दिर जाने प्रवेशद्वार (घरबारी टोल)देखि त्रिवेणी मोडसम्म ‘एकतर्फी पार्किङ’ कायम गरिएको छ । जसमा आइतबार, सोमबार र मंगलबार दायाँ तथा बुधबार, बिहीबार र शुक्रवार बायाँतर्फ मात्र पार्किङ गर्न दिइएको छ ।
नगर प्रमुख विष्टले भने, ‘साँघुरो सडकको दुवैतर्फ पार्किङ गरी राख्दा सवारी आवागमनमा समस्या परेपछि अहिले एकतर्फी पार्किङ राखिएको छ ।’ यो अभियानमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र नेपालगन्ज नगर प्रहरी परिचालन गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले समेत सहकार्य गरेको छ ।
ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी नायब निरीक्षक प्रवीण आचार्यले ट्राफिक व्यवस्थापनका लागि विभिन्न निर्णय गरी कार्यान्वयन गरिएको जानकारी दिए । ट्राफिक व्यवस्थापनका लागि ई–रिक्सा व्यवस्थापनको काम जारी छ । नियमविपरीत सञ्चालन हुने ई–रिक्सा दिनहुँ नियन्त्रणमा लिने क्रम चलिरहेको ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी नायब निरीक्षक प्रवीण आचार्यले जानकारी दिए । इन्चार्ज आचार्यले भने, ‘धम्बोझीलगायतका मुख्य चोकमा हुँदै आएको ई–रिक्साको भीडभाड हटाइएको छ, एकतर्फी पार्किङ पूर्ण कार्यान्वयनका लागि लागिपरेका छौं ।’
नेपालगन्जमा ट्राफिक बत्तीसमेत सञ्चालन हुन लागेकाले ट्राफिक प्रहरीले पैदलयात्री र चालकका के गर्ने के नगर्ने विषयमा चेतनामूलक कार्यक्रम गरिरहेको छ । ट्राफिक बत्ती र जेब्राक्रसिङका सम्बन्धमा सामुदायिक प्रहरीसँग सहकार्य गरिएको छ । कागजपत्र नभएका अटो नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि दायाँतर्फका यात्रु बसाउन र झार्न रोक्नका लागि फलामको बारसमेत अनिवार्य गरेको छ ।
प्रतिक्रिया दिनुहोस्